‘कंगारू’ मा जितु

असार ३, २०८१

कान्तिपुर संवाददाता

Win in 'Kangaroo'

काठमाडौँ — राजीव गुरुङ (दीपक मनाङ्गे) को प्रस्तुतिमा तयार हुने फिल्म ‘कंगारु’ मा हास्यकलाकार जितु नेपाल अनुबन्धित भएका छन् । सम्राट बस्नेतको निर्देशनमा बन्ने फिल्मका लागि जितुसँग निर्माण सम्झौता गरेको हो । फिल्ममा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् । 

सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गर्न लागिएको फिल्ममा केही फरक कथा पस्कने प्रयासमा रहेको निर्देशक बस्नेतले बताए । ‘स्क्रिप्ट फाइनल गर्न मात्र दुई वर्ष लाग्यो । हामीले केही फरक कथा भन्न लागेका छौं । यस पटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउनुहुनेछ,’ उनले भने । फिल्मको छायांकन अस्ट्रेलियाका सिड्नी, न्युकासल, क्यानबेरालगायत क्षेत्रमा गरिने उनले बताए । बस्नेतको निर्देशनमा यसअघि ‘लाखे’ फिल्म निर्माण भइसकेको छ । 

सीमा गुरुङको कथामा बन्ने फिल्मको छायांकन सुसन प्रजापतिले गर्दै छन् । फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटी प्रोडक्सन प्रालिको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ ‘डीबी’ र मनोज भण्डारी ‘म्याक्स’ निर्माता हुन् । अन्जन दुरा र लक्ष्मी राई सहनिर्मातामा छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully