कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गुरुदेवलाई फरमाइसको ओइरो

गुरुदेव कामत शास्त्रीय गीत–संगीतका तराई–मधेसका एक्ला साधक हुन् । उनको आलाप र सुरतालले शुक्रबार साँझ जनकपुर गुञ्जायमान बन्यो 
अजित तिवारी

जनकपुर — ‘मधुवन पनि नयाँ–नयाँ, मधुमास पनि नयाँ, 

गुरुदेवलाई फरमाइसको ओइरो

भर्खर फुलेको फूलको वासना पनि नयाँ–नयाँ...’

शास्त्रीय गीत–संगीतका साधक गुरुदेव कामतले जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको सभागृहमा शुक्रबार साँझ यो गीत पस्कनुअघि उनलाई दर्शकदीर्घाबाट स्वर सम्राट् नारायण गोपालको कुनै एक गीत गाइदिन फरमाइस गरियो । एक जना महिलाले गरेको फरमाइसले उनी अन्योलमा परे । दशकअघि काठमाडौंको एक गजल रेस्टुराँमा एकल प्रस्तुति दिइरहेका गुरुदेवलाई यसैगरी नै नारायण गोपालको गीत ‘मेरो बेहोसी आज, मेरो लागि पर्दा भो, छोपिए पीर सबै...’ गाइदिन आग्रह गरिएको थियो ।

‘त्यतिबेला फरमाइस गरिएको एउटा गीत गाउँदा पाँच सय रुपैयाँ पाइन्थ्यो । गोजी पूरै भरिएको थियो,’ गुरुदेव कामतले ठट्टा गर्दै भने, ‘मैले हारमोनियम बजाउँदै बेजोड स्वादले नारायण गोपालजीको गीत गाएँ । सबैले तारिफमा थपडी पनि बजाए । तर, फरमाइस गर्नेलाई चित्त बुझेको थिएन । उनले स्वर त राम्रै छ तपाईंको तर गीत नारायण गोपालले गाएजस्तो भएन भने । त्यही दिनदेखि मैले अरूले गाएको नेपाली गीत गाउँदिनँ । मेरै थुप्रै नेपाली गीत छन् ।’ यति भन्दै काठमाडौंको गजल रेस्टुराँमा जस्तै गुरुदेवले जनकपुरमा पनि हारमोनियममा औंला कुदाउँदै ‘मधुवन पनि नयाँ–नयाँ, मधुमास पनि नयाँ...’ गीत गाए ।

मधेस प्रज्ञा प्रतिष्ठानले शास्त्रीय गीत–संगीत विद्यामा तराई–मधेसका एक्ला साधक गुरुदेवको एकल प्रस्तुति आयोजना गरेको थियो । शास्त्रीय संगीतमा कठोर मानिने राग ‘ताना नाना तुम तुम...’ बाट आफ्नो प्रस्तुति थालेका गुरुदेवले चार जना वाद्यवाधकको साथमा एक दर्जन बढी गीत–संगीत पस्केर जनकपुरमा शास्त्रीय गीत–संगीतलाई गुञ्जायमान बनाए । ६८ वर्षीय गुरुदेव मञ्चमा राखिएको मोटो डस्नामा पलेटी कसेपछि करिब अढाई घण्टाको प्रस्तुतिमा जमिरहे । एकल प्रस्तुति थाल्नुअघि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि ब्रिफिङ गरेका थिए । ‘डेढ महिनादेखि म पूरै बिरामी थिएँ । एक हप्ता भयो तंग्रिएको । जनकपुर आउनु थियो । माता जानकीले बचाएजस्तो लाग्छ,’ गुरुदेवले भने, ‘शास्त्रीय संगीत सबै संगीतको मूल हो । व्याकरण भने पनि हुन्छ । शास्त्रीय संगीतको सुरुवात मनुष्यको जीवनसँग जोडिएको छ ।’ तर, शास्त्रीय संगीतको सन्ध्याकालीन राग ‘साँझ भयो...’ गीतमा लामो–लामो सुर तान्न थालेपछि भने उनी भर्खर तंग्रिएको लाग्दैन्थ्यो ।

शास्त्रीय संगीतकै अर्को कठोर विद्या ठुमरीको ‘कही बताबे झुटी बतिया, हम से काहे बताबी झुटी बतिया’ र भजन ‘भयो रे मन राम नाम सुखनाय’ गाएपछि त गुरुदेवलाई दर्शकदीर्घाबाट फरमाइसको ओइरो नै लाग्यो । राष्ट्रिय सभाका पूर्वसांसद एवं तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल त दर्शकदीर्घाबाट उठेर मञ्चनजिक पुगेर गुरुदेवलाई ‘लगा चुनरी मे दाग, छुपाउ कैसे–घर जाउ कैसे...’ गाउन आग्रह गरे । ‘लगा चुनरी मे दाग...’ गाएर दर्शकलाई उचालेका गुरुदेवले त्यसपछि ‘जय–जय मैथिली, जय मिथिला...’ गीत गाए ।

दर्शकदीर्घामा रहेकी प्रदेश सांसद ललिता विद्रोहीले गुरुदेवलाई ‘वित–वित पर लक्ष्मण रेखा, डेंग–डेंग पर आइग...’ गाउन फरमाइस गरिन् । दर्शकदीर्घाबाट लगातार फरमाइस हुन थालेपछि गुरुदेवले मुस्कुराउँदै भने, ‘अब म भाग्छु ।’ नेपाली, मैथिली र हिन्दीका दर्जन बढी गीत गाएका गुरुदेवले भने एकल प्रस्तुतिको बिट भने मन्ना डेको चर्चित गीत ‘पुछो न कैसे मैने रन बिताइ, एक पल जैसे, एक जुग बिताई...’ बाट मारे ।

मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोश कापडीले शास्त्रीय संगीत थोरैका लागि रुचिकर रहे पनि तराई–मधेसमा लुप्त हुन लागेको यो विद्या बचाउन गुरुदेवको एकल प्रस्तुति आयोजना गरिएको बताए । ‘गुरुदेव तराई–मधेसका एक्ला शास्त्रीय साधन हुन् । उनी पछि कोही देखापरेका छैनन्,’ कापडीले भने, ‘शास्त्रीय संगीतलाई स्नेह, प्रेम र आशीर्वादको खाँचो छ ।’

प्रकाशित : माघ २७, २०८० २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×