कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बबइमा पानी छ, छेउकै खेतमा हुँदैन सिञ्चाइ

विप्लव महर्जन

सल्यान — कालिमाटी गाउँपालिका ७ काप्रेचौरको घुइयाबारीका ५५ वर्षीय भोलाप्रसाद बुढाको घर नजिकैबाट बबइ नदी बगिरहेको छ । बबइ नदीको ५० मिटर दूरीमा उनको २ बिघा खेत छ । खेत नजिकै भएर नदी बगिरहे पनि उनले अहिलेसम्म खेतमा सिञ्चाइ गर्न भने पाएका छैनन् ।

बबइमा पानी छ, छेउकै खेतमा हुँदैन सिञ्चाइ

खेतमा बालीनाली लगाउँदा सधैँ आकासे पानीकै भर पर्न बाध्य छन् उनी । सिञ्चाइ नभएकै कारण उनको आधा जमिन बाँझै छ भने अधिकांश जग्गा बिक्री गरिसके ।

स्थानीय ४८ वर्षीय रातो बस्नेतको पनि यस्तै अवस्था छ । सिञ्चाइ व्यवस्था भए दुई बाली धान लगाउन सकिने भए पनि सम्बन्धित निकायले आयोजनाका लागि कुनै चासो नदेखाउँदा उनी आफ्नो १६ रोपनी जग्गामा गहुँ, मकै र मसुरो मात्र लगाउन बाध्य छन् । परिवारको गर्जो टार्न पर्याप्त जग्गा भए पनि उनी सधैँ भारतबाट आयातित खाद्यान्नको भरमा सीमित रहेका छन् । त्यससँगै परिवारको जीविकोपार्जनका लागि भारतका विभिन्न स्थानमा मजदुरीका लागि जान बाध्य छन् उनी ।

घुइयाबारीका यी दुई किसान मात्र नभई खेतीयोग्य जग्गा नजिकै बबइ नदी बग्दै आए पनि कालिमाटी गाउँपालिका ७ काप्रेचौरको घुइयाबारी, हाउखोला, –याङ, स्वामिवास, आम्वास, कुसुमतारा, हात्तीढुंगाका किसान आफ्नो २ सय ८२ हेक्टर खेतीयोग्य जग्गामा खेती गर्नका लागि सधैँ आकाशे पानीको भर पर्न बाध्य छन् । यस क्षेत्रमा २०६४ मा सिञ्चाइ आयोजना संचालन गरिए पनि बबई नदीमा आएको बाढीले २०७२ मा तहसनहस बनाएपछि ०७४ मा पालिकाले ३१ लाख बजेटमा लिफ्ट सिञ्चाइ योजना संचालन गरेको थियो ।

तर दुई वर्ष नबित्दै उक्त लिफ्ट पनि बिग्रिएपछि किसानहरू आकाशे पानीको भर पर्न बाध्य भएका छन् । साथै बबइ किनारको खेतीयोग्य जमिन जर्जर बन्दै गएको स्थानीय किसानहरूको गुनासो छ । तर यस क्षेत्रका खेतमा सिञ्चाइका लागि स्थानीय सरोकार पक्ष र राजनीतिक दलका नेताहरूले सिञ्चाइ आयोजनाका लागि पटकपटक छलफल गर्दै आएका छन् ।

'सिञ्चाइ आयोजना पार्नका लागि आग्रह गर्दै आए पनि अहिलेसम्म साना योजनासमेत नपर्दा आफूहरु समस्यामा परेको र खेती गरेर जीविकोपार्जन गर्ने वातावरण नहुँदा खेतीयोग्य जग्गा बाँझै राख्नु पर्ने अवस्था आएको घुइयाबारीका पूर्णबहादुर सिजालीले बताए । ‘बबइ नदीको नजिकै मेरै आफन्तको २० देखि ४० रोपनी खेत छ । त्यसमा दुई बाली मात्र अन्न फलाउन सके सबै किसान परिवारलाई सात/आठ जना परिवारलाई वर्षभर गुजारा चलाउन सजिलै पुग्छ । त्यत्ति मात्र नभई बढी भएर बिक्री समेत गर्न पुग्छ । तर सिञ्चाइको अभाव र जंगली जनावरले पाकेको बालीमा क्षति पुर्‍याउँदा अधिकांशलाई परिवारको गुजारा चलाउन भारतका विभिन्न ठाँउमा जानुपर्ने बाध्यता छ,’ सिजालीले भने ।

आम्वासका नारायण सुनार भने सिञ्चाइ योजना नहुँदा बबइ नदीमा प्रसस्त पानी भए पनि माछा मार्नका लागि मात्रै उपयोगी हुने बताउँछन् । पालिकाले विकासको नाममा सडकको मात्र काम गर्दै आएकाले पनि सिञ्चाइ योजना ओझेलमा परेको उनको गुनासो छ ।

घुइयाबारी लगायत आसपासका क्षेत्रमा प्रसस्त मात्रामा खेतीयोग्य जग्गा भए पनि सिञ्चाइको अभावमा ३५ प्रतिशतभन्दा बढी जग्गा त्यत्तिकै बाँझै रहेको कालिमाटी गाउँपालिका ७ का वडा अध्यक्ष मित्रलाल सुनारले बताए । पालिकाले वडाका लागि छुट्याएको सीमित बजेट दुई/चार योजनाको काम गर्दैमा सकिने र प्रदेश तथा संघले योजना तोकेर बजेट विनियोजन नगर्दा किसानहरु समस्यामा परेको उनको भनाइ छ ।

उनका अनुसार पालिकाले २०७४ मा ३१ लाख खर्च गरेर २५ बिगाहा खेतमा सिञ्चाइ गर्न सौर्य लिफ्ट सिञ्चाइ योजनाको काम गरेको थियो । योजना सम्पन्न भएदेखि दुई वर्ष किसानले खेतमा सिञ्चाइ त गरे । तर बिग्रेको मोटर नबनाउँदा अहिले त्यत्तिकै थन्किएको छ । त्यसपछि अन्य कुने योजना नपरेको स्थानीयहरूको गुनासो छ ।

खानेपानी सिञ्चाइ तथा उर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले २०६४ मा झन्डै ३ सय हेक्टर खेतीयोग्य जग्गा सिञ्चाइ गर्न निर्माण गरेको योजना बबइ नदीको बाढीले तहसनहस पारेको र पुनर्निर्माणका लागि थप बजेट नआई योजना नै रद्ध भएको बताए ।

प्रकाशित : माघ २४, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?