कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

मनास्लु हिमाल आरोहणका लागि २ सय ९० जनाले लिए अनुमति

भाद्र २७, २०८१
मनास्लु हिमाल आरोहणका लागि २ सय ९० जनाले लिए अनुमति

गोरखा — शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि २ सय ९० जनाले अनुमति लिएका छन् । ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमाल आरोहणका लागि २५ समूहका २ सय १० पुरुष र ८० महिलाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

मनास्लु हिमाल आरोहणबाट मात्र ३ करोड ४९ लाख ७१ हजार १ सय २० रुपैयाँ रोयल्टी संकलन भएको छ । पर्यटन विभागका अनुसार हालसम्म शरद ऋतुमा मनास्लुसहित ७ वटा हिमाल आरोहणका लागि ३ सय २९ जनाले अनुमति लिएका छन् ।

पुथा हिउँचुली (७२४६) मिटरको हिमाल आरोहणका लागि २ समूहका ९ जना, अन्नपूर्ण चौथो (७५२५ मिटर) र पुंगी (६५२४) मिटर उचाइको हिमाल आरोहणका लागि १/१ समूहका ५/५ जनाले अनुमति लिएका छन् । त्यस्तै धौलागिरी (८१६७) मिटर उचाइको हिमाल आरोहणका लागि एक समूहका १४ जनाले अनुमति लिएका छन् ।

सात वटा हिमाल आरोहणबाट ३ करोड ७४ लाख ४३ हजार ९ सय ५ रुपैयाँ रोयल्टी संकलन भएको छ । हालसम्म विभिन्न ५२ देशका नागरिकले हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ । चुमनुब्री गाउँपालिका–१ सामागाउँको मनास्लु हिमाल आरोहणका लागि शरद ऋतुलाई उपयुक्त समय मानिन्छ । किलर माउन्टेनका रूपमा मनास्लु हिमाल पछिल्लो समय आरोहीको रोजाइमा पर्ने गरेको छ ।

हिमाल आरोहणसँगै पदमार्ग भएर मनास्लु क्षेत्र घुम्न जाने पर्यटक पनि बढेका छन् । गत आर्थिक वर्ष मात्र ९ हजार ७ सय ८३ जना विदेशी पर्यटकले मनास्लु संरक्षण क्षेत्रको भ्रमण गरेका थिए ।

प्रकाशित : भाद्र २७, २०८१ १६:४७
×