२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

रहनसहन बदल्दै राउटे

झलक्क हेर्दा राउटे बस्तीको बसोबास शैली पुरानै देखिन्छ, तर पैसाको महत्त्व बुझ्दै गएका उनीहरुमा प्रविधिप्रति खुल्दुली छ, बालबालिका मोबाइलमा गेम खेल्न थालेका छन् 
बिरामी भएका बेला कन्दमूल र घरेलु उपचारकै भर पर्ने उनीहरूमा केही वर्षयता अस्पताल जानुपर्छ भन्ने चेतनाको विकास भएको छ
तृप्ति शाही

वीरेन्द्रनगर — दशकअघिसम्म पनि राउटे जाति ‘पैसा छुँदा पाप लाग्ने’ ठान्थे ।  जंगलका फिरन्ता जातिका रूपमा चिनिएका उनीहरू सामूहिक बस्ती बनाएर बस्थे । आफैंले बनाएका काठका भाँडाकुँडाबाट काम चलाउँथे । खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य साटासाट गर्थे । अहिले राउटे समुदायमा यस्तो चलन हराउन थालेको छ । पैसाको मूल्य बुझ्न थालेपछि उनीहरूको जीवनशैली निकै फेरिन थालेको छ । 

रहनसहन बदल्दै राउटे

पछिल्लो समय दैलेखको नारायण नगरपालिका–९ चुप्रामा बसिरहेका उनीहरू बस्तीमा कोही नयाँ मान्छे गयो कि पैसा मागिहाल्छन् । कसैले फोटो खिच्न खोज्यो भने ५० देखि सय रुपैयाँ दिनुपर्ने सर्त राख्छन् । गत साता राउटे बस्ती पुगेका सञ्चारकर्मीसँग पनि उनीहरूले कुरा गर्न र फोटो खिच्नुभन्दा पहिला पैसा दिनुपर्ने बताए । ‘तिमीहरू हाम्रो फोटो बेचेर धेरै कमाउँछौं, हामीलाई पनि देऊ पैसा,’ बस्तीकी मंगली शाहीले भनिन्, ‘पैसा भए त जे पनि किन्न पाइन्छ, हामीले पनि सुख पाउँछौं ।’ उनले हात परेको पैसाले खाद्यान्नसँगै सुर्ती, चुरोट र रक्सी किनेर खाने गरेको बताइन् ।

झलक्क हेर्दा राउटे बस्तीको बसोबास शैली अझै पुरानै देखिन्छ । तर, पैसाको महत्त्व बुझ्दै गएका उनीहरूमा मोबाइल फोनप्रति खुल्दुली छ । बस्तीमा आउने नयाँ मान्छेसँग मोबाइलबारे सोधीखोजी गर्छन् । बालबालिकाले भने मोबाइल मागेर एकैछिन भए पनि गेम खेल्न खोजिहाल्छन् ।

पहिले घनाजंगलको बीचबीचमा बस्ने राउटे अहिले सडकछेउको जंगलमा छन् । सडक छेउछाउ बस्ती बसाउँदा हिँडडुल गर्न सजिलो हुने अनुभव उनीहरूले गर्न थालेका छन् । बसिरहेको ठाउँमा कसैको मृत्यु भए बस्ती छोड्ने परम्परा उनीहरूको छ । पहिले बस्ती सर्दा कैयौं दिनसम्म हिँड्ने उनीहरू हिजोआज बस्ती सर्न परे पाएसम्म गाडी चढ्छन् । आफ्नै समुदायमा रमाएका उनीहरूको बाहिरियासँग सम्पर्क बाक्लिँदै गएको छ । ‘पहिले बाहिरबाट आएकालाई बस्तीमा छिर्नै नदिने वा छिर्न कडिकडाउ गर्ने उनीहरू हिजोआज झ्याम्मिन थालेका छन्,’ चुप्राकी कमला नेपालीले भनिन्, ‘अहिले त हाम्रो गाउँमा आएर भात मागेरसमेत खान्छन् । भात माग्नुभन्दा अघि फकाउन थाल्छन् ।’

२०६३ सालदेखि राउटेसँग नजिक रहेर काम गरेका अगुवा भक्तबहादुर शाहीले कुनै बेला बस्तीमा जानै प्रतिबन्ध गरेको समुदायले अहिले जति मान्छे बस्तीमा आए त्यति रमाइलो मान्न थालेको बताए । ‘पहिले केही काम पर्दा राउटेका मुखियालाई मात्र भेट्न पाइन्थ्यो । १० वर्षअघिसम्म एक जना मात्र मुखिया हुन्थे, उनीहरूको आदेश सबैले मान्थे,’ उनले भने, ‘अहिले थप तीन जना मुखिया हुँदा उनीहरूको संस्कार पनि जथाभावी हुन थाल्यो । अहिले त महामुखियालाई भेट्न पाइन्न बरु अरू नै कुरा गर्न अघि सर्छन् ।’ उनका अनुसार अहिले राउटे बस्तीमा रास्कोटी, कल्याल र सोवंशी समुदायका फरकफरक मुखिया छन् ।

