कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हम न रहब माटिके घरमे

गर्मीमा शीतल र जाडोमा न्यानो हुने भए पनि खपराका कच्ची घर वर्षाअघि बर्सेनि मर्मत गर्नुपर्ने , खपरा र दक्ष कामदार नपाइने झन्झटले फेरिँदैछन् मधेशका छानो
परम्परागत पेसाले गुजारा नचलेपछि माटोका खपरा बनाउनेहरू वैकल्पिक पेसामा, घर बनाउनेको रोजाइ पनि पक्कीमा
सन्तोष सिंह

धनुषा — हम न रहब सैंया माटिके घरमे, 
पक्का पिठवाइ दा बलमुवा...
(म बस्दिनँ प्रिय माटोको घरमा, 
पक्की घर बनाइदेऊ मायालु) 

हम न रहब माटिके घरमे

भोजपुरी गायक निशा र अरविन्दको ‘ए जी गवना कराली’ एल्बमको यो गीत मधेशमा अझै सान्दर्भिक छ । दुई दशकअघि रिलिज भएको गीतले मधेशको बस्ती र घरको अवस्थालाई चित्रण गरेको छ । भोजपुरी लवजको गीत मिथिला–मधेशमा भूगोल सुहाउँदो हुँदा लोकप्रिय बन्यो ।

वैदेशिक रोजगारमा गएका श्रीमान्लाई श्रीमतीले फोनमा गफ गर्दा फुसको घरमा राति असुरक्षित भएको भन्दै पक्की घर बनाउने गरी पैसा पठाउन आग्रह गरिएको गीतको भाव छ । त्यहीअनुरूप वैदेशिक रोजगारबाट फर्किएपछि माटो र खपराले छाएको घर भत्काएर पक्की बनाउने क्रम मधेशमा बढ्यो । खपराका घर जुन रफ्तारमा पक्की बन्दै गए, त्यही गतिमा वैदेशिक रोजगारीमा जाने पनि बढे । माओवादी द्वन्द्वसँगै मुलुकको राजनीतिक उतारचढावकै बीच स्वदेशमा रोजगारी नपाएपछि मधेशबाट खाडी मुलुक जाने क्रम बढ्यो । अहिले त झनै चुलिएको छ ।

वैदेशिक रोजगारीमा जानेहरूले सुरुमा दुइटा काम गरे । पहिलो, खपराका कच्चीघर भत्काएर पक्की बनाए । दोस्रो, छोराछोरीलाई नजिकका सहर बजार क्षेत्रमा राखेर बोर्डिङ स्कुल पढाउन थाले । वैदेशिक रोजगारीले मधेशमा ल्याएको पहिलो बदलाव यो नै हो । तर, कच्ची (खपरा) घर हट्नुमा वैदेशिक रोजगारी एउटा पाटो भए पनि खपरा गुँथ्ने कालिगड पाउनै छोड्नु पनि समस्या थपियो । धनुषाको औरही गाउँपालिका–२ परवाहा कुम्हाल टोलका सहदेव पण्डित पेसाले माटोको खपरा र भाँडा बनाउने हुन् । उनी ७० वर्षका भए । ज्यान अब तन्नेरी जसरी मिहिनेत गर्न सक्ने प्रकारको रहेन । उनको घरमा कुम्हालको मुख्य औजार छाउनमा खिया लागेको छ । खपरा र भाँडा बनाउने चक्र थन्किएको छ । प्रयोग हुन छाडेर कोदालोमा खिया लागेको छ ।

