कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

चार वर्षभित्र परियोजना सक्ने एमसीए-नेपालको प्रतिबद्धता

चार वर्षभित्र परियोजना सक्ने एमसीए-नेपालको प्रतिबद्धता

Highlights

  • विद्युत् प्रसारण आयोजना, तीन सबस्टेसनका लागि ठेक्का सम्झौता, सडक मर्मतसम्भार, आयोजना तथा निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापनामा उल्लेख्य प्रगति भएको दाबी 

काठमाडौँ — मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए–नेपाल) ले बुधबार परियोजनाको एकवर्षे प्रगति सार्वजनिक गरेको छ । तोकिएकै समयमा परियोजना सक्ने पनि एमसीए नेपालले प्रस्ट्याएको छ ।

एमसीए–नेपाल र अमेरिकी दूतावासले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा हालसम्म विद्युत् प्रसारण आयोजना, तीन सबस्टेसनका लागि ठेक्का सम्झौता, सडक मर्मतसम्भार, आयोजना तथा निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापनामा भएका प्रगतिबारे जानकारी दिइयो ।

ऊर्जा र सडक पूर्वाधारका लागि अमेरिकी सरकारबाट प्राप्त ५०० मिलियन अनुदान सम्झौताअनुसार उक्त परियोजना अघि बढाइएको हो । नेपालको संसद्बाट एमसीसी सम्झौता अनुमोदन भएर कार्यान्वयन अघि बढाउने क्रममा सन् २०२३ को अगस्ट ३० बाट पाँचवर्षे कार्यकाल सुरु भएको हो ।

विद्युत् प्रसारण आयोजनाअन्तर्गत १८ किमि लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि ०८१ साउनमा ठेकेदार छनोट भइसकेको एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जनाए । विद्युत् प्रसारण लाइनको ३१५ किमि लामो प्रसारण लाइन सञ्जालबाट १८ किमि लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकतासाथ अगाडि बढाउने काम भएको उनको भनाइ छ । यसले सीमापार नेपाल र भारतबीचको ऊर्जा व्यापारलाई समेत सहज बनाउने काम गर्छ ।

२९७ किमि प्रसारण लाइनका लागि यस वर्ष फेरि बोलपत्र आह्वान गरिने पनि विष्टले प्रस्ट्याए । तीन सबस्टेसनका लागि ठेक्का सम्झौता भइसकेको उनले बताए । नवलपरासी पश्चिममा नयाँ बुटवल सबस्टेसन ०८१ साल वैशाखमा ३ करोड ५५ लाख १० हजार डलरमा सम्झौता, नुवाकोटको रातमाटे सबस्टेसन ०८१ असारमा ५ करोड १६ लाख डलरमा सम्झौता भएको र तनहुँको नयाँ दमौली सबस्टेसन ०८१ साउनमा ३ करोड ८८ लाख ९० हजार डलरमा सम्झौता भइसकेका छन् ।

परियोजनाका निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापना गर्न १० जिल्लामा ८५६ वटा प्रसारण टावरका जग निर्माणका लागि जग्गा प्राप्तिमा प्रगति भएको विष्टले जनाए । दुईवर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत २७० जनालाई तालिम प्रदान गरिएको उनको भनाइ छ । धादिङ, मकवानपुर र नवलपरासी पश्चिम गरी तीन जिल्लामा जग्गाको मुआब्जा निर्धारण भइसकेको उनले उल्लेख गरे । नौ जिल्लामा पहिलो चरणको रूख गणना कार्य सम्पन्न भइसकेको पनि उनले जनाए ।

सडक मर्मतसम्भार आयोजनातर्फ सडक विभागलाई प्रयोगशाखा स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिमलगायतका सहयोग प्रदान गरिएको विष्ट बताउँछन् । धानखोलादेखि लमहीसम्म फुल डेथ्प रिक्लेमेसन (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किमि लामो सडक खण्ड स्वीकृत भएको र यसै वर्ष बोलपत्र आह्वान गरिने प्रस्ट्याए । आवधिक मर्मतसम्भारका लागि दुइटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत गरिएको पनि विष्टको भनाइ छ ।

एमसीए–नेपालले तोकिएको समयभित्रै काम गर्ने गरी काम भइरहेको विष्टले जनाए । ‘जुन हिसाबमा हाम्रो काम भइरहेको छ, हामी समय र अझै अगाडि नै काम सक्ने योजनामा छौं,’ विष्टले भने, ‘हामीलाई थाहा छ अगाडि चुनौती छन् । यो ठूलो परियोजना पनि हो । मुअब्जाको काम सकिएपछि तोकिएकै समयभन्दा अगाडि सकिन्छ भन्ने सोचेका छौं ।’

अमेरिकाको यस परियोजनाले अहिले विभिन्न ४५ मुलुकमा परियोजना निर्माण गरिरहेको एमसीसीकी रेसिटेन्ट कन्ट्री डिरेक्टर डियान एल फान्सिस्कोले बताइन् । ४५ मुलुकमा १५ बिलियन डलर अनुदान रकम १६० मिलियन जनताको जीवनस्तर सुधार गर्न खर्च गरिएको उनको भनाइ छ । ‘हामी नेपालमा सफलताको कथा भन्न सही बाटोमा हिँडिरहेका छौं,’ उनले भनिन् ।

एमसीसी परियोजनाको काम नेपाल र नेपालीको फाइदाका लागि भएको उनले जनाइन् । ‘सबै नेपालीका लागि ऊर्जा उपलब्ध गराउन तथा क्षेत्रीय रुपमा क्लिन इनर्जीलाई समेत प्रवर्द्धन गर्न यो परियोजनाले सहयोग पुर्‍याउँछ,’ उनले भनिन् । परियोजनाको काम अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय हुने पनि उनले बताइन् ।

एमसीसी परियोजनामा अमेरिका र नेपालको सहकार्यमा भएको र यो परियोजनाको काम समयमै सकिने नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले विश्वास व्यक्त गरे । ‘हामीले कोभिड–१९ र भूकम्पजस्ता विषयलाई पनि सम्झनुपर्छ । तर हामी तोकिएकै समयमा परियोजना सक्छौं,’ उनले भने ।

प्रकाशित : भाद्र ६, २०८१ ०६:०३
x
×