कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

दमौलीमा खुल्यो तीन तारे स्तरको होटल

भाद्र २७, २०८१
दमौलीमा खुल्यो तीन तारे स्तरको होटल

तनहुँ — सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा दमौलीमा तीन तारेस्तरको सिद्धार्थ होटल सञ्चालनमा आएको छ । सुविधा सम्पन्न होटल औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो ।

सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँच तारेस्तरमा सिद्धार्थ भिलासा, चार तारेस्तरमा सिद्धार्थ बैभव र तीन तारेमा सिद्धार्थ बाटिका ब्राण्डका होटल सञ्चालनमा छन् । जसमध्ये दमौलीको होटल सिद्धार्थ बाटिका अन्तर्गतको ब्राण्डमा पर्छ ।

होटल र दुई वटा फिल्म हल रहेको यो परियोजनामा करिब एक अर्ब रुपैयाँ लगानी भएको ऐपेक्स हस्पिटालिटीका कार्यकारी प्रमुख सुशील न्यौपानेले बताए । होटलको निर्माण एपेक्स हस्टिपालिटीले र व्यवस्थापन सिद्धार्थ ग्रुपले गरेको हो । उनले भने, ‘नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रिय स्तरको सेवा, विश्वसनीयता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापनका लागि सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको हो ।’

होटलमा सुविधासम्पन्न ३४ कोठा छन् । त्यसबाहेक करिब १ सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल रहेको सिद्धार्थ हस्पिटालिटीका कार्यकारी प्रमुख कृष्ण न्यौपानेले बताए । तीन महिनाको अध्ययनपश्चात् होटल स्थापना गरिएको न्यौपानेले बताए ।

‘यहाँ स्तरीय होटलको आवश्यकता महशुस गरी सिद्धार्थ होटल सञ्चालनमा ल्याइएको छ । होटलमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनेछौ’, उनले भने, ‘पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कूल २ हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् भने दमौलीको होटलमा ४० जनाले रोजगारी पाएका छन् ।’

नेपालको पर्यटन क्षेत्रका बहुचर्चित गन्तव्य पोखरा र बन्दीपुरको बीचमा रहेको दमौली विविधतापूर्ण र प्रचुर पर्यटकीय सम्भावना भएको ठाउँ हो । महर्षी वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुङकोट डाँडा, मत्स्यकन्यालाई पूजिने छाब्दिबाराही र दमौलीको शीरमा अवस्थित तनहुँ कालिकासँगै आदिकवि भानुभक्तले प्रेरणा पाएको घाँसीकुवा जस्ता ऐतिहासिक र पुरातात्विक महत्वका पर्यटकीय गन्तव्यमा आउने पर्यटकसमेतलाई स्तरीय सुविधा प्रदान गर्न होटल सञ्चालनमा ल्याइएको बताइएको छ ।

पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेन चोकमा रहेको होटल काठमाडाौबाट एक सय ५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ । होटलमा न्यूनतम ५ हजारदेखि १५ हजार रुपैयाँसम्मका कोठा छन् । उद्घाटनको अवसरमा कोठामा ३० प्रतिशत र खानामा २० प्रतिशट छुटको व्यवस्था गरिएको जनाइएको छ ।

होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफे छन् । होटल रहेको भवनमा क्यूएफएक्स सिनेमा हल समेत भएकाले आगन्तुकले मनोरञ्जन र आतिथ्य एकै स्थानमा पाउने एपेक्स हस्पिटालिटीले जनाएको छ ।

प्रकाशित : भाद्र २७, २०८१ १८:१८
×