कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५
राष्ट्रपतिको युरोप भ्रमण

जलवायु न्याय, युक्रेनी सेनाको कब्जामा रहेका नेपाली र द्विपक्षीय सम्बन्ध विस्तार

काठमाडौँ — जलवायु परिवर्तनमार्फत उब्जेको जलवायु न्याय, रुसी सेनामा भर्ती भई युक्रेनी सेनाको कब्जामा रहेका ५ नेपाली तथा स्वीटजरल्याण्ड र जर्मनीसँग द्विपक्षीय सम्बन्ध विस्तारका विषयलाई केन्द्रित गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको साताव्यापी युरोप भ्रमण बुधबार सकिएको छ ।

जलवायु न्याय, युक्रेनी सेनाको कब्जामा रहेका नेपाली र द्विपक्षीय सम्बन्ध विस्तार

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औं अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन नेपालजस्ता अति कम विकसित पर्वतीय मुलुकहरूको प्रथामिकतालाई केन्द्रमा राखेका थिए ।

राष्ट्रपति पौडेलले भ्रमणमा जलवायु परिवर्तन कारणले परेका प्रभाव र यसको न्यूनीकरणको लागि चाल्नु पर्ने कदमको बारेमा अन्तर्राष्ट्रिय समुदाय सामु आवाज उठाएका हुन् ।

‘खासगरी सम्मानीय राष्ट्रपति पौडेलले सामाजिक न्यायका लागि विश्वव्यपायी गठबन्धन सम्वन्धी अन्तराष्ट्रिय श्रम संगठनको उद्घाटन सत्रमा मुख्य वक्ताको रुपमा व्यक्त विचार, जर्मनीमा वैज्ञानिकहरूसँग भएका छलफल र उक्त छलफलपछि जर्मन राष्ट्रपति फ्रांक वाल्टर स्टाइनमेयरले दुईपक्षीय वार्तामा जलवायु परिवर्तनको असर न्यूनीकरणका सम्बन्धमा नेपालप्रति देखाएको सद्भावले यो विषय स्थापित भएको छ,’ भ्रमण दलका सदस्य तथा राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

उनका अनुसार जलवायुसम्बन्धी जर्मनीका विभिन्न अनुसन्धान केन्द्रहरूको अवलोकनका क्रममा राष्ट्रपतिले त्यहाँका वैज्ञानिकहरूसँगको छलफलमा उनीहरुले गरेको अहिलेसम्मको अनुसन्धानको प्रशंसा गर्दै अब जलवायु परिवर्तनको असर न्यूनीकरणका उपायहरूमा अनुसन्धान केन्द्रित गर्न सुझाव दिए ।

‘उहाँ (राष्ट्रपति) पौडेलले यसका कार्बन उत्सर्जन गर्ने विकसित देशहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि के–के गर्नुपर्छ र मार परेका कम विकासित मुलुकहरूले के के गर्नुपर्छ भन्ने सुझाव पनि विश्वजगतलाई दिन आग्रह गर्नुभएको थियो,’ पोखरेलले भने,‘जलवायु परिवर्तनका सम्बन्धमा तपाईहरूले हालसम्म गरेको अनुसन्धान प्रशंसनीय छ । तर अब अनुसन्धानलाई कसरी जलवायु परिवर्तनको असरबाट जोगाउने भन्नेमा केन्द्रित गराउनुपर्छ भन्ने मलाई लाग्छ । साथै तपाईहरूले यसका लागि कार्बन उत्सर्जन गर्ने विकसित देशहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि के–के गर्नुपर्छ र मार परेका कम विकासित मुलुकहरूले के के गर्नुपर्छ भन्ने सुझाव पनि विश्वजगतलाई दिनुपर्छ ।’

त्यसपछि भएको दुईपक्षीय वार्तामा जर्मनीका राष्ट्रपति स्टाइनमेयरले वैज्ञानिकहरूसँग राष्ट्रपति पौडेलले व्यक्त गरेका विचार र सुझावको प्रशंसा गरे । साथै, उनले नेपालजस्तो पर्वतीय मुलुकप्रति आफूहरूको सहानुभूति रहेको र आगामी दिनमा नेपाललाई हरतरहले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पनि जनाएको पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति स्टाइनमेयरको नेपालको प्राथमिकताप्रतिको चासोपछि कृषि क्रान्ति, जलश्रोत उपयोग र पर्यटनको विकासमा लगानीको अपेक्षा अभिव्यक्त गरेका थिए । जर्मनीका राष्ट्रपति स्टाइनमेयरले नेपाललाई हरतरहले सहयोग विश्वास दिलाएका थिए ।

