कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

निःशुल्क डायलाइसिस सेन्टरको फाइल १७ महिनादेखि अलपत्र

भाद्र ६, २०८१
निःशुल्क डायलाइसिस सेन्टरको फाइल १७ महिनादेखि अलपत्र

Highlights

  • प्रदेशका पूर्वस्वास्थ्यमन्त्रीले लेखे प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई खुला पत्र

बुटवल — स्वास्थ्य विभागका कर्मचारीले अनावश्यक दुःख दिएर फाइल अड्काइदिएपछि एमाले नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खुला पत्र लेख्दै समस्या समाधानका लागि अनुरोध गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत पत्र लेख्दै मिर्गौला पीडितको निःशुल्क उपचार गर्ने स्वास्थ्य सेवासम्बन्धी फाइल स्वास्थ्य विभागका कर्मचारीले १७ महिनादेखि अड्काएर दुःख दिएको गुनासो गर्दै उनले आक्रोश पोखेका हुन् ।

पन्थी कपिलवस्तु १ (१) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित र लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री हुन् । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुको वाणगंगामा निःशुल्क डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ । त्यही अनुसार २०८० जेठ २८ मा स्वास्थ्य विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा काठमाडौंलाई पत्र लेख्दै कपिलवस्तु र अर्घाखाँचीका मिर्गौला पीडितहरूको उपचार र डायलाइसिस सेवा प्रदान गर्ने गरी कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर सूचीकृत गर्न अनुरोध गर्दै पत्र लेखेको थियो । अस्पतालले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट कपिलवस्तुका वाणगंगा नगरपालिका–१ बैरियामा डायलाइसिस सेन्टर स्थापना गर्न त्यही दिन नै स्वीकृत पाएको थियो ।

अस्पतालले सेन्टर स्थापना गरी बिरामीको उपचार र डायलाइसिसका लागि १० वटा मेसिन जडान गरेको छ । निःशुल्क सेवा प्रदान गर्दै आइरहेको अस्पताललाई सूचीकृत गर्नुपर्ने कानुनी प्रावधान रहे पनि विभागका कर्मचारीले प्रदेशबाटै हुने स्वीकृतिलाई अनावश्यक रूपमा संघीय सरकार मातहत तानेर अनावश्यक झन्झट दिएको र अस्पतालका अध्यक्ष एजाज आलम र आफू स्वयं १७ पटक विभाग र महाशाखा धाउँदा पनि कर्मचारीले दुःख दिएको पन्थीले खुला पत्रमा उल्लेख गरेका छन् ।

प्रदेशको स्वास्थ्य मन्त्रालयबाटै हुनुपर्ने कामलाई काठमाडौं तानेर अनावश्यक दुःख दिने काम कर्मचारीले गरेको पन्थीले बताए । अब कपिलवस्तुका किड्नीपीडितका तर्फबाट आफूहरू सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारीमा रहेको पनि उनले खुला पत्रमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीलाई जानकारी र स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव रोशन पोखरेलसहित ५ जना सचिव र निर्देशक संगीता मिश्रलाई खुला पत्र लेखेका हुन् । पत्रमा संघीयता, सुशासनको खोजीदेखि स्वास्थ्य मन्त्रालयले गर्ने कामको विवरणमा प्रश्न उठाएका छन् । ‘स्वास्थ्य सेवा विभाग हो कि दुःख विभाग हो ?’ उनले खुला पत्रमा लेखेका छन्, ‘१७ महिनादेखि अड्किएको फाइलमा लेखकलाई कथा, पत्रकारलाई रोचक समाचार, वकिललाई मुद्दा र बहस, किड्नीपीडितका लागि दुःख र पीडा, अख्तियार र सतर्कता केन्द्रलाई कामको मेलो छ ।’ त्यही फाइलले देश कुन दुनियाँमा रहेको र अझै किन पछाडि परिरहेका छौं भन्ने कुरा प्रस्ट देखाएको पनि उल्लेख गरेका छन् ।

रोटरी क्लब र स्थानीय ५ सय बढी समाजसेवीको सहयोगमा बुटवलमा स्थापना भएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पश्चिम क्षेत्रका हजारौं मिर्गौलाका बिरामीलाई निःशुल्क उपचार र डायलाइसिस सेवा प्रदान गर्दै आइरहेको छ । अस्पताललाई सरकार र रोटरी क्लबले सहयोग गरिरहेको छ । बुटवलमा मिर्गौलापीडित बिरामीको भीड भएपछि कपिलवस्तु र अर्घाखाँचीका बिरामीका लागि उपचार सेवा प्रदान गर्ने उद्देश्यले कपिलवस्तुमा सेवा विस्तार गर्न लागिएको अस्पतालका प्रशासन प्रमुख कमल भण्डारीले बताए ।

अहिले अस्पतालमा कपिलवस्तु र अर्घाखाँचीका ४६ जना बिरामीले बुटवलमै आएर नियमित डायलाइसिस गराइरहेका छन् । त्यही सेवा कपिलवस्तुमा विस्तार गर्ने गरी अस्पतालले आफ्नै स्रोतको ५ करोड लगानीमा १० वटा डायलाइसिस मेसिन जडान गरेर परीक्षण उपचार गरिरहेको छ । तर, त्यही सेवा सेन्टरलाई विभागमा सूचीकृत नगरिदिएर दुःख दिएको अस्पतालले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०८१ १४:४७
x
×