कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

लुम्बिनी एमाले संसदीय दलले आफ्ना सदस्यलाई जारी गर्‍यो आचारसंहिता

आश्विन १, २०८१
लुम्बिनी एमाले संसदीय दलले आफ्ना सदस्यलाई जारी गर्‍यो आचारसंहिता

दाङ — एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको बैठकले आफ्ना प्रदेश सभा सदस्यलाई आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । 

एमाले प्रदेश सभा सदनको विधान २०७५ बमोजिम प्रदेश सभा संसदीय दलको कार्य प्रणालीलाई अनुशासित र व्यवस्थित गर्न आचारसंहिता जारी गरेको दल उपनेता भोजप्रसाद श्रेष्ठले बताए ।

एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

‘नयाँ ढंगले काम गर्दा आफैं इमानदार हुनुपर्छ । नैतिक आचरणलाई सिद्धान्तको रुपमा लिएको छ । मानवता र मानव अधिकारमा स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरिसकेको छ । यो अवस्थामा प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्यहरूलाई पनि आचारसंहिता लागू गरेर जवाफदेहितालाई प्राथमिकतामा राखिएको छ ।’

सस्तो लोकप्रियता आर्जन गर्ने कार्यमा लाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने, अनाधिकृत आर्थिक प्रलोभन तथा भ्रटाचार जस्ता क्रियाकलापबाट मुक्त हुन आचारसंहितामा प्रमुखताका साथ समावेश गरिएको छ । सबै तहका जनप्रतिनिधिको क्षेत्रगत कामसँग बाझिने खालका कुनैपनि उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी र वित्तिय संस्थाका मुख्य कार्यकारी पदमा रही भूमिका निर्वाह गर्न नपाइने, जिम्मेवारीमा भएको भए अलग हुन आचारसंहिताले निर्देशित गरेको छ । लैंगिक यौनजन्य विभेद तथा अशिष्ट अभिव्यक्ति जस्ता दुर्व्यवहार गर्न नपाइने, नैतिक आचरण, असल शासनका हरेक पक्षमा जिम्मेवार, पारदर्शी र कुशल जनप्रतिनिधिको रुपमा स्थापीत हुनुपर्ने, उच्छृङ्खल र अराजक गतिविधि एवम् सामाजिक सञ्जालमा पार्टी नीति विपरित क्रियाकलाप गर्न नहुने उल्लेख छ ।

प्रदेश सभाको नियमित बैठक तथा तोकिएको संसदीय समिति तथा उपसमितिका बैठकहरूमा अनिवार्य उपस्थित रहनुपर्ने, प्रदेश सभा संसदीय समितिहरूका कार्यसूची माथी भएका छलफल, बहसहरूमा भएका निस्कर्ष, निर्णयहरू दलको कार्यालयमा जानकारी दिने उल्लेख छ ।

त्यस्तै वर्तमान संयुक्त सरकारले सबै दलहरू प्रति समन्वय र सहकार्यको नेतृत्व गर्दै नियमित रुपमा साप्ताहिक र मासिक कार्यप्रगती प्रतिवेदन हरेक जिम्मेवार पदाधिकारी, सदस्यहरू तथा मन्त्रीहरूले सम्बन्धित सरोकारवाला निकायमा बुझाउनुपर्ने, प्रदेश सरकार, मन्त्रिपरिषद्को काम, कर्तव्य अधिकार र प्रदेश सभा वा प्रदेश सभा दल प्रतिको जवाफदेहिताको पूर्ण पालना गर्नुपर्ने उल्लेख छ ।

प्रदेश सभामा उठेका विषय र प्रश्नोत्तरका सन्दर्भमा विषयगत मन्त्रालय तथा सरकारको जवाफदेहीता, पालना प्रदेश सभा नियमावली बमोजिम कार्यान्वयन गरेको हुनुपर्ने, तोकिएको परिभाषित तथा प्रशासनिक कार्यभार प्रति अनुत्तरदायी भई झिनामसिना कार्यमा संलग्न हुने, यी आचारसंहिता प्रति सबै प्रदेश सभा सदस्य, पदाधिकारी र मन्त्रीहरू प्रतिबद्ध हुनुपर्ने जनाइएको छ ।

प्रकाशित : आश्विन १, २०८१ १५:५०
x
×