‘पेट लभर्स’- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पेट लभर्स’

१८ वर्षदेखि २५ वर्षसम्मका युवायुवतीले ‘टोय’ ब्रिडवाला पप्पी रुचाउँछन् । सानो र क्युट हुने भएकाले टोय ब्रिड मन पराइएको हो।
नेपालमा गोल्डेन रिट्रिभर, जर्मन सेफर्ड, ल्याब्रेडोर रिट्रिभर, जापनिज स्पिज, पग, बिगल, रटविलर, बक्सर, पुडल, ककर स्पेनियल,डालमेसियन, बुल डग, हस्की प्रजातिका कुकुर बढी मात्रामा बिक्री हुन्छन् । बुल डग, हस्की, पुडल महँगोमध्येमा पर्छन् ।
बुनु थारु

काठमाडौँ — ललितपुर पाटनकी २७ वर्षीया प्रभा श्रेष्ठले घरको मूल ढोकामै लेखेकी छन्, ‘इफ यु आर नट डग लभर, यु आर नट वेलकम टु आवर हाउस’ अर्थात् यदि तपाईं कुकुरलाई प्रेम गर्नु हुन्न भने हाम्रो घरमा स्वागत छैन ।

खासमा उनको परिवार नै कुकुरप्रेमी हो । प्रभाले सानैदेखि घरमा कुकुर पालेको देखिन् । आयु कम हुने भएकाले उनले जान्ने–बुझ्ने भएदेखि थुप्रै कुकुरले साथ छोडे । तर, कुकुर पाल्ने क्रम टुटेन । प्रभासँग अहिले दुई कुकुर छन्, बेल्सी र डेजी । बेल्सी जापनिज स्पिज र ककर स्प्यानियल ब्रिड हो भने डेजी ल्याब्रेडोर रिट्रिभर ।

बेल्सीलाई ४ वर्षको उमेरमा ‘अटोइम्युन डिजिज’ लाग्यो । डाक्टरले ७ वर्षको बाँच्ने समय तोकिदिए । यही फागुन २४ गते ‘बेलसी’ को ९ औँ जन्मदिन मनाइयो । कतिले बिरामी कुकुर पाल्नु हुँदैन पनि भने । प्रभा भन्छिन्, ‘घरमा छोराछोरीजत्तिकै माया पाएका छन् दुवैले । हाम्रो माया र साथले बेल्सी स्वस्थ जीवन बाँचिरहेकी छन् ।’ कोभिडको समयमा एउटा कुकुर भागेर उनको घरमै आइपुग्यो । कसैको कुकुर हराएको होला भनेर उनले सामाजिक सञ्जालमा पनि राखिन् । तर कोही लिन आएनन् । पछि एक जनाले पाल्ने भनेर लिन आए पनि परिवारले दिन सकेनन् ।

‘दुई वटा कुकुर पाल्नु आर्थिक रूपमा पनि चुनौतीपूर्ण थियो । खोप र खाना महँगो हुन्छ । तर पनि माया लागेर पाल्ने सोच्यौं,’ प्रभाले भनिन् । ८ महिनामा भागेर आएकी डेजी अहिले ४ वर्षको भइसकिन् । प्रभा आफूलाई कुकुरहरूको बफादारी र निःस्वार्थ प्रेमले आकर्षित गर्ने बताउँछिन् । ‘उनीहरू नबोली पनि माया प्रकट गर्छन् । निःस्वार्थ माया दिन्छन् । मुड बुस्टरको काम गर्छन्,’ उनले आफ्नो कुकुर प्रेम सुनाइन् ।

३० वर्षीया रोशनी गिरीले सडकका कुकुरलाई खाना खुवाउन रुचि राख्छिन् । आफूलाई पशुप्रेमी भन्न रुचाउने उनी ७ सडकका कुकुरलाई खाना खुवाउँछिन् । यो उनको दैनिकी नै हो । परेको बेला औषधि उपचार पनि गर्छिन् । रोशनी भन्छिन्, ‘यो विश्व सबैको साझा घर हो । उनीहरूको घर छैन । हामीले प्राकृतिक बासस्थान बिगार्दिसक्यौं । खाना पाऊन् र हेरचाह पुगोस् भनेर खुवाउने गरेको हो ।’ उनले दुई वटा बिरालो पनि पालेकी छन् ।

सूर्यविनायककी २७ वर्षीया स्मारिका भट्टराई पशुहरूको सौहार्दपूर्ण भावनाले लोभिने बताउँछिन् । ट्वाइलेटसम्म खुर्र कुदेर पछ्याउने अनि ढोकामा कुरेर बसिराख्ने बानी स्मारिकालाई निकै रमाइला लाग्छन् । उनले एउटा कुकुर र बिरालो पालेकी छन् । स्मारिका भन्छिन्, ‘उनीहरू प्यारा हुन्छन् । लुटपुटिन खोज्छन् । खेल्न खोज्छन् ।’ स्मारिकालाई उनीहरूको निश्छलताले नै खुसी दिएको जस्तो लाग्छ । ‘भाउभाउ अनि म्याउम्याउ गर्दै रमाइरहेका हुन्छन् । कसैलाई दुःख अनि पीडा दिने कुनै नियत नै हुन्न,’ स्मारिका भन्छिन् ।