घरअगाडि माटोका भाँडा पोल्ने आवान (परम्परागत भट्टी) वर्षौंदेखि छ । लक्का जवानछँदा वीरगन्जदेखि विराटनगरसम्म पुगेर सहदेव माटोका भाँडाकुँडा बनाउँथे । पूर्वको कोशी तटीय क्षेत्रदेखि वाग्मती किनारासम्म फैलिएको सहदेवको पुर्ख्यौली पेसा उनको पाको शरीर र घरको छानाबाट खपरा विस्थापित भएपछि रोकिएको छ । माटोका खपराले छाएका घरका छानो देखाउँदै उनले भने, ‘१०/१२ वर्षको हुँदा माटोको खपरा बनाउन महिनौंसम्म घरबाहिर बस्थें । म जवान हुँदा बनाएको खपरा छानोमा अझै छ । असिनाले फुटेको खपरा धेरै दिन टिक्दैन । मेरो उमेरसँगै घरको छाना छाएको खपराको आयु सकिँदै गएको छ ।’ उनले जमानामा माटोका खपरा बनाएर दिनको ५० पैसादेखि ५ सयसम्म कमाए । अहिले दूरदराजको देहात बस्ती एकाध घरमा मात्र खपरा रहेको सहदेवले बताए । खपरालाई पहिला एल्बेस्टर, पछि जस्तापाता र अहिले कंक्रिटका ढलानले विस्थापित गर्दै लगेको छ । सहदेवको घर आसपासमा सयभन्दा बढी कुम्हालका घर छन् । तर, उनीहरूकै घरको छानोबाट खपरा हट्न थालेको छ ।

पुराना खपरा फुट्दै गएपछि धेरैजसो घर सिमेन्टको एल्बेस्टर र जस्तापाताले छाएको छ । परवाहाका कुम्हालकै घरमा नयाँ पुस्ताले त खपरा राख्नै छाडिसकेका छन् । माटोको खपरा बनाएरै कुम्हालसँग जवानी बिताएका परवाहका ७० वर्षीय हृदयकान्त मण्डल पक्कीघरमा बस्न थालेका दशक पुगेको छ ।

सर्लाहीको भारतीय सीमानजिकैको फेन्हारा गाउँ (विष्णु गाउँपालिका) गुजमुज्ज बसेको बस्ती हो । यादव, कुम्हाल, साहतेली र ब्राह्मण जातिको बसोबास रहेको फेन्हारामा दुई दशकअघि पक्की घर १० वटा पनि थिएनन् । कुम्हालको बाक्लो बसोबास रहेकाले यहाँका अधिकांश घरको छानामा खपरा थियो । तर, गत फागुन १९ मा ड्रोन क्यामेराले फेन्हाराको तस्बिर लिँदा दृश्यमा कंक्रिटका घरको खोंचमा थोरै मात्र खपरा छाना देखिन्छन् । (हेर्नुहोस् तलको ड्रोन तस्बिर) । फेन्हाराका सोगारथ पण्डितका अनुसार दुई दशकअघि गाउँमा सीमित संख्याका

ब्राह्मण र साहतेलीको घर मात्रै पक्की थियो । ‘यादव र कुम्हालको घर त अधिकांश खपराकै थियो,’ उनले भने, ‘अहिले त जता हेर्‍यो पक्की नै घर छ । कुम्हालले पनि खपरा बनाउन छाडिसके ।’

***

मधेश प्रदेश राजधानी जनकपुरको होटल नवरंगको छानो खपराको छ । ग्राहकले नवरंग होटलको त्यही स्वरूप मन पराएकाले खपराको घर टालटुल पारेर जोगाइएको होटल सञ्चालक प्रकाश भगतले बताए । ‘३५ वर्षअघि नवरंग होटल सुरु गर्दा यति धेरै फराकिलो ठाउँ जनकपुरको मुख्य ठाउँमा पाइएन,’ उनले भने, ‘खपराले छाएको यही घर उपयुक्त लागेर होटल खोलियो । अहिले यही संरचना ग्राहकका लागि आकर्षक बनेको छ ।’ भगतका अनुसार नवरंग होटल बसेको घर करिब ६० वर्ष पुरानो हो । पुरानो घरको मर्मतसम्भारमा बर्सेनि खर्च बढेपछि होटलकै छेउमा चारतले पक्की भवन बनाइएको छ । वैशाखपछि नवरंग होटल अब त्यही पक्की घरमा सर्दै छ । होटल रहेको खपराका घर पनि भत्काएर त्यहाँ पक्की संरचना बनाउने योजना रहेको भगतले बताए ।

