कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

युवा नै ब्लड बैंक

रगत न कारखानामा उत्पादन हुन्छ, न त खोलामा नै बग्छ । एक जनाको रगतले वर्षमा ३/४ जनासम्मको ज्यान बचाउन सकिन्छ ।
एप्समार्फत रक्तदाताहरूको डाटाबेस बनाउने तयारी भइरहेको छ । अहिले रक्तदान गर्नेहरूको कतै अभिलेख छैन । डाटाबेस भयो भने डोनरको सम्पूर्ण विवरण सजिलै पत्ता लगाउन सकिन्छ । यसले रगतको अभाव पूर्ति गर्न मद्दत गर्छ ।
प्रशान्त माली

काठमाडौँ — बागबजारका परभस जः आचाजुलाई आफू नियमित रक्तदाता भएकामा गर्व छ । ३० वर्षका उनले हालसम्म ४७ पटक रक्तदान गरिसकेका छन् । ‘अन कल’ मा मात्रै २५ जनालाई फ्रेस ब्लड दिइसकेका छन् । १८ वर्ष लाग्दा रक्तदान गरेर जन्मदिन मनाएका उनले त्यसपछिका जन्मदिन यसैगरी मनाउँदै आएका छन् । रक्तदान गर्ने योग्य उमेर १८ देखि ६५ वर्षलाई मानिन्छ । उनले रेकर्ड राख्ने उद्देश्यले भने रक्तदान गरेका होइनन् । बरु आत्मसन्तुष्टि र बुबा (प्रेमसागर कर्माचार्य) को प्रेरणाले रक्तदान गर्दै आइरहेको बताउँछन् । भन्छन्, ‘रगत न कारखानामा उत्पादन हुन्छ न त खोलामा नै बग्छ । एक जनाको रगतले ३/४ जनासम्मको ज्यान बचाउन सकिन्छ ।’ परभसका बुबा कर्माचार्य नेपालका सर्वाधिक १ सय ७३ पटक रक्तदान गर्ने व्यक्ति हुन् ।

युवा नै ब्लड बैंक

...

रामेछाप लिखु तामाकोशीका २६ वर्षीय कुशल बस्नेतले २५ पटक रक्तदान गरिसकेका छन् । उनले पनि १८ वर्षमा टेकेदेखि नै नियमित रक्तदान गर्दै आइरहेका छन् । उच्च शिक्षा हासिल गर्न काठमाडौं आउने क्रममा उनले रगतको महत्त्वबारे बुझे । शरीरमा तीन/तीन महिनामा रगत खेर गई नयाँ रक्ततत्त्व बन्छ भन्ने बुझे । रगत अभावका कारण कतिपयको अकालमा ज्यान जाने गरेको खबर पनि सुन्दै आएका थिए । त्यसपछि नै उनले आफू मात्र नभई अरूलाई पनि रक्तदान गर्न प्रेरित गर्दै आइरहेका छन् । नेपाल कमर्श क्याम्पस युवा रेडक्रस सर्कलका पूर्वअध्यक्ष बस्नेत भन्छन्, ‘कलेजमा वार्षिक ४ पटक रक्तदान कार्यक्रम आयोजना गर्छौं । तीन जना विद्यार्थी मिलेर एक जनालाई रक्तदानको महत्त्व बुझाउनेजस्ता कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’ उनले रक्तदानका लागि स्वयंसेवकका रूपमा काम गर्न पाउँदा बेग्लै आत्मसन्तुष्टि मिल्ने गरेको बताए ।

...

भक्तपुर तौमडीकी रोशिका जधारीमा सानैदेखि सुई देख्नासाथ डराउने बानी २१ वर्षको हुँदासमेत उस्तै छ । तर, घरपरिवारबाट हौसला पाएपछि उनले त्यो डरलाई जित्न सफल भएकी छन् । हालसम्म ६ पटक रक्तदान गरिसकेकी छन् । उनका बुबा मुक्तिसुन्दर पनि नियमित रक्तदाता हुन् । रोशिका भन्छिन्, ‘पहिलो पटक कलेजमा रक्तदान गर्दा बुबा आइदिँदा हौसला मिल्यो । त्यसयता नियमित रक्तदान गर्दै आइरहेकी छु ।’ उनका अनुसार महिलाहरू प्रायः रक्तदान गर्न शारीरिक रूपमा योग्य भए पनि मानसिक तयार नहुने समस्या छ । ‘रगत पैसा भएर बजारमा खरिद गर्न पाइँदैन । जबर्जस्ती शरीरबाट निकाल्न मिल्ने पनि होइन,’ उनले भनिन्, ‘युथले दान नगरे कसले गर्छ ?’

