२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कंगना रनौत हिमाचलको मण्डीबाट लोकसभा सदस्य निर्वाचित

काठमाडौँ — बलिउड कलाकार  कंगना रनौत भारतीय लोकसभा सदस्यमा निर्वाचित भएकी छिन् । भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी कंगनाले कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराउँदै हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट चुनाव जितेकी हुन् । 

कंगना रनौत हिमाचलको मण्डीबाट लोकसभा सदस्य निर्वाचित

भारतीय निर्वाचन आयोगका अनुसार कंगनाले ७४ हजार ७ सय ५५ मतको अन्तरले सिंहलाई हराएकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले ४ लाख ६२ हजार २ सय ६७ मत पाए । यसअघि यस क्षेत्रबाट सन् २०१९ मा भाजपा उम्मेदवार रामस्वरूप शर्माले चुनाव जितेका थिए ।

कंगना केही वर्षदेखि विवाद र चर्चामा रहँदै आएकी छिन् । उनले महाराष्ट्रमा तत्कालीन शिव सेना र तत्कालीन मुख्यमन्त्री उद्धव ठाकरेविरुद्ध विवादित टिप्पणी गरेकी थिइन् । त्यस्तै सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा पनि उनले महाराष्ट्र सरकारलाई निशाना साधेकी थिइन् । त्यति मात्र होइन उनले खुलेरै भाजपा नेतृत्वको सरकारको प्रशंसा गर्न थालिन् । केही समयमा उनलाई सरकारले 'वाई प्लस' सुरक्षासमेत दियो । त्यतिबेलै यो अनुमान गरिएको थियो, 'छिट्टै भाजपाले कंगनालाई राज्यसभा वा लोकसभा सांसद बनाउँछ ।'

कंगना कहिले झगडा त कहिले अब्बल अभिनयले बलिउडमा चर्चामा आइरहने कलाकार हुन् । सन् २००६ मा अनुराग बसुनिर्देशित 'ग्यांग्स्टर' चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । पहिलो फिल्मको अभिनयले नै उनले प्रशंसा बटुल्न सफल भइन् । उनले यस फिल्मबाट 'फिल्मफेअर बेस्ट डेब्यु अवार्ड'समेत हात पारिन् । सन् २००७ मा 'वो लम्हे' र 'लाइफ इन अ मेट्रो' ले फिल्मी करियरलाई अगाडि बढाए पनि सन् २००८ को 'फेसन' ले कंगनालाई थप उचाइमा पुर्‍यायो ।

फेसन-दुनियाँको कहानी समेटिएको चलचित्रका निर्देशक मधुर भण्डारकर थिए भने प्रमुख भूमिकामा थिइन् प्रियंका चोपडा । कंगनाले उक्त फिल्मबाट सहकलाकारका लागि राष्ट्रिय पुरस्कारसमेत पाइन् । त्यसपछि उनले फिल्मी करियरमा पछाडि फर्केर हेर्नु परेन । सन् २०११ मा आएको 'तन्नु वेड्स मनु' का लागि उनले सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाइन् ।

प्रकाशित : जेष्ठ २२, २०८१ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x