किशोरले बनाए ‘इ–स्कुटर’- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरले बनाए ‘इ–स्कुटर’

आश गुरुङ

लमजुङ — मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित ईशानेश्वर मावि कक्षा १२ मा अध्ययन गर्ने अविनाश गुरुङ १७ वर्ष पुगे । मध्यनेपाल–८ डडुवामा कक्षा ८ पास गरेपछि ईशानेश्वर माविमा भर्ना भएका उनले प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषय रोजे । तर उनको मन भने इन्जिनियरिङ विषयमा मोडियो । त्यतिबेला नै डोजर बनाएर सबैलाई चकित पारेका अविनाशले यस पटक ‘इलेक्ट्रिक स्कुटर’ बनाएका छन् । आफैं गुडाउँदै पनि हिँड्छन् ।

आफ्नै ज्ञान र खर्चमा सामग्री संकलन गरी करिब ५५ हजार रुपैयाँको लागतमा बनाइएको स्कुटरलाई उनले विद्यालय आउजाउ गर्न प्रयोग गर्छन् । स्कुटर एक पटक चार्ज गरेपछि ३ देखि ४ किलोमिटरसम्म गुड्ने उनी बताउँछन् । ‘अहिले स्कुल जान–आउन यही स्कुटर प्रयोग गर्छु । हिँडेर १५ मिनेट लाग्ने स्कुल अहिले ५/६ मिनेटमा पुगिन्छ,’ उनले भने । स्कुटरमा उनले २४ भोल्ट २ सय ५० वाटको मोटर प्रयोग गरेका छन् ।

शिक्षक रमेशचन्द्र घिमिरेका अनुसार अविनाशले राम्रो कोरियोग्राफी गर्छन् । नाटकमा पनि अभिनय गर्छन् । चित्र र कलात्मक पेन्टिङसमेत गर्छन् । सबैभन्दा बढी विज्ञान सामग्री अध्ययन र निर्माणमा उनको समय जान्छ । अविनाशले गतवर्ष विद्युतीय रोबोटसमेत तयार पारे । रकेट पनि बनाए ।

विद्यालयका विज्ञान शिक्षक निर्मल अधिकारीका अनुसार करिब २ सय मिटरमाथिसम्म उडेको रकेट त्यसैमा राखिएको प्यारासुटबाट झरेको थियो । ‘अविनाशले पढ्ने विषय बाली विज्ञान हो । तर ध्यान सबै इन्जिनियरिङतिर छ । उसको लगाब र इन्जिनियरिङ क्षमता एक किसिमको अद्भुत नै छ ।’ ब्याट्री सानो र कम क्षमताको भएकाले कम दूरी गुडेको भन्दै विद्यालयले उनको हौसलाका लागि केही ठूलो खाले ब्याट्री खरिद गरिदिने सल्लाह भइरहेको उनले बताए ।

बुवा आशबहादुर गुरुङ केही महिनाअघि मात्रै कतारबाट घर बिदामा आएका छन् । उनी आमा उरमाया गुरुङसँगै भोर्लेटारमा बस्छन् । अविनाशका भाइ अभिषेक ईशानेश्वरमै कक्षा ८ मा पढ्छन् । विदेशमा कमाएको पैसाबाट छोराले ‘इलेक्ट्रिक स्कुटर’ बनाएको देख्दा आशबहादुर निकै खुसी छन् । ‘यस्तो बनाउने दिमाग कहाँबाट आउँछ भनेर छक्क पर्छु,’ उनले भने, ‘जे गरेको छ, छोराले राम्रो गरेको छ ।’

अविनाशका अनुसार ‘इलेक्ट्रिक स्कुटर’ लाई मेला महोत्सवतिर पनि प्रदर्शन गर्ने गरिएको छ । यसमा इलेक्ट्रिक भेइकलको मोटर जडान गरिएको छ । अगाडि र पछाडिको पांग्रा सानोखाले साइकलको हो । दुवै पांग्रामा ब्रेक छ । उनले अँध्यारोमा गुडाउन मिल्ने गरी लाइट पनि राखेका छन् । टिन र ग्रिल उद्योगमा पाइने फलामे सामग्रीबाट यो ‘इलेक्ट्रिक स्कुटर’ बनाउन एक महिना लागेको उनले बताए । ‘दिउँसो त स्कुल जानुपर्‍यो । साँझबिहानको समयमा बनाएको हुँ,’ उनले भने । उनले यसको अध्ययन भने इन्टरनेटको माध्यमबाट गरेको बताए ।

प्रकाशित : माघ १, २०७९ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ५ वर्षपछि पक्राउ

आश गुरुङ

लमजुङ — जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फरार रहेका अभियुक्तलाई ५ वर्षपछि पक्राउ गरेको छ ।

लमजुङको राइनास नगरपालिका ९ का ४२ वर्षीय बेलराम गुरुङलाई चितवनबाट पक्राउ गरिएको डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार प्रहरीले गुरुङलाई मंगलबार राति साँढे ९ बजेतिर पक्राउ गरेर बुधबार बेंसीसहर ल्याइपुर्‍याएका थिए । पक्राउ परेका गुरुङलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

गाउँकै ५४ वर्षीय हितमान श्रेष्ठलाई चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेपछि उनी फरार रहेका थिए । घटनापछि चितवनतर्फ लुकिछिपी बसेको हुन सक्ने भन्दै आएको सूचना संकलन गरी जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष अनुसन्धान प्रहरी टोलीले गुरुङलाई चितवनको भरतपुर महानगरपालिका १६ विजयनगरबाट पक्राउ गरेर ल्याएको डीएसपी श्रीमलले बताए ।

इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीले उनलाई बिहीबारबाट लागू हुने गरी ५ दिनका लागि जिल्ला अदालत लमजुङबाट म्याद थप अनुमति लिई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान थालिएको छ । मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य गरी मानिस मार्ने व्यक्तिलाई जन्मकैदको सजाय हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीले एक जना चौधरी थरका महिलालाई विवाह गरेर बसेको र आफ्नो नाम ढाँटेर आशमान गुरुङ भनी नाम‚ ठेगाना ढाँटेर बसेको अवस्थामा भेटिएको बताए । मृतक राइनास नगरपालिका १०, सिमघारीस्थित रत्न प्राविका पूर्वप्रधानाध्यापक हुन् ।

प्रकाशित : पुस २८, २०७९ १५:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×