कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

नगरसभा नहुँदा राजविराज नगरपालिकाको सेवा प्रभावित

भाद्र २६, २०८१
नगरसभा नहुँदा राजविराज नगरपालिकाको सेवा प्रभावित

Highlights

  • कर्मचारीले तलब खान पाएका छैनन् भने नगर क्षेत्रको सरसफाईदेखि शव व्यवस्थापनमा समेत समस्या

राजविराज — जनप्रतिनिधिहरूबीचको दाउपेचका कारण सप्तरीको राजविराज नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नगरसभा अहिलेसम्म गर्न सकेको छैन । नयाँ आर्थिक वर्षको दुई महिना बितिसक्दा समेत नगरसभा गर्नेबारे कुनै सुरसार छैन । जसले गर्दा नगरपालिकाको अत्यावश्यक सेवासमेत प्रभावित भएको छ ।

नगरसभा गर्नुपूर्व गरिने बस्ती भेला, वडा भेला, नगरस्तरीय भेला, योजना पहिचान, योजना छनोट, गुरु योजना निर्माण लगायतका कुनैपनि कार्य भएका छैनन् ।

प्रमुख प्रसासकीय अधिकृत विष्णुप्रसाद गुरुङले नगरसभा हुन नसक्दा कमचारीले तलबभत्ता समेत पाउन नसकेको बताए । उनले नगरसभा हुन नसकेकै कारण सरसफाइ कार्य प्रभावित भएको र सरसफाइमा खटिएका स्वीपरहरु काममा आउन छोडने स्थिति सिर्जना भएको बताए ।

नगरक्षेत्रभित्र मृत्यु भएकालाई सद्‌गतका लागि समेत नगरपालिकाले ट्र्याक्टर उपलब्ध गराउँदै आएकोमा नगरसभा हुन नसक्दा ट्र्याक्टरमा इन्धन हाल्न सक्ने अवस्था नरहेको कारणले शव व्यवस्थापनमा समेत समस्या आएको गुरुङले बताए ।

'कर्मचारीको तलबदेखि जिन्सी खरिदसम्म, सरसफाईदेखि शव व्यवस्थापनसम्म, सवारी साधनको मर्मत देखि दैनिक कार्यालय संचालनसम्म प्रभावित भएको छ,' गुरुङले भने । नगरसभा हुन नसक्दा कर्मचारीले आउँदो दशैँमा समेत तलब पाउने स्थिति छैन ।

बजेट बाँडफाँडमा जनप्रतिनिधिबीच कुरा नमिल्दा नगरसभा हुन नसकेको हो । नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ८ का वडाध्यक्ष जयनारायण मण्डलले कार्यवाहक नगरप्रमुख इसरत परविण र प्रमुख प्रसासकीय अधिकृत विष्णुप्रसाद गुरुङको गैरजिम्मेवारीपनले नगरसभा हुन नसकेको आरोप लगाए ।

'कार्यवाहक नगरप्रमुखलाई पार्टीको कार्यक्रमबाट फुर्सद छैन। अर्को तिर प्रमुख प्रसासकीय अधिकृतलाई उखान टुक्का लेखेर चटक गर्दै फुर्सद छैन । कहाँबाट हुनु नगरसभा ?,' उनले भने । नगरसभाको विषयमा कार्यपालिका बैठकसम्म हुन नसक्नु दुःखद भएको मण्डलले बताए ।

राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविणले बजेटकै द्वन्द्वका कारण नगरसभा हुन नसकेको स्वीकारिन् । वडाध्यक्षहरु दुई करोड रुपैयाँ सिलिङ चाहियो भन्नुहुन्छ, त्यति पैसा पनि हुनुपऱ्यो नि ?,' कार्यवाहक नगरप्रमुख परविणले भनिन्, 'अरु पालिका पनि छ ।विगतको अनुभव पनि छ । हामीले वडामा ६०-६५ लाख बजेट सिलिङ दिन खोजेका छौँ । तर वडाध्यक्षहरु मान्दैनन् । जसका कारण नगरसभा हुन सकिइरहेको छैन ।'

प्रकाशित : भाद्र २६, २०८१ १६:०७
×