...

उदयपुर गाईघाटकी २३ वर्षीया बाबुना थापाले १० पटक रक्तदान गरिसकेकी छन् । रक्तदानलाई निरन्तरता दिँदै जाने उनको योजना छ । भन्छिन्, ‘बच्चा जन्माउने क्रममा महिलालाई बढी रगतको खाँचो परिरहेको हुन्छ । त्यो सोचेर पनि रक्तदान गर्ने गरेकी छु ।’ दोलखाकी सुनिता कारञ्जितले पनि सात पटक रक्तदान गरिसकेकी छन् ।

...

माथिका यी पात्र रक्तदान जस्तो सत्कर्ममा सक्रिय हुने युवाका प्रतिनिधि हुन् । उनीहरूजस्तै नियमित रक्तदान गर्ने युवायुवतीको संख्या ठूलो छ । युवालाई रक्तदानमा प्रेरित गर्न विभिन्न अभियान नै सुरु गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजले युवाहरूलाई रक्तदानमा प्रेरित गर्न २२ जनाको ‘स्टार्ट १८ स्टार्स’ टिम बनाएर अभियान चलाइरहेको छ । टिमले विद्यालय तथा कलेजहरूमा रक्तदानको महत्त्वबारेमा बुझाउने, रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् । टिमको नेतृत्व परभसले गरिरहेका छन् । उनी भन्छन्, ‘आमालाई रगत चाहिएको हुन्छ । तर, छोरा/छोरी भने रगत दिन डराइरहेका हुन्छन् । रक्तदानको महत्त्व बुझाउन नसकेकाले यस्तो भएको हो ।’ उनले रक्तदाताको एप्सबाट डाटाबेस बनाउने तयारीमा रहेको बताए । ‘अहिले रक्तदान गर्नेहरूको कतै अभिलेख छैन,’ उनले भने, ‘डाटाबेस भयो भने डोनरको सम्पूर्ण विवरण सजिलै पत्ता लगाउन सकिन्छ । यसले रगतको अभाव पूर्ति गर्न मद्दत गर्छ ।’

नेपाल रेडक्रस सोसाइटीले पनि युवाहरूलाई रक्तदानमा प्रेरित गर्न विद्यालयमा जुनियर युथ सर्कल र कलेजहरूमा युथ सर्कल बनाएर काम गरिरहेको छ । सोसाइटीका अनुसार ६ हजार ५ सय वटा सर्कलमा आबद्ध युवालाई तालिम दिने काम पनि भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक दिव्यराज पौडेलले रक्तदानको महत्त्व दर्शाउन पाठ्यक्रममा राख्न प्रयास भइरहेको बताए । ‘पहिला कलेजमा ‘बीई ब्लड डोनर’ भन्ने च्याप्टर थियो । अहिले पुनः राख्न प्रयास भइरहेको छ,’ उनले भने । नेपाल रेडक्रस सोसाइटीका जुनियर तथा युथ विभागका प्रमुख मोना अर्यालले साउथ एसिया युथ नेटवर्कमार्फत युवाहरूलाई देश–विदेशमा लगेर पनि रक्तदानको महत्त्वबारेमा जानकारी दिने काम भइरहेको बताइन् । ‘युथहरूलाई क्षमता विकाससँगै अवसर पनि दिइरहेका छौं,’ उनले भनिन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनामध्ये २० देखि ६४ वर्ष उमेर समूहका ५५ प्रतिशत अर्थात् १ करोड ६० लाख ४० हजार ५ सय १७ जनसंख्या छन् । नेपाल रेडक्रस सोसाइटीको तथ्यांकअनुसार गत वर्ष १८ देखि ३० वर्ष उमेर समूहका ५०.३५ प्रतिशत, ३१ देखि ४० वर्षका २९ प्रतिशत, ४१ देखि ५० वर्षका १५.७१ प्रतिशत, ५१ देखि ६५ वर्षका ५.१५ प्रतिशतले रक्तदान गरेका थिए । गत वर्ष २ लाख ७२ हजार जनाले रक्तदान गरेका थिए । यो तथ्यांकका आधारमा हाल मुलुकमा रक्तदान गर्न योग्य जनसंख्यामध्ये १.७ प्रतिशतले मात्र रक्तदान गरिरहेको देखिन्छ ।