नवंरग त एउटा उदाहरण मात्रै हो । मधेशमा खपराका परम्परागत घर छाडेर पक्की घरमा सर्ने क्रम बढ्दो छ । कच्ची र खपराको घरभन्दा पक्की सम्पन्नता जनिने ठानिएकाले पनि घरका पराम्परागत रुवरूप फेर्ने होडबाजी छ । महोत्तरीको गौशाला–१२ का शिक्षक महावीर सिंहले खपराको छानो भएको कच्ची घरअगाडि हालसालै पक्की बनाएका छन् । हरेक वर्षायाम आउनुअघि घर छाउनुपर्ने, खपरा सजिलै नपाइने, पानी नपस्ने गरी दरिलो पाराले छाउन दक्ष मजदुर पनि नभेट्ने भएपछि पुरानो घरलाई गोठ र समान राख्न प्रयोग गरिरहेका छन् । पोहोरदेखि पक्की ओतमा सरेका सिंह तुलनात्मक रूपमा गर्मीको बेला पुरानै घरमा बस्न सहज भएको बताउँछन् । जाडो र वर्षा हुँदा पक्की घरमा ढुक्क भए पनि प्रचण्ड गर्मी भएको बेला पुरानै घर शीतल हुने गरेको उनको अनुभव छ ।

***

३० वर्षअघिसम्म मधेशमा वर्षा सकिएर जाडो सुरु हुनै लाग्दा खपरा बनाउन कुम्हाल गाउँ पस्थे । दसैं–दीपावली आसपासमा कलात्मक माटोको खपरा बन्न सुरु हुन्थ्यो । समूहमा आएका कुम्हाल माटोका डल्ला फोरेर–मुछेर गहना बनाएजस्तै एउटा घरका लागि आवश्यक खपरा महिनौं लगाएर तयार गर्थे । टायल र इँटा बनाउने प्रक्रियासँग माटो खपरा बनाउने प्रक्रिया मिल्दोजुल्दो भए पनि आकारमा भने फरक हुन्छ । यो एक प्रकारले गिलासलाई आधा भाग चिरेजस्तै हुन्छ । मुंग्रा (काठको डल्लो) र चक्रमा तयार गरेको सुकाएर थन्काइएको माटोका खपरालाई भट्टीमा पोलेर तयार गरिन्थ्यो ।

जनकपुरवासी लेखक नित्यानन्द मण्डल सम्झन्छन्– एक जमानामा खर, खपरा र माटोको टायलले छाएका काठको खाँबा भएका घर गोबर, माटोले लिपेर चिटिक्क बनाइएको नै मधेशका बासको परिचय थियो । ‘खपरा बनाउन चाहिने गुणस्तरको माटो, मजदुर, बनाएपछि खपरा पोल्न चाहिने गुइँठा पाइन छाड्यो,’ मण्डलले भने, ‘खपरा बनाउने व्यवसायमा श्रम र समयअनुसार आम्दानी नभएपछि कुम्हाल पुर्ख्यौली पेसा छोडेर वैदेशिक रोजगारमा जान थाले । अनि मधेश चिनाउने छानोबाट कलात्मक खपरा हराउन थालेको हो ।’

