कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

कमला पुल आन्दोलन थप चर्किँदै, जनकपुरमा अनशन, सिरहामा प्रदर्शन

भाद्र ६, २०८१
कमला पुल आन्दोलन थप चर्किँदै, जनकपुरमा अनशन, सिरहामा प्रदर्शन

सिरहा — हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमास्थित कमला नदीमा पुल बनाउन माग गर्दै एउटा समूह जनकपुरमा आमरण अनशनमा छन् ।

पुलको माग गर्दै सिरहाका जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी र अगुवाहरू गत मंगलबारदेखि जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि अनशनरत छन् ।

जनकपुरमा जारी आमरण अनशनको समर्थनमा सिरहामा भने राजमार्गमा प्रदर्शन भइरहेको छ । स्थानीय युवाहरू सदरमुकाममा बुधबारदेखि नै प्रदर्शन गरिरहेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतीशकुमार सिंहको पुतला दहन गरेका प्रदर्शनकारीले आज विहानैदेखि विरोध प्रर्दशन गर्दै नाराबाजी गरिरहेका छन् ।

उनीहरूले यसलाई कमला पुलका लागि वारपारको संघर्ष भनेका छन् । 'यो पुलका लागि विगतमा दर्जनौं आन्दोलन भए,' स्थानीय सुनिल यादवले भने, 'तर, राज्यको रबैयाले हामी यसपालि वारपारको लडाइँमा छौं ।'

पुल निर्माणको सुनिश्चितता नभएसम्म यसपालिको आन्दोलन नरोकिने संघर्ष समितिका संयोजक प्रवीण यादवको भनाइ छ । कमला नदीमा निर्माण भएको पुल गलत डिजाइन र कमसल कामका कारण सञ्चालनमा नआउँदै भासिएको भन्दै नयाँ पुल बनाउनुपर्ने उनीहरूको माग छ ।

भोकप्यासै अनशनरत आन्दोलनकारीहरू बिरामी पनि परिरहेका उनले बताए । उनीहरूमध्ये कतिपयलाई अहिले स्लाइन चढिरहेको संयोजक यादवले जानकारी दिए ।

तर, मुख्यमन्त्री सिंहले भने आफू कमला पुलका लागि चिन्तित हुँदाहुँदै पनि यसरी आन्दोलन हुनुले आफूलाई दुखित तुल्याएको उनको भनाइ छ । 'म आफैं यो पुलका लागि चिन्तित छु,' उनले कान्तिपुरसित भने, 'यसका लागि पहल भइरहेको छ ।'

कमला पुल निर्माणको जिम्मा संघीय सरकारको रहेको र यसका लागि आफूले संघीय भौतिक पूर्वाधार र प्रधानमन्त्री कार्यालयमा पत्र पनि पठाइसकेको उनले जानकारी दिएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई संघर्ष समितिले असार २७ गते अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रमा संघर्ष समितिले सात दिनभित्र माग कार्यान्वयन नभए मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन गर्ने चेतावनी दिएका थिए ।

कमला नदीमा बाढीले भासिएको पुलको शिलान्यास २०६८ साल मंसिरमा भएको थियो । तीन वर्षमा निर्माण सम्पन्न हुने समझौता भए पनि १० वर्षपछि निर्माण नसक्दै २०७८ असार १७ गते निर्माणाधीन पुल भासिएको थियो ।

प्रकाशित : भाद्र ६, २०८१ १३:०२
x
×