चिकित्सकहरूका अनुसार रक्तदानप्रति समाजमा विद्यमान शरीर कमजोर हुने, शरीरमा रगतको मात्रा घट्नेजस्ता भ्रमका कारण अझै पनि युवाहरू रक्तदान गर्न संकोच मान्ने गर्छन् । रक्ततत्त्व विज्ञ डा. विपिन नेपाल भन्छन्, ‘नियमित रक्तदान गर्नाले शरीर कमजोर हुन्छ भन्ने कुरा हावादारी हो । बरु नयाँ रक्ततत्त्व विकास भई शरीर स्वस्थ रहन मद्दत गर्छ ।’ उनले नियमित रक्तदान गर्ने व्यक्तिलाई मुटु र मिर्गौला सम्बन्धित रोग लाग्ने सम्भावना कम हुने बताए । ‘आइरनको मात्रा कम वा बढी भइरहनेका लागि पनि सन्तुलन मिल्छ,’ उनले भने ।

नेपालमा सबभन्दा पहिला २००० सालमा काठमाडौं केल मासंगल्लीका ३२ वर्षीय दयावीरसिंह कंसाकारले वीर अस्पतालमा उपचारार्थ रत्नकाजी तुलाधरलाई रक्तदान गरी रक्तसञ्चार सेवाको सुरुवात गरेका थिए । कंसाकार परोपकार संस्थाका संस्थापक र नेपाल रेडक्रस सोसाइटीको संस्थापक सदस्य हुन् । उनले ७ पटकसम्म रक्तदान गरेका थिए । उनकै पालामा ‘रक्तदान जीवनदान’ भन्ने भावना विकसित भएको थियो । उनका जेठा छोरा हितकरवीर सिंह कंसाकार भन्छन्, ‘त्यतिबेला वीर र पाटन अस्पतालका बिरामीहरूलाई रगत चाहिनेबित्तिकै परोपकारका स्वयंसेविकाहरू रक्तदान गर्न अस्पतालमै पुग्थे । रक्तदाताहरू पुरुष मात्र थिएनन्, महिला पनि थिए ।’ उनका अनुसार असनकी तारादेवी तुलाधर भने पहिलो महिला रक्तदाता हुन् । ‘उनले २०१८ सालमा रक्तदान गरेकी थिइन्,’ हितकरवीरले भने, ‘समाज पहिलाभन्दा पनि अहिले निकै संकीर्ण भइसकेको छ । यसलाई पुरानै लयमा फर्काउन सबैले पहल गर्नुपर्छ ।’

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कर्माचार्यले सम्बन्धित निकायले स्वस्थ युवायुवतीलाई आफ्नो १८ औं जन्मदिनसँगै रक्तदानको शुभारम्भ गरौं भन्ने जनचेतनामूलक कार्यक्रम पर्याप्त मात्रामा सञ्चालन गर्न नसकेको बताए । ‘आवश्यक रगतको व्यवस्थापन गर्ने जिम्मा सरकारको हो । तर, सरकार रेडक्रसलाई जिम्मा लगाएर पन्छिरहेको छ,’ उनले थपे, ‘सम्बन्धित निकायले युवाहरूले गरेको रक्तदान सदुपयोग भइरहेको छ/छैन भनेर अनुगमन गर्न पनि सकिरहेको छैन । युवा नै ब्लड बैंक हुन् भन्ने सन्देश फैलाउन जरुरी छ ।’ उनले दातालाई जिन्सी, नगद उपहार दिएर भन्दा पनि दायित्व बोध गराउनु सबभन्दा चुनौती रहेको बताए ।

प्रकाशित : चैत्र १३, २०७९ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?