कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

ओली र देउवालाई दाहालको प्रश्न : के उपसभामुख रानामगरलाई हटाउन खोजेको हो ?

भाद्र २७, २०८१
ओली र देउवालाई दाहालको प्रश्न : के उपसभामुख रानामगरलाई हटाउन खोजेको हो ?

Highlights

  • ‘हिंसा’ शव्दमा पुनर्विचार नगरेसम्म विरोध जारी राख्ने माओवादीको तयारी

काठमाडौँ — प्रमुख प्रतिपक्ष दलका नेता एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन प्रयास भइरहेकोप्रति आशंका व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग धारणा मागेका छन् ।

कोशी र मधेशमा पार्टीको परामर्श बैठक सकेर पाँच दिनपछि काठमाडौं फर्केका दाहालले बिहीबार प्रधानमन्त्री ओली र देउवासँग बालुवाटारमा भएको भेटमा पदीय दुरुपयोग गरको अभियोगमा उपसभामुख रानामगरलाई हटाउनेबारे जिज्ञासा राखेका थिए ।

‘उपभामुखलाई हटाउने चर्चा चलेको छ । के साँच्चै तपाईहरुले हटाउन खोजेको हो?,’ भेटमा दाहालले प्रश्न गरेको उल्लेख गर्दै स्रोतले भन्यो, ‘त्यसबारे ओली र देउवाले कुनै जवाफ दिनुभएन ।’ दाहालले दुई तिहाइको बलमा संवैधानिक निकायमा रहेका व्यक्ति रानामगरलाई हटाउने कार्यले गलत सन्देश जाने बताएका थिए ।

‘अहिले दुई तिहाइको बल प्रयोग गर्नुहोला, भोलि त्यसले गलत सन्देश जानेछ,’ दाहालको भनाइ थियो, ‘सत्तापक्षले जथाभावी संवैधानिक निकायलाई चलाउनु ठिक होइन । यसमा विचार गर्नुहोला ।’ तीन नेताबीच संवैधानिक परिषद्को बैठकको तयारीका विषयमा छलफल भएको थियो । दाहालले शुक्रबारकै बैठकबाट सबै रिक्त संवैधानिक पदमा नियुक्तिका लागि सिफारिस गर्न सुझाव दिएको उनको सचिवालयले जनाएको छ ।

‘भोलि (शुक्रबार) बस्ने संवैधानिक परिषद् बैठकको तयारीस्वरुप आज (बिहीबार) प्रधानमन्त्री केपी शर्मा, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भयो,’ उनको सचिवालले प्रेस नोटमा भनेको छ, ‘बैठकमा अध्यक्ष दाहालबाट संवैधानिक निकायमा सम्भव हुन्छ भने भोलि शुक्रबार नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।’

माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रतिपक्ष दलले संवैधानिक निकायमा सहज नियुक्ति गर्न परिषद् सदस्य एवम् उपसभामुख रानामगरलाई हटाउन खोजेको आरोप लगाएका छन् । कांग्रेस, एमालेले हटाउन खोजे माओवादी र रास्वपाले प्रतिवाद गर्ने बताउँदै आएका छन् ।

‘उपभामुखलाई हटाउन खोजे हामीले सशक्त प्रतिवाद गर्ने भनिसकेका छौँ । हामी कसरी प्रतिवाद गर्ने विषयमा छलफलमै छौँ,’ माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने ।

‘हिंसा’ शब्दमा पुनर्विचार नगरेसम्म सदनमा विरोध

सभामुख देवराज घिमिरेले भदौ १२ मा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादीको सशस्त्र 'हिंसा’ भन्ने शब्द असंसदीय नभएको रुलिङ गरेपछि विरोधमा उत्रिएको माओवादीले त्यसबारे पुनर्विचार नगरेसम्म संसद्‌मा विरोध जारी राख्ने बताएको छ ।

कोशी र मधेश प्रदेशको केन्द्रीय परामर्श बैठकमा सहभागी भई पाँच दिनपछि काठमाडौं फर्केका माओवादी अध्यक्ष दाहालले संसद्‌मा भएको यो घटनाको ‘बिफ्रिङ’ लिंदै आपत्ति जनाएका छन् । संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को माओवादी सशस्त्र 'हिंसा’ शब्दबारे सभामुखको रुलिङका विषयमा जानकारी दिएपछि दाहालले त्यो स्वीकार्य नहुने बताएका छन् ।

‘अध्यक्षले माओवादी जनयुद्धको अपमान गर्ने कुरा सह्य नभएको बताउनुभयो । यसबारे थप निर्णय लिन शुक्रबार संसदीय दलको बैठक बोलाइएको छ,' उनले भने । बिहीबार ससद्को बैठकमा सभामुख घिमिरेले ‘हिंसा’ असंसदीय शब्द नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि माओवादीले उठेर अवरोध गरेको थियो । त्यसपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक अब आइतबारका लागि बोलाइएको छ ।

‘हामीले मागेको जवाफ आएको छैन । संसद् स्थगित भएको छ । संसद् सचिवालयबाट हामीले मागेको जवाफ दिनुपर्छ,’ उनले भने, ‘यो राजनीतिक विषय मात्र होइन, शान्ति सम्झौता, शान्ति प्रक्रिया र संविधानसँग जोडिएको विषय हो । त्यही अनुसार जवाफ दिनुपर्छ । त्यो नसच्याएसम्म हामी विरोध गर्छौ ।’

उनले प्रधानमन्त्री ओलीले भदौ ३१ मा संसद्‌बाट संम्बोधन गर्ने दिनअघि सभामुखले बिहीबार दिएको रुलिङमा पुनर्विचार गर्नुपर्ने बताए । ‘सांसद योगेश भट्टराईले माओवादी संघर्ष 'हिंसा'नै हो भन्नु भएको छ । हामीले त्यसप्रति आपत्ति जनाएको हो । संसद्को रेकर्ड सुने हुन्छ,’ प्रमुख सचेतक पाण्डेले भने, ‘सभामुखले रुलिङ गर्दा हिंसा शब्दलाई सामान्य रुपमा व्याख्या गर्नुभयो ।’

माओवादी सचिव देवेन्द्र पौडेलले सरकारले जनताका सरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बेला सत्तापक्षका सांसदबाट द्वन्द्व सृजना गर्न खोजेको बताए । ‘सरकारले बाढी पीडितलाई राहत र पुनःस्थापन, महंगी नियन्त्रण, जनताले पाउने प्रभावकारी सेवामा काम गर्नुपर्ने बेला व्यवस्थापन भइसकेको जनयुद्धलाई हिंसामा परिणत गरी द्वन्द्व बढाउन खोजेको देखियो,’ उनले भने, ‘प्रतिपक्षको मागलाई बेवास्ता गर्दै दुई तिहाइको बलमा जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति देखियो । यसले झन् द्वन्द्व बढाउने देखिन्छ ।’

सरकारका गलत कामलाई खबरदारी गर्ने र राम्रो काममा सहयोग गर्ने प्रमुख प्रतिपक्षको धर्म भए पनि सत्तापक्ष पेलेरै जाने तयारीमा लागेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २७, २०८१ २०:४१
×