कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य हुँदैन : लामिछाने

भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य हुँदैन : लामिछाने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने व्यवस्था मान्य नहुने बताएका छन् । 

युवाहरूले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने भनी फोनहरू आइरहेको र सामाजिक सञ्जालमा अभियान चलेको भन्दै सभापति लामिछानेले भ्रष्टाचार मुद्दामा कुनै पनि हालतमा हदम्याद मान्य नहुने बताएका हुन् । 'भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य हुने छैन, नो इफ, नो बट,' प्रतिनिधिसभाको बिहीबारको बैठकमा लामिछानेले भने ।

संसद्का प्रमुख दुई दल मिलेर बनेको सरकारबाट डरको वातावरण उत्पन्न भएको अवस्थामा युवाहरू सचेत भएर भ्रष्टाचारविरुद्ध बोलेको लामिछानेले बताए ।

ठूला दल मिलेर भ्रष्टाचार मुद्दामा छानबिनका लागि हदम्याद राख्ने हुन् कि भन्ने चिन्ता लागेर युवाहरूले त्यस्तो हुनुहुँदैन भनेर लागेको र सिंगी संसद् उनीहरूको पक्षमा उभिनेछन् भन्ने आफूलाई विश्वास रहेको उनलेब ताए ।

सरकारले ल्याएको विधेयकमा भ्रष्टाचारजन्य कसुर गरेको थाहा भएको ५ वर्षभित्र मुद्दा चलाउनुपर्ने त्यसो नभएमा पछि मुद्दा नचल्ने प्रस्ताव ल्याएको छ । ‘भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य गरेको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्नेछ,’ विधेयकमा प्रस्तावित व्यवस्थामा भनिएको छ ।

लामिछानेले नीतिगत निर्णयको व्याख्या पनि विधेयकमा गर्नुपर्ने माग गरेका छन् ।

दलितले हक माग्दा प्रहरीले अभियन्ताहरूलाई पक्राउ गरेकोप्रति पनि लामिछानेले असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रकाशित : भाद्र ६, २०८१ १३:४६
x
×