कीर्तिपुरका २९ वर्षीय सुशान्त बज्राचार्य माछा पाल्नमा औधी सौखिन हुन् । उनले माछा पाल्न थालेको १५ वर्ष भयो । धेरैजसो गोल्ड फिस तथा अरू साना माछा पालेका छन् । घरमा ५ वटा अक्वारियम राखेका उनलाई माछाले स्ट्रेस रिलिफ गर्न मद्दत गरेको छ । भन्छन्– ‘मनमा धेरै कुरा खेलेका बेला यिनीहरूलाई हेरिरहन्छु । आनन्द महसुस हुन्छ । माछा पाल्नु स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हुने रहेछ ।’ उनले उच्च रक्तचाप तथा मुटु रोगीहरूलाई माछा पाल्नु स्वास्थ्यमा फाइदा पुग्ने बताए । साथै आँखाको पनि व्यायाम हुने उनले बताए ।

मानिसहरूमा घरपालुवा जनावर पाल्नु सोखको विषय हो नै, यो सुरक्षा र इज्जतसँग पनि जोडिएको देखिन्छ । सबैभन्दा बढी रुचाइएको घरपालुवा जनावरमा कुकुर नै अग्रस्थानमा आउँछ । बानेश्वरमा ‘अल ब्रिड केनल एन्ड पेट सप’ सञ्चालन गर्दै आएका गोविन्द भण्डारीले यो व्यवसाय फस्टाउँदै गएपछि काँडाघारीमा पनि आउटलेट खोलेका छन् । कुकुरमा पनि धेरैले पप्पीबारे चासो राख्ने बताए । उनका अनुसार अहिले कस्तो खालका ‘पेट’ पाल्ने भन्ने विषयमा त्यसका फिचर्सका बारेमा जानकार भएर मात्र किन्ने बढेका छन् ।

नेपालमा पाइने कुकुरमध्ये सस्तो अनि राम्रो जापनिज स्पिज हो । यसको मार्केट जहिल्यै पनि सदाबहार रहेको व्यापारीहरूको भनाइ छ । हाल यो ५ हजारदेखि ७ हजारसम्म पाइन्छ । ‘ल्याभिस’ लाइफस्टाइल जिउनेहरूको रोजाइमा भने महँगा कुकुर पर्ने भण्डारीको भनाइ छ । नेपालमा १ लाख ५० हजारदेखि २ लाखसम्म पर्ने कुकुरहरू पनि पाइन्छन् ।

नेपालमा बढी मात्रामा बिक्री हुने गोल्डेन रिट्रिभर, जर्मन सेफर्ड, ल्याब्रेडोर रिट्रिभर, जापनिज स्पिज, पग, बिगल, रटविलर, बक्सर, पुडल, ककर स्पेनियल, डालमेसियन, बुल डग, हस्की आदि छन् । बुल डग, हस्की, पुडललगायतका कुकुर महँगा कुकुर हुन् । भण्डारीले अहिले न्यु ट्रेन्ड हेर्दा १८ वर्षदेखि २५ वर्षसम्मका हुने–खाने परिवारका युवाले ‘टोय’ ब्रिड वाला पप्पी रुचाइरहेको बताउँछन् । टोय ब्रिड सानो र क्युट हुने भएकाले मन पराइएको हो ।

भण्डारीले नेपाल कुकुर उत्पादनमा आत्मनर्भिर भएको बताउँदै ९८ प्रतिशत यहीँ नै उत्पादन हुने बताए । यहीँ उत्पादन भएपछि कुकुरहरू विदेशभन्दा सस्तोमा पाइन्छन् । उनले फ्रेन्च बुलडगको उदाहरण दिँदै भने, ‘फ्रेन्च बुलडग नेपालमा हामीले ३० देखि ४० हजारमा बेच्छौं । युरोपमा यसलाई लाखौं पर्छ । संसारकै सस्तो कुकुर नेपालमा पाइन्छ ।’

‘पेट’ पाल्ने मानिसहरूको ‘प्रेस्टिज’ को विषय त भयो नै, घरपालुवा जनावरहरूले मानिसलाई खुसी तथा स्वस्थ रहन, तनावमुक्त रहन सहयोग गर्ने अध्ययनले पनि बताउँछ । मन भुलाउने तथा एक्लोपन मेटाउने साथीका रूपमा काम गर्दिन्छन् उनीहरूले ।

