कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

हिमामा पढाइ मेला [तस्बिरहरु]

डीबी बुढा

जुम्ला — जुम्लाको हिमा गाउॅपालिकामा पढाइ मेला सुरु भएको छ । विद्यार्थीहरुको प्रतिभा, सिर्जना र सीपको उचित पहिचान गर्न आयोजना गरिएको पढाइ मेला प्रतिनिधिसभा सदस्य रुपा बिकले बिहीबार उद्घाटन गरेकी हुन् । दुई दिनसम्म चल्ने मेलामा पालिका भित्रका २३ विद्यालयका विद्यार्थीहरु, शिक्षक र अभिभावकहरु भेला गरिएको छ ।

मेलामा विद्यार्थीहरुले आफ्ना सीप, कला र प्रतिभाको प्रदर्शन गरेका छन् । दबिएर रहेका प्रतिभाहरु उजागार गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने पालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले विश्वास व्यक्त गरे । उनका अनुसार सामुदायिक विद्यालयहरुको अवस्था सुधार गर्न भन्दै दुई वर्षदेखि निरन्तर पढाइ मेला भइरहेको छ । स्थानीय सरकारले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि गरेको पढाइ मेला एक रचनात्मक कार्य भएको उनले बताइन् । शिक्षा सबैको लागि आवश्यक भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्नेमा उनको विश्वास छ ।

संविधानसभा सदस्य ललितजंग शाहीले शिक्षाबिना कुनै पनि विकासको अर्थ नहुने बताए । हिमाले गरेको पढाई मेलाले शैक्षिक सुधार हुने उनको विश्वास थियो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हिमाले सिर्जनात्मक र नयाँ कामको सुरुआत गरेको बताए । उनले भने, ‘पढाइ मेला विद्यार्थीको प्रतिभा पहिचान गर्ने, उनीहरुको ज्ञान सीपको सम्मान गर्ने थलोको रुपमा रहने छ ।’

सामुदायिक विद्यालय सुधार, बालबालिकाको प्रतिभा पहिचान तथा व्यवहारिक शिक्षाका लागि भन्दै हिमाले बर्सेनि पढाइ मेला गर्दै आइरहेको छ । मेलामा शिक्षालाई व्यवहारिक एवम् सीपसँग जोडेर शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने लक्ष्य राखिएको छ ।

हिमा–१ रुपाकोट आधारभूत विद्यालयमा आयोजित मेलामा पालिकाका सात वडाका सबै विद्यालयले विभिन्न शैक्षिक स्टल प्रदर्शन गरेका थिए । स्थानीय स्रोत साधनको प्रयोग गरी निर्माण गरेका कृषि सामग्री, निर्माण, विद्यार्थीहरूले आफै निर्माण गरेका सिर्जनात्मक सामग्रीहरू, कथा, कविता, निबन्ध, गीत, चित्रकला, हस्तकलाका सामग्रीहरु, अन्नबाट नेपालको नक्सा, डोजर, जहाज, हलो जुवा, लगायतका चित्र बनाएका थिए ।

मेलामा अन्तरविद्यालयस्तरीय देउडा, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ, नृत्य, कम्प्युटर टाइपिङ, मेमोरी गेमलगायत प्रतियोगिता र स्टल प्रदर्शनमा उत्कृष्ट आउने विद्यालय र विद्यार्थीलाई पालिकाले पुरस्कारसमेत दिने भएको छ ।दोस्रो पढाई मेलामा अभिभावकको उत्साहजनक सहभागिता देखिएको थियो । निजी विद्यालय प्रतिको आकर्षण घटाउन, सामुदायिक विद्यालयको शिक्षालाई व्यावहारिक एवम् जीवन उपयोगी बनाउनका लागि पढाई मेला गरेको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।

प्रकाशित : असार ६, २०८१ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्