काठका कोसी र मदुस बनाई त्यसलाई गाउँमा गएर अन्नसँग साटेर जीविका धान्ने राउटे अहिले धेरैजसो बाहिरकै खाद्यान्न किनेर खान्छन् । कल्याल समुदायका मुखिया वीरबहादुर शाहीले भने, ‘अहिले त सबैले कोसी बनाउन छाडे, सरकारले भत्ता दिन थालेपछि हाम्रा जनताको बानी बिग्रियो ।’ उनले पैसा हात परेपछि सबैमा चामल, दाल, तरकारी र मासु किनेर खाने बानी पर्न थालेको सुनाए । राउटे युवाहरूमा काठका भाँडा बनाउने रुचि घट्दै गएको छ । ‘हामीलाई कसैले सिकाएनन्, कसरी बनाउने कोसी र मदुस ?’ सुरेन्द्र शाहीले भने, ‘बनाएर पनि बिक्री हुँदैनन्, किन बनाउने ?’ पुराना पुस्ताभन्दा समुदायका नयाँ पुस्तामा बजारका खानेकुरामा धेरै रुचि देखिन्छ । सरकारले दिने भत्ताले उनीहरूले आफ्नो रहर सजिलै पूरा गर्न सकेका छन् । सरकारले आर्थिक वर्ष २०६५/६६ बाट राउटे समुदायलाई प्रतिव्यक्ति मासिक ४ हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको छ ।

एक समय राउटे समुदायमा बाँदर र गुणा मारेर खाने चलन थियो । हिजोआज उनीहरू ब्रोइलर कुखुरादेखि बाख्राको मासुसम्म खान रुचाउँछन् । ‘अहिले बाहुनले मासु खान थाले, हामी पनि खान्छौं, तर हामी रतुवा, घोरल र कालिज भने मार्दैनौं,’ वीरबहादुरले भने, ‘तरकारीमा तेल हाल्ने चलन भने हाम्रोमा छैन, हामी पुर्खाहरूले नगरेको काम भने गर्दैनौं ।’

बिरामी भएका बेला कन्दमूल र घरेलु उपचारकै भर पर्ने उनीहरूमा केही वर्षयता बिमार परे अस्पताल जानुपर्छ भन्ने चेतनाको पनि विकास भएको छ । झन्डै दुई साताअघि आगोले पोलेर घाइते भएका राउटे युवक नारायण शाहीलाई उनीहरूले उपचारका लागि सुरुमा दैलेख अस्पताल लगे । त्यहाँ सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत पुर्‍याए । पछि थप उपचारका लागि काठमाडौं लगे । तर, उनी बाँचेनन् ।

राउटेहरूमा पहिलेको तुलनामा धेरै परिवर्तन आएको राउटे बस्तीमा शिक्षकका रूपमा कार्यरत दुर्गा खत्रीले बताइन् । ‘सुरुमा हामीसँगै बोल्दैनथे, घरभित्र पस्नै दिँदैनथे,’ ५ वर्षदेखि राउटे बस्तीमा खटिएकी उनले भनिन्, ‘अहिले त आफ्ना परिवारभन्दा हामीलाई विश्वास गर्छन् । केही समस्या भए हामीलाई नै पहिले सुनाउँछन् ।’ कुनै कार्यक्रममा बाहिर लैजान खोज्दा नमान्ने उनीहरू अहिले केही पैसा दिए जहाँ पनि जान थालेका छन् । कसैको मृत्यु भएमा जानकारी नगराउने उनीहरू अचेल सानो स्वास्थ्य समस्या हुँदा पनि औषधि माग्ने गरेको उनले बताइन् । ‘नुहाउनै नमान्ने राउटेहरू हप्तामै नुहाउन थालेका छन्,’ उनले भनिन्, ‘उनीहरूका लुगा पनि अहिले सफा हुन्छन्, बच्चालाई भने नुहाउने चलन अहिलेसम्म पनि छैन ।’ जन्मेदेखि ३ वर्षसम्म नुहाउनु हुँदैन भन्ने मान्यता अझै कायमै रहेको उनको भनाइ छ ।

