कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

ताला खोल्न उपकुलपतिले गरे लिखित आह्वान

भाद्र २६, २०८१
ताला खोल्न उपकुलपतिले गरे लिखित आह्वान

Highlights

  • संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी

दाङ — नेपाल संस्कृत विश्वविद्यालयमा लागेको तालाबन्दी खोल्न उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले लिखित रूपमा सार्वजनिक आह्वान गरेका छन् । तीन महिनादेखि संस्कृत विश्वविद्यालयमा लागेको ताला खोल्ने वातावरण बनाउन उनले बुधबार सरोकारवाला निकायलाई आग्रह गर्दै लिखित आह्वान गरेका हुन् ।

विश्वविद्यालयको बेलझुण्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनिक काम पूर्णरूपमा प्रभावित भएको भन्दै उनले विद्यार्थी, प्राध्यापक र कर्मचारीका साझा संगठनहरू, स्ववियु लगायत सरोकारवाला सबै पक्षलाई यसप्रति संवेदनशील हुन आह्वान गरेका हुन् । विद्यार्थी संघसंगठन र आंशिक शिक्षकहरूले विभिन्न माग राखी तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयका तर्फबाट जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माको संयोजकत्वमा गठित वार्ता समितिसँग संवाद गरी शीघ्र निकास निकाल्न र सबै प्रकारका अवरोधको अन्त्य गर्न उनले आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

तालाबन्दीका कारण असार २० मा मन्त्रिपरिषद्बाट विश्वविद्यालयको सयौं बिघा जग्गाको व्यवस्थापन गर्न गठित समितिले काम गर्न नपाएको उनले बताएका छन् । ‘समितिले पाएको जिम्मेवारी सकिन थोरै मात्र समय बाँकी छ । जग्गासम्बन्धी विश्वविद्यालयका अभिलेख अध्ययन गर्न मिलेको छैन,’ उनले भने, ‘बन्दका कारण सरकारले नै महत्त्व दिएको जग्गा व्यवस्थापनको जरुरी काम अलपत्र परेको छ ।’

विद्यार्थीका शैक्षिक मागहरूप्रति विश्वविद्यालय संवेदनशील रहेको खतिवडाले बताए । विश्वविद्यालयको आर्थिक क्षमता अनुसार माग पूरा गर्न प्रतिबद्ध रहेको उनले जानकारी दिए । विश्वविद्यालयको एकमात्र आयुर्वेद विद्यापीठमा १२ वर्षदेखि सञ्चालन भैरहेको आयुर्वेद स्नातक बीएएमएस तहको शिक्षण, परीक्षा, मूल्यांकन र प्रायोगिक पक्षमा भइरहेका समस्या समाधानका लागि विद्यार्थी, आयुर्वेद अध्ययन संस्थान र विद्यापीठसँग विमर्श गरी सकारात्मक पहलका साथ अघि बढ्न विश्वविद्यालय प्रतिबद्ध रहेको उनले बताएका छन् ।

विश्वविद्यालय स्थापनामा भूमिका खेल्ने अभिभावक, संस्कृत शिक्षाप्रेमी, भूमिदाता, राजनीतिक दल, सरकारी निकाय, स्थानीय सरकार, राष्ट्रसेवक, व्यवसायी, पत्रकार लगायत सबैले विश्वविद्यालयमा निरन्तर प्रेरणा, सुझाव र निगरानीको आग्रह गर्दै उनले ताला खोल्ने कार्यमा सकारात्मक सहयोग गर्न सार्वजनिक आह्वान गरेका छन् ।

उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले साउन अन्तिम साता राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी खतिवडाले पाएका छन् । खतिवडा यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष थिए ।

प्रकाशित : भाद्र २६, २०८१ २१:४०
×