घरपालुवा जनावरमा कुकुर मात्र होइन, मानिसले बिरालो, गिनी पिग, खरायो, कछुवा, चरा पनि पाल्ने गरेका छन् । यद्यपि कछुवा र चरा पाल्नु अवैधानिक मानिन्छ । ‘गिनी पिग’ र ‘ह्याम्सटर’ पनि मानिसले पालेको पाइन्छ । मुसाभन्दा केही ठूलो र खरायोभन्दा केही सानो हुने यो जनावर पाल्ने पनि उत्तिकै बढेका छन् । नेपाली बजारमा यसको मूल्य जोडीको १५ सयदेखि २५ सय रुपैयाँसम्म पर्छ ।

पेट स्टोर नेपालकी सञ्चालक अदिप्ती गुप्ताले ‘पेट पाल्ने’ सोख मानिसहरूमा बढ्दै गएको बताउँछिन् । भन्छिन्, ‘हरेक घरमा बच्चा भई नै हाल्छ । पेट्सले बच्चालाई पनि मन पराउँछन् । अहिले त झन् देखासिकी गरेर पनि पाल्ने भेटिन्छन् ।’ नेपालीहरूले धेरै जापनिज स्पिज, गोल्डेन रिट्रिभर र पकेट (सानो) कुकुरहरू मन पराउने गरेका उनको भनाइ छ । नेपालमा पाइने बिरालो त्यति महँगो हुने नभए पनि पर्सियन क्याट, जिन्जर क्याट कुकुरभन्दा महँगो पर्ने अदिप्ती बताउँछिन् । उनका अनुसार पर्सियन क्याटको मूल्य २५ हजारदेखि ४५ हजारसम्म पर्ने गर्छ । प्रायः कुकुरको यहीँ नै ब्रिडिङ हुने भए पनि बिरालोको भने त्यति हुने गरेको छैन ।

प्रकाशित : चैत्र १, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

लघुवित्तको खराब कर्जा बढ्यो, कर्जा प्रवाह घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — गत पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको खराब कर्जा ४.६८ प्रतिशत पुगेको छ । गत असार मसान्तको तुलनामा यो २.१२ प्रतिशत विन्दुले बढेको हो ।

गत असारमा लघुवित्त वित्तीय संस्थाहरूको औसत खराब कर्जा २.५६ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको लघुवित्त वित्तीय संस्थाहरुको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले ०७९ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएको देखाएको हो ।

जसअनुसार गत पुससम्म लघुवित्त वित्तीय संस्थाहरूको कूल निष्क्रिय (खराब) कर्जा १८ अर्ब ३४ करोड रुपैयाा छ । गत असारको तुलनामा खराब कर्जा ४.६८ प्रतिशत विन्दुले बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । ०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत रहेको थियो । ‘समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ८२.६२ प्रतिशत छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा १७.०३ प्रतिशतले बढेको थियो,’ प्रतिवेदनमा भनिएको छ ।

गत असारसम्म ६५ वटा लघुवित्त वित्तीय संस्था रहेकोमा ०७९ पुससम्म घटेर ६४ वटा कायम भएको छ । ६४ वटा लघुवित्त वित्तीयसंस्थाहरूमध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् । पछिल्ला महिनामा लघुवित्त वित्तीय संस्थाको शाखा विस्तार भने सुस्त गतिमा रहेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाको शाखा संख्या ७.४४ प्रतिशतले वृद्वि भएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भने ०.३४ प्रतिशतले मात्रै वृद्वि भएको देखिन्छ । यस्तै, समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाको सदस्य संख्या २.१९ प्रतिशतले वृद्धि भई ५९ लाख ८८ हजार र ऋणी संख्या १.३० प्रतिशतले घटेर ३२ लाख ६० हजार पुगेको छ ।

गत असारको तुलनामा ०७९ पुससम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको पनि निष्क्रिय कर्जाको अनुपातमा वृद्वि भएको छ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा तथा सापट रकम गत असारको तुलनामा पुससम्ममा ३.१७ प्रतिशतले बढेर ५९ अर्ब ७८ करोड रुपैयाा पुगेको छ । सोही अवधिमा थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको कूल कर्जा तथा सापटीमध्ये निष्कृय कर्जा ५२ करोड अर्थात् ०.८७ प्रतिशत मात्र रहेको छ । २०७९ असार मसान्तमा निष्कृय कर्जाको अनुपात ०.४१ प्रतिशत रहेको थियो भने २०७८ पुस मसान्तमा यस्तो अनुपात ०.३४ प्रतिशत मात्र रहेको थियो ।

२०७९ पुस मसान्तसम्ममा क्षेत्रगत कर्जा प्रवाहतर्फ लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको छ । लघुवित्त वित्तीय संस्थाले २०७९ पुस मसान्तमा प्रवाह गरेको कुल कर्जाको ४७.४२ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । ०७९ असार मसान्तमा कृषि क्षेत्रमा ४६.११ प्रतिशत कर्जा प्रवाह भएको थियो । आर्थिक वर्ष ०७९/८० को दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा २.७१ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २८.९६ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : चैत्र १, २०७९ ११:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×