कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रोगले संकटमा पर्‍यो मौरीपालन

मौरी घारदेखि निस्कने, उड्न नसक्ने र मर्ने गरेका छन् तर लामो समय बित्दासमेत रोगको निदान हुन नसक्दा किसान घाटामा
डीबी बुढा

जुम्ला — चन्दननाथ–४ का नारायण चौलागाईंको आँगनमा ५/६ वर्षअघि २५ घार मौरीका थिए । हरेक घारबाट वर्षमा कम्तीमा ५ केजी मह निकाल्दा उनलाई राम्रै आम्दानी हुन्थ्यो । अहिले उनले ११ घार मौरी पालेर एक वर्षमा डेढदेखि २ लाख रुपैयाँसम्म कमाइ गरिरहेका छन् । 

रोगले संकटमा पर्‍यो मौरीपालन

पाँच वर्षयता रोगका कारण ७ घारका मौरी मरे । धमाधम घार रित्ता हुन थालेपछि उनले ७ घार मौरी २० हजार रुपैयाँका दरले बेचे । चन्दननाथ–२ का रामकृष्ण बुढाथापाले मह बेचेरै वार्षिक पाँच लाख रुपैयाँ भित्र्याउँथे ।

१ सय ५० घारसम्म पालेका उनको घरमा अहिले ५ घार मात्रै मौरी छन् । रोगले गर्दा झन्डै आधा जति घारको मौरी नष्ट भएको उनले बताए । ‘धमाधम मर्न थालेपछि रित्तो हुने डरले एक सय घारको मौरी बेचे,’ उनले भने, ‘मौरीपालनमा आकर्षण छ । तर किसानको मनोबल बढाउने काम कसैबाट हुन सकेको छैन ।’ उत्पादन गरेको मह हेर्दा मौरीपालन हौसिए पनि मौरी मरेको देख्दा जागर मर्ने गरेको उनले सुनाए ।

पातारासी–२ का कैलो ऐडी एक सय मौरीघारका मालिक थिए । रोगले झन्डै आधा जति घारका मौरी मरिसके । मह बेचेर वार्षिक ४ देखि ५ लाख कमाइ गर्ने उनले मौरी बचाउन माग गरिरहेका छन् । मौरीमा लागेको रोगको उपचारका लागि घरेलु औषधिदेखि विज्ञहरूको परामर्शसमेत लिए । तर रोग निवारण हुन सकेको छैन । उनीहरूजस्तै जिल्लाका सयौं किसान मौरी मर्ने रोगले मर्कामा परेका छन् ।

मौरी घारदेखि निस्कने, उड्न नसक्ने र मर्ने गरेका छन् । तर लामो समय बित्दासमेत यो रोगको निदान हुन नसक्दा घाटा बेहोर्नुपरेको उनीहरू बताउँछन् । जुम्लामा ‘सेराना सेराना’ जातको मौरीपालन हुने गरेको छ । यो जातको मौरीले चिसो सहन सक्ने, कम रिसाहा र रोग प्रतिरोधात्मक गुण हुने गरे पनि पछिल्ला वर्ष रोगले सखाप भइरहेको स्थानीय किसान नारायण चौलागाईंले जनाए ।

जुम्लाका सबै पालिकाका ६० वटै वडामा मौरीपालन हुने गरेको छ । जुम्लाको मह काठमाडौं, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनलगायत सहरमा लैजाने गरिएको छ । जिल्लाभित्रका कोसेली पसलदेखि आन्तरिक तथा बाह्य पर्यटकले समेत मह किनेर लैजाने गरेका छन् । जंगलमा र अर्गानिक फूल फुल्ने भएकाले यहाँ उत्पादित महमा औषधीय गुण हुने किसान बताउँछन् । मौरीमा देखिएको रोगबारे राष्ट्रिय मौरी विकास केन्द्रमा जानकारी गराएपछि चार वर्षअघि प्राविधिक टोली आएको थियो । ‘मौरी विकास केन्द्रको विज्ञ टोलीले अहिलेसम्म न रिपोर्ट दियो न त कुनै सुझाव नै । उनीहरूको प्रतिवेदन देख्न, सुन्न पाइएको छैन,’ चौलागाईंले भने ।

मौरीपालनबारे जिल्लामा सरकारी तथ्यांक छैन । तर कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेड जुम्लाले भने पटक–पटक किसानलाई तालिम, उपकरण उपलब्ध गराएर मौरी पाल्न उत्साहित बनाइरहेको छ । जिल्लामा अहिले ८ हजार ४ सय मौरी घार छन् । एक घारमा कम्तीमा ६ केजी मह उत्पादन भइरहेको छ । ‘जिल्लाभर वर्षमा ५० हजार केजी हाराहारी मह उत्पादन भइरहेको छ,’ सहकारीका सचिवसमेत रहेका चौलागाईंले भने, ‘प्रतिकिलो २ हजार ५ सय रुपैयाँले बेच्दा बार्षिक १२ करोड रुपैयाँ जिल्ला भित्रिने गरेको छ ।’

सबैभन्दा बढी पातारासी र सबैभन्दा कम तातोपानी र सिँजामा मौरीपालन हुने गरेको छ । सहकारीको तथ्यांकअनुसार पातारासीमा सबैभन्दा बढी १६ सय घार, तिलामा १५ सय, गुठीचौरमा १४ सय, कनकासुन्दरीमा १२ सय, हिमामा ७ सय, चन्दननाथमा १ हजार र तातोपानी र सिँजामा ५ /५ सय घार मौरी पालेका छन् । जिल्ला कृषि विकास कार्यालय, स्याउ सुपरजोन, कर्णाली मौरीपालन सहकारी र किसान बसेर मौरीपालनको भविष्यबारे चिन्तन गर्नुपर्ने किसानले बताएका छन् । मौरीपालनका क्षेत्रमा कुनै पनि कार्यक्रम नहुनु दुःखद् भएको समेत उनीहरूले जनाए ।

चरन क्षेत्रको अभाव, जलवायु परिवर्तनको असर र खेतीपातीमा विषादी प्रयोगले गर्दा मौरीपालनमा समस्या आएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाको भनाइ छ । ‘मौरीमा देखिएको रोग पत्ता लाग्न सकेको त छैन । तर मौरी विकास केन्द्रको टोलीले मानवीय त्रुटिका कारण समस्या आएको बताएको छ,’ उनले भने, ‘प्रतिकूल वर्षा र खडेरीले मौरीपालन घट्दो क्रममा समस्या आइरहेको छ ।

प्रकाशित : श्रावण ७, २०८१ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×