कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

तलबवृद्धि र सेवासुविधाको मागसहित सामसङका कर्मचारी अनिश्चितकालीन हडतालमा 

एजेन्सी

काठमाडौँ — दक्षिण कोरियाको प्रख्यात इलेक्ट्रोनिक कम्पनी, सामसङका हजारौं कर्मचारीहरू थप सुविधा र तलबवृद्धिको माग गर्दै अनिश्चितकालीन हडतालमा उत्रिएका छन् । राष्ट्रिय सामसङ इलेक्ट्रोनिक्स युनियन नामक संस्थाले आफूहरूका माग लामो समयदेखि कम्पनीले नसुनेपछि कडा आन्दोलनमा जान बाध्य भएको जनाएको छ ।

तलबवृद्धि र सेवासुविधाको मागसहित सामसङका कर्मचारी अनिश्चितकालीन हडतालमा 

युनियनमा करिब ३६ हजार ५ सय ७० सदस्य रहेको र यो सामसङको कुल कर्मचारी संख्याको झन्डै २५ प्रतिशत हुने द कोरिया हेराल्डले जनाएको छ ।

सामसङले भने युनियनका सदस्यहरूमध्ये झन्डै ५ हजारले काम छाडेको पुष्टि गर्दै हडतालका कारण कम्पनीको उत्पादनसम्बन्धी कार्यहरूमा कुनै प्रभाव नपरेको प्रतिकृया दिएको छ । युनियनले कम्पनीका गतिविधि र उत्पादनमा प्रभाव परेको र जनवरीयता ५.१ प्रतिशत तलब बढ्नुपर्ने शर्त कम्पनीले सुन्नैपर्ने धारणा राखेको छ ।

'पहिलो चरणको आम हडतालपछि पनि कम्पनीले वार्ता वा सहमतिको कुनै प्रयास गरेन, यसपटक हाम्रो उद्देश्य कम्पनीका गतिविधिमा असर पार्ने मात्रै नभएर हाम्रो अवस्था कति गम्भीर छ भनेर बुझाउने पनि हो,' युनियनकी वरीष्ठ सदस्य पार्क सियोलको भनाइ छ ।

सामसङ इलेक्ट्रोनिक्स दक्षिण कोरियाको सामसङ समूहको एक प्रमुख हिस्सा हो । यो कम्पनी विश्वको सबैभन्दा ठूलो मेमोरी चिप, स्मार्टफोन र टीभी उत्पादक पनि हो । झन्डै २५८ अर्ब अमेरिकी डलरभन्दा बढी वार्षिक आम्दानी गर्ने कम्पनीले सन् २०२३ मा विश्व टीभी बजारको झन्डै ३० प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले सस्ता र महँगा गरेर लगभग एक अर्ब थान मोबाइल फोन उत्पादन गर्ने तथ्यांक सार्वजनिक भएका छन् ।

यस्तै, झन्डै ५०० अर्ब अमेरिकी डलरभन्दा बढीको बजार मूल्यका साथ यो कम्पनी विश्वकै ठूलो मेमोरी चिप निर्माता कम्पनीको रूपमा समेत चिनिन्छ । एसियाकै चौथो ठूलो अर्थतन्त्रको रूपमा रहेको दक्षिण कोरियाकै सबैभन्दा ठूलो कम्पनीमध्ये एक सामसङले अघिल्लो महिना आफ्नो इतिहासकै पहिलो र्‍याली र हडतालको सामना गरेको थियो ।

तलब बढाउनुपर्ने मागसँगै बिदा, बोनस लगायत मुद्दाहरूमा कम्पनी र युनियनबीच विवाद चल्दै आएको छ । कम्पनीमा आक्रामक रणनीतिका साथ युनियन गतिविधि हुन नदिन सामसङले गरेको प्रयास विस्तारै असफल हुँदै गएको देखिन्छ ।

प्रकाशित : असार २६, २०८१ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले 'टिकटक' माथिको प्रतिबन्ध खुल्ला गर्ने तयारी गरेको छ । यसबारे तपाईं के धारणा छ ?

×