समाजमा देखिएको परिवर्तनको बाछिटा राउटे समुदायमा पनि सर्दै गएको छ । तर, त्यसको प्रभाव पुरानो र नयाँ पुस्तामा फरकफरक ढंगले परिरहेको छ । शिक्षक खत्रीले आफूहरूले किताब, कापी, कलम समाएको देख्दा राउटे बच्चाहरूले जिज्ञासा राख्ने गरेको बताइन् । उनले समुदायका झन्डै २ दर्जन बालबालिकालाई आफ्नो नाम लेख्न सिकाएकी छन् । ‘अहिले त धेरैले भत्ता पाउँदा आफैं हस्ताक्षर गर्छन्,’ उनले भनिन्, ‘पत्रपत्रिका पाए सकिनसकी पढ्न थाल्छन् ।’

महिनावारी भएका बेला राउटे समुदायका महिला परम्परा भन्दै दैनिक नुहाउने गर्छन् । उनीहरू प्याडको प्रयोग गर्न भने हिचकिचाउँछन् । प्याड लगाउने इच्छा भए पनि समुदायको डरले आँट नगरेको केही किशोरीले बताए । सिलाएको कपडा लगाउनु हुँदैन भन्ने मान्यता राख्दै आएका यो समुदायका पुरुषले नसिलाएकै सेतो रङको कोरो कपडा लगाउँछन् भने महिलाले आफ्नै हातले सिलाएको ब्लाउज र लुंगी लगाउँछन् । पछिल्ला वर्ष पुरुषहरू मेसिनले सिलाएको कोट लगाउन थालेका छन् । चिसोयाममा मागेर भए पनि न्यानो लुगा लगाउँछन् ।

समयसँगै उनीहरूका टहराले पनि स्वरूप बदल्दै छन् । वनको हरियो स्याउला र घोचाद्वारा गोलाकार र अण्डाकार छाप्रो बनाएर बस्ने उनीहरूले छाप्रोमाथि पाल हाल्न थालेका छन् । जति धेरै भए पनि एकै परिवारका सदस्य एउटै छाप्रोमा सुत्ने चलन भने कायमै छ । राउटे समुदायमा क्रियाशील शिक्षक लालबहादुर खत्री राउटेहरू बदलिँदै गए पनि कतिपय परम्परागत अन्धविश्वास भने कायमै रहेको बताउँछन् । राउटेहरू बाटो लागेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन् । मूलको पानी मात्र खान्छन् । सम्पत्तिका रूपमा उनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र सिकार गर्ने केही हतियारमात्र देखिन्छ । सर्ट–पाइन्ट लगाएको मानिस बाटोमा भेट भए सिकार भेटिँदैन भन्ने विश्वास उनीहरूमा अझै रहेको खत्रीले बताए । उनका अनुसार सिकार नपर्नुलाई उनीहरू ईश्वर रिसाएको ठान्छन् ।

जंगली फिरन्ता स्वभाव हराउँदै गएसँगै राउटे समुदायको जनसंख्या भने घट्दै छ । शिक्षक खत्रीका अनुसार बढी मदिरा सेवनका कारण राउटेहरू मृत्युको मुखतिर धकेलिँदै गएका छन् । पहिले भातको जाँड बनाएर खाने उनीहरू अहिले बजारका मदिराको पहुँचमा पुगेका छन् । सरकारले दिने भत्ता र अरूसँग मागेर प्राप्त हुने दुवै रकम धेरैले रक्सीमा सिध्याउने गरेका छन् । उनले भने, ‘महिला–पुरुषदेखि बालबच्चासमेत रक्सीको लतमा लागेका छन् । अत्यधिक मदिरा सेवनले दैनिकजसो कोही न कोही बिरामी परेकै हुन्छन् । बिरामी परेको केही दिनमै कतिपयको मृत्युसमेत हुने गरेको छ ।’ वनजंगलमा गएर भीर र रूखमा चढ्ने राउटेमध्ये कतिपयले लडेर पनि ज्यान गुमाएका छन् । ‘जंगलमा जहाँ बाँदर जान्छन्, उतै राउटेहरू जान्छन्, त्यसैले ज्यान गुमाउनेको संख्या पनि बढ्दै छ,’ खत्रीले भने । २०७५ असारयता १३ जनाले अकालमै ज्यान गुमाएका छन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले मदिरा सेवनकै कारण राउटेले ज्यान गुमाउन थालेपछि यसलाई गम्भीर रूपमा लिन थालिएको बताए । ‘यो विषयमा के गर्ने भन्नेबारे छलफल भइरहेको छ, उनीहरूको निगरानीका लागि नजिकै सुरक्षाकर्मी खटाउने तयारी गरेका छौं,’ उनले भने, ‘राउटेलाई मदिरा नखाऔं भनेर सम्भव छैन, मदिरा बेच्नेहरूको पहिचान गरी राउटेलाई दिए कडा कारबाहीको चेतावनी दिएका छौं ।’