साथै, जर्मनीका राष्ट्रपति स्टाइनमेयरसँगको भेटवार्तामा राष्ट्रपति पौडेलले फसाइएर युक्रेनको सैन्य हिरासतमा पुगेका रुसी सेनामा भर्तीका ६ जना नेपालीलाई रिहाइ तथा स्वदेश फिर्ताका लागि सहजीकरण गरिदिन जर्मनीसँग आग्रह गरेका थिए । रुस–युक्रेन युद्धमा नेटो सदस्य राष्ट्र जर्मनी यूरोपको शक्तिशाली र रणनीतिक हिसाबले महत्वपूर्ण मुलुक हो ।

नेपाल सरकारले जर्मनीमा रहेको नेपाली दूतावासमार्फत युक्रेनी सेनाको कब्जामा रहेको नेपालीलाई छुटाउनको लागि पहल गरिरहेको अवस्थामा राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति स्टाइनमेयरलाई नै सहयोगको लागि आग्रह गरेका हुन् । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मर्ने नेपालीहरुको संख्या २५ पुगिसकेको छ भने कति नेपाली युक्रेनी सेनामा भर्ती भएका छन्, नेपालीहरुलाई नै थाहा छैन ।

राष्ट्रपति पौडेलको युरोप भ्रमण उपलब्धिमूलक रहेको परराष्ट्र मामिला सल्लाहकार सुरेशराज चालिसेले बताए । ‘यो भ्रमणले बदलिँदो परिवेशमा नेपालको सम्बन्ध विश्वस्तरमा विस्तार र सुदृढ गर्न महत्त्वपूर्ण सन्देश प्रवाह गरेको छ,’ उनले भने, ‘लामो समयपछि युरोपका प्रभावशाली मुलुकका राष्ट्रप्रमुखस्तरमा भएको यो भेट ऐतिहासिक पनि छ ।’

जेनेभामा राष्ट्रपति पौडेलले श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल पनि गरेका थिए । ‘विकासशील मुलुकका युवाहरू कामको खोजीमा श्रम गन्तव्य मुलुकमा जाने क्रम बढ्दो छ,’ उनको भनाइ थियो, ‘यस तथ्यलाई मध्यनजर गर्दै विश्वका सबै मुलुकलाई म अपिल गर्न चाहन्छु कि वैदेशिक रोजगारीमा गएका श्रमिकको कामको कदर गर्दै उनीहरूलाई स्वदेशी कामदारसरह व्यवहार गरियोस् ।’

साथै, राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति स्टाइनमेयर र स्विट्जरल्यान्डका राष्ट्रपति भियोला एमहर्डसँग दुई देशको सम्बन्ध, आपसी सहयोग र सम्बन्ध विस्तारका पक्षमा केन्द्रित रहेर भेटवार्ता गरेका थिए । साथै, राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोबीच पनि जेनेभामा शिष्टाचार भेट भयो ।

जसमा श्रम समस्याका सम्बन्धमा कुराकानी भएको थियो । स्विट्जरल्यान्डका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्वीटजरल्याण्डका राष्ट्रपतिको भेट भएको र यसले दुवै देशको सम्बन्ध अझ सुदृढ गराएको बताए । जर्मनीका राष्ट्रपति स्टाइनमायरसँग भेटवार्तामा राष्ट्रपति पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग आग्रह पनि गरेका थिए ।

जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सेवा सुरु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेको परराष्ट्र सचिव सेवा लम्सालले बताइन् ।

‘जर्मनीका महामहिम राष्ट्रपतिज्यूलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा गर्नुभयो । जर्मनीमा भएको भेटमा लुफ्थान्सा एयरलाइन्सको सेवा सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न पनि अनुरोध गर्नुभएको छ,’ उनले भनिन्, ‘यसले द्विपक्षीय सम्बन्ध सुदृढ र मजबुत बनाउन थप मद्दत पुगेको छ ।’

जर्मन समकक्षी स्टाइनमायरसँगको भेटमा विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यावसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मनी सम्बन्धका सम्पूर्ण पक्षमा छलफल भएको पनि परराष्ट्र सचिव लम्सालले बताइन् ।

प्रकाशित : असार ६, २०८१ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×