उनका भनाइमा सहमत छन् परवाहाका मोहन पण्डित । खपरा बनाएर हुने आम्दानीले घरखर्च चलाउन समस्या भएकाले आफू वैदेशिक रोजगारमा उनले बताए । ‘घरपरिवारको खर्च र छोराको उच्च शिक्षाका लागि वैदेशिक रोजगारी जानुपर्दा नयाँ पुस्तामा पुर्ख्यौली पेसाको ज्ञान सर्नै पाएन,’ उनी भन्छन्, ‘कुम्हालको काम माटोको भाँडाकुँडा, खपरा र मूर्ति बनाउने हो । बुबाले माटोको सबै काम गर्नुभयो । बुबाका साथ मैले काम गरिनँ । मेरो छोरामा माटोको काम गर्ने कुनै सीप नै भएन ।’ आर्थिक उपार्जन नहुने भएपछि परम्परागत पेसालाई कसैले माया गरेर थामिरहन नसक्ने उनको अनुभव छ ।

खपरा बनाउन मात्रै होइन छानो छाउने क्रममा वर्षाको पानी नछिर्ने बनाउन विशेष सीपको जरुरत पर्छ । पछिल्ला पुस्ताले देखेको र मन पराएका घर कलाका दृष्टिले पृथक भइकन घामपानी, हावाहुन्डरी छेक्ने छन् । बीचको भाग अग्लो बनाएर दुईतर्फ ओरालो बनाएर खर, खपराले छानो छाएर गोबर माटोले लिपेर तयार गरिएको घर मिथिला–मधेशको लोकसंस्कृति दर्साउने जनकपुरका डा.रेवतीरमण लालले बताए । ‘खर र खपराले चार (छानो) छाएको घर वातानुकूलित र आरामदायी हुन्थ्यो,’ उनले भने, ‘पुराना घरमा गर्मीको अनुभूति हुँदैनथ्यो । जाडोमा धेरै चिसो लाग्दैनथ्यो । समाजमा अल्छी र देखासिकी बढ्दा लोकसंस्कृति झल्काउने घर हटाएर कंक्रिटको बनाउन प्रतिस्पर्धा नै चलेको छ ।’ उनका अनुसार दशक अघिसम्म पनि मिथिलाको रहनसहन र कृषि प्रणालीअनुसार घरका संरचना हुन्थे । उनी भन्छन्, ‘बघारा (अनाज भण्डारण गर्ने घर), दलान (पुरुषहरू बस्नका लागि बनाइएको छुट्टै घर) र खलिहान (फसलबाट अनाज झिक्ने ठाउँ) हुन्थ्यो ।’

परिवार संयुक्तबाट टुक्रिएर एकल हुन थाल्यो । सानो परिवार सानो टुक्रा घडेरीमा आफूहरूलाई ठिक्क पुग्ने कोठा भएका घरमा गुजारा गर्न खुसी मान्छन् । ग्रामीण क्षेत्र बजारमा रूपान्तरित भइरहँदा खेती गर्ने चलन घट्यो । परम्परासँग जोडिएका घर मासिएकै कारण लोकसंस्कृति, लोककथा, नाटक, पूजापाठ र खेलकुदमा समेत अरूकै देखासिकी बढेको लालको तर्क छ । ‘खेतीपाती गरेर बाँच्ने भएकाले अन्नपात तयार गर्ने, अन्न राख्ने भकारी अहिलेको घरमा भेटिँदैन,’ उनले भने, ‘बालुवा–गिट्टीले बनेको घरमा धानको भकारी अटाउनै छोड्यो ।’ घरको बनावट फेरिँदा सामूहिक बसाइ, पुराना परम्परा र दैनिक जीवन फेरिँदा सामाजिक एकता पनि उथलपुथल भएको लालको बुझाइ छ ।

महोत्तरी भ्रमरपुराका इन्जिनियर मुकेश दुवे घरको संरचना फेरिनु मान्छेले बलियो विकल्प पहिल्याउने बाध्यताको उपज भएको तर्क गर्छन् । ‘खपराले छाएको घर बर्सेनि मर्मत गर्नुपर्ने, चाहिएका बेला खपरा नपाइने, मर्मत गर्दा जनशक्तिको अभाव आदि समस्याले विकल्प खोजिएको हो,’ उनले भने, ‘गर्मीको समयमा बस्न शीतल हुने माटोको खपरा असिनाले फुटाउने र हावाहुरीले उडाउँदा वर्षाको समयमा घरमा पानी चुहिने समस्या हुन्थ्यो ।’ मान्छे सुख चाहन्छ, सजिलो बसोबास चाहन्छ । त्यसैले घरका स्वरूप फेरिँदै गएको उनको भनाइ छ ।

तराई–मधेशका घरको छानोबाट खपरा हराउने संघारमा पुगेको छ । जस्तापाता र सिमेन्टले बन्ने पक्की घर बढ्नुमा खपरा कमजोर हुनु मात्रै मुख्य कारण होइन । कुम्हाल अगुवाहरूको बुझाइमा माटोसँग रहेको प्रेमले गुजारा नचल्नु बलियो कारण हो । रातदिन माटो मुछ्ने कुम्हाल समुदायका अधिकांश पछिल्ला पुस्ता अहिले वैकल्पिक पेसामा छन् । धनुषाको औरही–२ का तेजी पण्डित खपरा बनाउँथे । तर, उनको तीन छोरा र नाति कोही त्यो काम गर्दैनन् । पण्डितका जेठा छोरा मदनले पढे, विद्युत् प्राधिकरणमा जागिर खाए । माइला छोरा मोहन वैदेशिक रोजगारीमा कतार गए, १२ वर्ष बसेर घर फर्केपछि चिया पसल चलाउँदै छन् । कान्छो गुडु वैदेशिक रोजगारीका लागि कतारमा छन् । तीनै भाइका छोराहरू पनि वैकल्पिक पेसामा छन् ।

परवाहामा २० वर्ष अघिसम्म मोहनका बाबु तेजीसँगै स्थानीय कुम्हालहरू समूहमै माटोका खपरा र भाँडाकुँडा बनाएर जीविका चलाउने गरेका थिए । स्थानीय ७० वर्षीया जिबछी पण्डितका अनुसार तेजीसँगै उनका अधिकांश सहकर्मीको मृत्यु भएपछि उनीहरूका नयाँ पुस्ताले पुर्ख्यौली अपनाएनन् । वैदेशिक रोजगारी रोजेपछि माटोका भाँडाकुँडा, खपरा बनाउने कालिगडसँगै घरको छानो पनि फेरिएको उनले बताइन् । ‘माटो भाँडा बनाउने कुम्हालकै घरमा अहिले चाडपर्वमा बजारबाट माटोका भाँडा किनेर ल्याउनुपरेको छ,’ उनले भनिन्, ‘मेरा ससुरा बुढेसकालसम्म घरमै माटोको भाँडाकुँडा बनाउँथे । श्रीमान्सँगै देवर पनि महिनौंसम्म बाहिर गएर खपरा बनाउँथे । बाबुको काम छोराहरू सिक्नै चाहेनन् ।’

घर पक्की बनाए पनि धेरैजसो परिवारमा धार्मिक विधि, पूजापाठ र चाडपर्वमा अझै माटोका भाँडा प्रयोग हुन्छन् । धनुषा औरही–१ का किशोरी पण्डित पुर्ख्यौली पेसाले गुजारा नचल्दा कुम्हालका नयाँ पुस्ता वैकल्पिक पेसामा गएको बताउँछन् । ‘म पनि माटोका भाँडा बनाउँछु किनभने कुम्हालको सम्पत्ति माटो हो । तर, चाहिने राम्रो माटो पाउनै मुस्किल छ, अनि यो काममा लगानी बढी र आम्दानी कम छ,’ उनले भने, ‘घरव्यवहार चलाउन मात्र पनि पर्वत्योहार, पूजापाठका लागि भाँडा बनाउने गरेको छु ।’

प्रकाशित : चैत्र ४, २०७९ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?