कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जब किरा बनेर मान्छे पर्दाअघि निस्किए...

सुगम दुलाल

काठमाडौँ — ‘जान्दुन, मान्दुन सस्तो अहंकारहरू 
भन्दुन, केही बुझ्दुन, झुत्रा छन् आसहरू । ’ 

‘उबुर उबुर टिक्की’ नाटकमा उच्चारण गरिएका वाक्य यत्ति हुन् भन्दा हुन्छ । एक घण्टा लामो नाटकमा कलाकारहरू केही बोल्दै बोल्दैनन् त ? त्यसो पनि होइन । एक घण्टाभरि कलाकारहरू छटपटाउँछन्, उफ्रन्छन्, कराउँछन् अनि रमाउँछन् तर प्रस्ट केही बोल्दैनन् । बोल्छन् त केवल शरीरका हाउभाउका माध्यमबाट, आवाज निकाल्छन् त केवल हृदयले स्पर्श गर्ने खालका । 

जब किरा बनेर मान्छे पर्दाअघि निस्किए...

टेकुस्थित कौसी थिएटरमा शुक्रबारदेखि मञ्चन हुँदै आएको नाटक ‘उबुर उबुर टिक्की’मा हरेक दृश्यभित्रको कारण भेट्टाउन मुस्किल छ तर मर्म समाउन भने ज्यादै सजिलो छ ।

बंगलादेशमा सम्पन्न दक्षिण एसियाली थिएटर फेस्टिभलमा फागुन २३ गते यो नाटक पहिलो पटक मञ्चन भएको थियो । कमै बोल्न रुचाउने निर्देशक सुदाम सिकेद्वारा निर्देशित यस नाटकमा उनी मात्र नभई अन्य चार कलाकार पनि नबोली अभिनय गर्छन् । नबोली अभिनय गरेको सुन्दा अनौठो र जटिल लागे पनि यो शैली सुदामलाई भने निकै मन पर्ने गरेको छ ।

विगतमा पनि ऐया माया..., लाइक लेट्स अभिनय गरौं..., पाँच... जस्ता शारीरिक हाउभाउले बुझाउने शैलीका नाटक उनकै निर्देशनमा मञ्चन भइसकेका छन् । संवादबाट सिधा अर्थ दिनुभन्दा प्रतीकात्मक रूपले भावना उजागर गर्न खप्पिस सुदामले यस पटक भने कलाकारलाई किरा बनाएर पर्दाअगाडि लिएर आएका छन् । अर्थहीनताभित्र अर्थ फेला पार्ने जिम्मा दर्शकलाई छोड्दिएका छन् ।

उज्यालो पछ्याउँदै दौड्ने किराहरू नाटकभर अस्थिर देखिन्छन् । घरि दायाँ ढल्किन्छन्, घरि बायाँ, घरि एक अर्कामाथि चढ्छन् त घरि एकअर्कालाई टेक्दै अघि बढ्छन् । कहिले साथीजस्ता देखिन्छन् त कहिले शत्रुजस्ता । लड्छन् पनि । ठोकिन्छन् पनि । कहिले आफैंबाट केही फुकाएजस्तो गर्छन् त कहिले केही लगाएजस्तो । तर जे गर्छन्, लाग्छ कि यी ५ फरक किरा नभई एउटै किरा हुन् । ५ फरक जीव नभई एउटै जीव हुन् ।

संगीतसँगको मिठो समन्वय नाटकभर कतै छुट्दैन । कतै लाग्छ कि कलाकारको चालले संगीतलाई दिशा देखाउँदै छ । कतै संगीतको लयले कलाकारलाई डोर्‍याउँदै छ जस्तो पनि लाग्न सक्छ । संगीतमा रहेर नाटकलाई झनै प्रभावकारी बनाउने नरेश गजुरेल नाटकभर कलाकारजस्तै अनेक भावनामा डुबुल्की मारिरहेको देखिन्छन् । हातमा गितार बोकेर व्यस्त रहँदा पनि उनको मुहारले नाटक बोलिरहेझैँ लाग्छ ।

नाटकको सुरुवातदेखि नै किराहरू प्रकाशपछाडि दौडिरहेको देख्दा ती किरा केही कुराको खोजीमा रहेको बुझ्न सकिन्छ । बाटो देखाउने उज्यालो नभएपछि अन्योलमै फसेका किराको आत्मरक्षाको लडाइँ र अस्तित्व खोजीको यात्रा नै नाटकको विषयवस्तु रहेको छ । आकारमा मसिनो देखिने किराहरूको उपस्थितिले कसैलाई फरक नपारे पनि हरेक किराले आफ्नो जीवनको युद्ध जित्नैपर्ने यथार्थ नाटकले देखाएको छ ।

त्यसैले यो नाटक किराजस्ता मान्छेको नाटक हो भन्दा फरक नपर्ला । मानिसको जीवनमा आउने अनेक उतारचढाव र त्यस संघर्षपछिको खुसीलाई नाटकले शारीरिक प्रस्तुतिबाट उजागर गरेको छ । नाटकको अन्त्यमा किराहरूले अनेक अप्ठ्यारा पन्छाइ रमाउँदै गरेको दृश्यले जीवनलाई उत्सवका रूपमा लिनु नै अर्थपूर्ण रहने निष्कर्ष दिएको ठम्याउन सकिन्छ ।

सामग्रीका नाममा नाटकभरि नै केवल एक सेतो बोर्ड मात्र देखिन्छ । हरेक कलाकारको हातमा रहने त्यो सेतो बोर्डले जीवनमा अनेक रंग भरिनुअघिको शून्यतालाई झल्काएको हुन सक्छ । त्यस्तै सेतो बोर्डको सहायताले पछि प्रोजेक्टरमार्फत दृश्य प्रतिविम्बित पनि हुने भएकाले सेतो बोर्डको विम्बलाई प्रविधिको सदुपयोग वा जीवनको खालीपन– जे मान्दा पनि हुन्छ । यस नाटकमा कुनै पनि तर्क वा विचार सत्य नहुने भएकाले कसैको बुझाइ पनि गलत ठहरिँदैन । पृथकता अपनाएको यस नाटकको बलियो पक्ष नै यही हो कि यस नाटकमा सबैले आ–आफ्नो तरिकाले अनुभव गर्न पाउँछन् ।

नाटकले सबै प्रकारका दर्शकलाई एक घण्टाको समय बाँधेर राख्न सक्छ वा सक्दैन, त्यो भने समयले बताउँदै जाला तर ‘उबुर उबुर टिक्की’ले नेपाली थिएटरमा भने नौलो शैलीको आकर्षण दर्शकमाझ फैलाउन पक्कै मद्दत गर्नेछ । नाटक चैत १८ सम्म मञ्चन हुनेछ । (प्रशिक्षार्थी)

प्रकाशित : चैत्र ३, २०८० १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×