कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

स्याङ्जालाई गण्डकी प्रदेश पुरुष टी-२० क्रिकेटको उपाधि 

पोखरा — घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टी–२० क्रिकेटको उपाधि स्याङ्जाले जितेको छ ।

स्याङ्जालाई गण्डकी प्रदेश पुरुष टी-२० क्रिकेटको उपाधि 

पोखरा रंगशालामा बिहीबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्कीले १९.३ ओभरमा सबै १० विकेट गुमाउँदै १ सय ७ रन मात्रै जोड्न सक्यो । जवाफी ब्याटिङमा उत्रिएको स्याङ्जाले ३९ बल बाँकी छँदै ४ विकेटको क्षतिमा १ सय ११ रन बनाउँदै उपाधि जितेको हो ।

उपाधिसँगै स्याङ्जाले १ लाख र उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । खेलमा कास्कीको पारीको सुरुआत खासै जम्न सकेन । कास्कीका भरपर्दो मानिएका अर्जुन कुमाल ३ रन जोडेर अंकित न्यौपानेको बलमा बोल्ड हुन पुगे भने सिब्रिन श्रेष्ठले १६ बलमा १८ रन बनाए । उनलाई करण पंगेनीले रन आउट गरे ।

मुस्कान थापाले ३ रन बनाउँदै आउट भए भने अभिषेक थापाले २५ बलमा १७ रन बनाए । सोहेल कुँवरले १४, रोहित चन्दले २१ बलमा १४ रन, सुभाष भण्डारीले १२ बलमा ६ रन, विपिन खत्रीले १२ र कृष्ण पौडेलले १३ रनको योगदान दिए ।

स्याङ्जाका लागि अंकित न्यौपानेले ३.४ ओभरमा २२ रन दिएर २ विकेट लिए भने सन्दिप खत्री क्षेत्री, विपिन न्यौपाने, किरण भट्टराई र करण पंगेनीले समान १–१ विकेट लिए । जवाफी ब्याटिङका लागि उत्रिएको स्याङ्जाका ओपनर इश्वर क्षेत्री पहिलो बलमा डक आउट हुँदै पेभिलिएन फर्किए ।

विपिन खत्रीको बलमा विकेट किपर अर्जुन कुमालले क्याच लिँदै सुरुआतमा नै कास्कीले स्याङजालाई दबाबमा राख्ने प्रयास गर्‍यो । स्याङ्जाका लागि करण पंगेनीले नट आउट रहँदै ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए । अनिष ताम्राकारले ७ रन बनाए । उनी सुभाष भण्डारीको बलमा रोहित चन्दबाट क्याच आउट भए ।

स्याङजाका अर्का ब्याट्स्म्यान सन्दिप खत्री क्षेत्रीलाई विपिन खत्रीले बोल्ड गर्नु अघि विस्फोटक पारी खेल्दै २७ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन जोडे । सुजन गौतमले ९ बलमा २ चौका प्रहार गर्दै ९ बलमा १० रन बनाए । उनलाई अभिषेक थापाले बोल्ड गरे भने अंकित न्यौपानेले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन बनाएर नट आउट रहे । खेलमा स्याङ्जाका करण पंगेनी फाइनल खेलको प्लेयर अफ दी म्याच घोषित भए ।

यही असार ३२ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नवलपुरका प्रमिश अर्याल प्लेयर अफ दी टूर्नामेन्ट घोषित हुँदा खेल अविधमा १ सय ५४ रन बनाएका तनहुँका दिनेश बुढा मगर बेस्ट ब्याटर र प्रतियोगितामा सर्वाधिक ९ विकेट लिएका बागलुङका सञ्चार निउरे उत्कृष्ट बलर घोषित भए । उनीहरुले नगदसहित ट्रफी हात पारे ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको सहआयोजनामा सम्पन्न उक्त प्रतियोगिताको समापनका अवसरमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध रहेको बताउँदै यस प्रकारका प्रतियोगिताले खेलाडीमा उत्साह बढाउने जनाए । गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता शनिबारबाट पोखरामा सुरु प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

प्रकाशित : असार ६, २०८१ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×