राउटे समुदायमा देखिएको अर्को समस्या भनेको उच्च शिशु मृत्युदर पनि छ । कर्णाली प्रदेश योजना आयोगका अनुसार राउटे समुदायमा जन्मेकामध्ये झन्डै आधा शिशुको मृत्यु हुने गरेको देखिन्छ । आवश्यक स्याहारसुसार नपाएर उनीहरूले ज्यान गुमाइरहेको आयोगका पूर्वसदस्य डा. दीपेन्द्र रोकायाले बताए । ‘गर्भावस्थामा न आमाको स्याहारसुसार हुन्छ, न सन्तुलित भोजन पाउँछिन्,’ उनले भने, ‘त्यस्तो अवस्थामा उनीहरूका सन्तान कसरी स्वस्थ जन्मिन्छन् र ?’ २०७५ असार १७ गतेबाट अहिलेसम्म राउटे समुदायका १६ जना शिशुले ज्यान गुमाइसकेका राउटेहरूलाई अस्थायी बसोबास दिएको गुराँस गाउँपालिकाले जनाएको छ । यो अवधिमा २६ जना शिशु जन्मिएका थिए भने एक शिशुको पेटमै मृत्यु भएको थियो ।

शिक्षक खत्रीले खोप, सन्तुलित भोजन, स्याहारसुसार, सरसफाइलगायतको कमीले शिशुहरूले ज्यान गुमाएको बताए । ‘भत्ताको रकम आमाहरूले मदिरा खान खर्चिन्छन्,’ उनले भने, ‘दैनिकजसो आमाले मदिरा खाँदा त्यसको असर गर्भमा भएको शिशुमा पर्छ ।’ चिसोका कारण धेरै शिशु निमोनियाको सिकार हुने गरेको पनि उनले बताए । राउटे समुदायका सबैजसो बच्चाहरू जंगलमै जन्मिने भएकाले उनीहरूले आधारभूत स्वास्थ्य सेवाको पहुँच पाइरहेको देखिन्न ।

स्वास्थ्यकर्मी कमल शर्माले असुरक्षित सुत्केरी हुने गरेकाले पनि मृत्युको जोखिम बढेको बताए । ‘न आमाको स्याहारसुसार न पोषणको अवस्था राम्रो,’ उनले भने, ‘त्यसमा उनीहरूको कोखबाट जन्मिने बच्चाको अवस्था कस्तो होला ?’ कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले राउटेहरूको मृत्युबारे यकिन तथ्यांक नभएको बताए ।

जीवनस्तर सुधार्न बजेट

आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे वन–वन चहार्ने फिरन्ते जाति हो । हाल ४० घरपरिवार रहेका राउटेको जनसंख्या १ सय ४३ मात्र छ । उनीहरूलाई दैलेखको गुराँस गाउँपालिकाले परिचयपत्र दिएको छ । त्यसका आधारमा उनीहरूले भत्ता बुझ्दै आएका छन् ।

राउटेहरूको जीवनस्तरमा सुधार ल्याउन गैरसरकारी संस्थाले परियोजना सञ्चालन गरेका छन् । सामाजिक सेवा केन्द्रका हिरासिंह थापा परियोजनाले राउटेको स्वास्थ्य, शिक्षा, सरसफाइ, आनीबानी परिवर्तनसँगै जीविकोपार्जनमा सुधार ल्याउन झन्डै डेढ करोड रुपैयाँ खर्च गरिसकेको बताए ।

उता गाउँपालिकाको छुट्टै कार्यक्रम छ । राउटेको जीवनस्तर परिवर्तन गर्न बर्सेनि ५ देखि १० लाख रुपैयाँ विनियोजन गरिरहेको गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बीसीले बताए । उनका अनुसार अघिल्लो ५ वर्षमा राउटे बस्तीमा विभिन्न कार्यक्रममा झन्डै ५० लाख रुपैयाँ खर्च भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि राउटेको जीवनस्तरमा सुधार ल्याउने योजनाका लागि बर्सेनि बजेट विनियोजन गरिरहेको छ । न्यानो कपडा, सहभोज, स्वास्थ्य शिविर, पोषण सुधार र बसाइ व्यवस्थापन लगायतमा मन्त्रालयले रकम खर्चिएको हो ।

चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी रामप्रसाद उपाध्यायले बताए । राउटेहरूको मूलप्रवाहीकरण शीर्षकमा छुट्याइएको रकमले परम्परागत सीप संरक्षण, शिक्षा र स्वास्थ्य लगायतमा खर्च गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : माघ ११, २०७९ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?