कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

लोमन्थाङका घर-घरमा विद्युतीय ‘इन्फ्रारेड’ चुलो

भाद्र ६, २०८१
लोमन्थाङका घर-घरमा विद्युतीय ‘इन्फ्रारेड’ चुलो

म्याग्दी — हिमालपारिको उपल्लो थलो, प्राचीन बस्ती लोमन्थाङ क्षेत्रका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ ।  लोमन्थाङ गाउँपालिकाले खाना पकाउने एलपी ग्याँसको लागत न्यूनीकरण गर्ने उद्देश्यले पहिलो चरणमा वडा नम्बर-३ फुवा र वडा नम्बर-४ किमलिङका २ सय १० घर परिवारमा विद्युतीय चुलो वितरण गरेको जनाएको छ ।

‘लोमन्थाङका गाउँहरूमा अझै पनि कतै कतै खाना पकाउन परम्परागत इन्धन गुइँठा (चौँरीको गोबर सुकाएर बनाइने वस्तु) प्रचलनमा छ । परम्परागत गुइँठा मात्र होइन, खाने पकाउने एलपी ग्याँस समेत अधिक महँगो पर्ने भएकोले विकल्पमा इलेक्ट्रिक चुलो प्रचलनमा ल्याउन थालेका हौं,’ लोमन्थाङ गाउँपालिका उपाध्यक्ष छयुमी विष्ट गुरुङले भनिन, ‘ग्याँसभन्दा धेरै सस्तो पर्छ भन्ने भएपछि पालिकाको सतप्रतिशत अनुदानमा इलेक्ट्रिक चुलो वितरण गरेका हौं । दोस्रो लटमा बाँकी वडाबासीलाई वितरण गर्छौं ।’

खाना पकाउन प्रयोग गरिने एलपी ग्याँसको पोखराबाट गाडीमा ढुवानी गरी लोमन्थाङका बस्ती पुर्‍याउँदा महँगो परेकोले लागत न्यूनीकरण गर्न विकल्पमा घरगाउँका सबै भाँडा प्रयोगगरी खाना पकाउन मिल्ने विद्युतीय चुलो (इन्फ्रारेड) वितरण गरिएको लोमन्थाङ गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले काठमाडौंबाट खरिद गरी लोमन्थाङ पुर्‍याउँदा प्रतिविद्युतीय इन्फ्रारेड चुलोको मूल्य ३ हजार ५ सय ५० रुपैयाँ परेको छ । पालिकाका बाँकी वडा १–३ सम्मका ३ सय ४० घरपरिवारलाई चालु आर्थिक वर्षमै चुलो वितरण गरिने पनि गाउँपालिका कार्यालयले जनाएको छ ।

‘लोमन्थाङमा खाना पकाउने एलपी ग्याँसको प्रतिसिलिन्डर औसतमा तीन हजार पर्छ । तल सडकमा ढुवानी अवरुद्ध भएको बेला ३ हजार ५ सयसम्म पुग्छ । त्यो पनि समयमा नपाइने भएकोले उपभोक्ताले सास्ती पाएका थिए । त्यसैले सबै घरमा केन्द्रीय विद्युतीकरण भएकोले विद्युत् पनि औसतमा नियमित रहेकोले विद्युतीय चुलो रोजेका हौं,’ लोमन्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पौडेलले भने, ‘पालिकाले सतप्रतिशत अनुदानमा विद्युतीय चुलो खरिद गरी वितरण गर्न लागेको हो ।’

लोमन्थाङका प्रायः घरमा खाना पकाउनबाहेक पानी तताउन, शौचालय, स्नानकक्षमा प्रयोग गर्न भने सौर्य ऊर्जा प्लान्टबाट चल्ने सोलारहिटर प्रयोग गरिएका छन् । गाउँपालिका कार्यालय, विद्यालयहरू, प्रहरी चौकीसमेत सरकारी कार्यालय, ठूला होटलहरूमा पावरब्याकको रूपमा सोलार विद्युत् नै प्रयोगमा छ ।

प्रकाशित : भाद्र ६, २०८१ १३:१८
x
×