कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

कर संकलनको लक्ष्य भेट्टाउन कठिन

भाद्र २७, २०८१
कर संकलनको लक्ष्य भेट्टाउन कठिन

बागलुङ — आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब २० करोड रुपैयाँ कर संकलन गर्ने लक्ष्य राखेको थियो । असार मसान्तसम्म लक्ष्यको ७९ प्रतिशतमात्रै संकलन गर्‍यो । यो अवधिमा कुल ९६ करोड ५५ लाख ७८ हजार रुपैयाँमात्रै कर संकलन भएको कार्यालयका प्रमुख प्रमोदकुमार श्रीवास्तवले बताए । 

साउन महिनामा राखिएको लक्ष्य पनि कार्यालयले भेटाउन सकेन । १ करोड ९३ लाख रुपैयाँ संकलनको लक्ष्य राख्दा ९१ लाख ३५ हजार अर्थात् ४७ प्रतिशतमात्रै संकलन भयो । त्यसो त, आर्थिक वर्ष ०७९/०८० मा पनि कार्यालयले लक्ष्य भेटाउन सकेको थिएन । १ अर्ब ५ करोड ५१ लाख राजस्व संकलन गर्ने लक्ष्य बनाएकोमा ९५ करोड ३१ लाख रुपैयाँमात्रै संकलन गर्न सकेको हो ।

लक्ष्यअनुसार कर असुल हुन नसक्नुलाई आर्थिक क्षेत्रको मन्दी, सहकारीहरुमा आम नागरिकको विश्वास घट्नु र लघुवित्तको समेत कारोबारमा आएको कमीलाई औंल्याउने गरिएको छ । ‘सहकारीको कारोबार घट्दा कर संकलन पनि घटेको छ,’ श्रीवास्तवले भने, ‘जति कारोबार भयो त्यत्ति नै आयकर पनि बढ्ने हो, यतिबेला कारोबार घटेको छ ।’ उनले आन्तरिक राजस्व कार्यालय बागलुङको कार्यक्षेत्रमा ठूला करदाता नहुँदा आयकरको भरमा लक्ष्य भेटाउन नसकेको बताए ।

गत आर्थिक वर्ष कार्यालयले ६० करोड ६९ लाख आयकर संकलन गर्ने लक्ष्य राखेकोमा ५१ करोड ४९ लाख रुपैयाँ संकलन भएको हो । त्यस्तै भ्याटतर्फ ३३ करोड ४७ लाख संकलन गर्ने लक्ष्यमा २७ करोड ५० लाखमात्रै संकलन भएको हो । अन्तशुल्कतर्फ ५ करोड ४ लाख संकलन गर्ने लक्ष्यमा पनि कार्यालय सफल भएन । उक्त अवधिमा ४ करोड २० लाखमात्रै संकलन भएको हो । ‘हाम्रोमा मदिरा उद्योग छैनन्, व्यवसायी पनि कम छन्,’ श्रीवास्तवले भने, ‘व्यावसायिक प्यान नम्बरबाट आउने कर नै प्रमुख हो ।’ कार्यालयको तथ्यांकअनुसार २० हजार ७ सय ८१ व्यावसायिक प्यान नम्बरबाट सबैभन्दा बढी कर संकलन भएको हो । व्यक्तिगततर्फ ४५ हजार ९ सय ४३ जनाले प्यान नम्बर लिएका छन् ।

अझै पनि सामुदायिक वन उपभोक्ता समिति, अन्य निर्माण क्षेत्रका उपभोक्ता समिति र कतिपय व्यवसाय नै दर्ता नभएकोले कर संकलन हुन नसकेको हो । त्यसबाहेक असार मसान्तसम्ममा पनि कयौं विकास निर्माण पनि सम्पन्न नभएकोले कर संकलनमा ढिलाई भएको हो । ‘पछिल्लो समय सिंगो देशभर आर्थिक संकट उब्जेकोले रोजगारी र आम्दानी कम हुँदा करमा पनि असर परेको छ,’ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले भने, ‘राज्यले व्यवसाय प्रवर्द्धनमा भूमिका खेलेमा लक्ष्य अनुसारको कर संकलनमा पनि सहयोग पुग्छ ।’ हरेक वर्ष लक्ष्य बढाए पनि करका दायरा नबढ्दा संकलनमा लक्ष्य भेट्न नसकिएको सरोकारवालाको बुझाइ छ ।

त्यसो त, यसअघि पोखरा पुगेर तिर्नुपर्ने कर बागलुङमै तिर्न पाएपछि करको दायरा बढिरहेको छ । स्वास्थ्य सेवा र शिक्षाको कर स्थानीय तहमा जाने हुँदा आन्तरिक राजस्व कार्यालयमा यो आउन छाडेको छ । पोखरा पुगेर कर तिर्नुपर्दा यहाँका ५ हजार करदातामात्रै थिए ।

चर वर्षअघिको तुलनामा भने कर संकलन उल्लेख्य बन्दै गएको कार्यालयकै कर्मचारी बताउँछन् । कार्यालय स्थापना हुनुअघि जिल्लाका करदाताबाट लक्ष्यको ४२ देखि ४५ प्रतिशतमात्रै कर संकलन हुने गरेकोमा ८० प्रतिशतको हाराहारी पुग्नुलाई राम्रो मान्नुपर्ने उनीहरुले बताए । ‘कर राम्रो उठ्दै गएको छ, करदातालाई हतोत्साही नबनाइ खुसी भएर तिर्ने बनाउनुपर्नेछ,’ धौलागिरि बहुमुखी क्याम्पसका सहायक प्रमुख ध्रुवराज गौतमले भने, ‘व्यवसायी खुसी भएर तिर्ने वातावरण बन्यो भने दिगो र धेरै कर संकलन हुन्छ ।’

कतिपय व्यवसायमा तीनदेखि चार स्थानमा कर तिर्दा व्यवसायबाट पलायन बढेको समेत उनले बताए । कार्यालयले करदाता शिक्षा अभियान ग्रामीण क्षेत्रसम्म विस्तार गरेपछि कर संकलन बढेको हो ।

बागलुङस्थित आन्तरिक राजस्व कार्यालय बागलुङको कार्यालय । तस्बिर : प्रकाश बराल/कान्तिपुर

प्रकाशित : भाद्र २७, २०८१ १७:५८
×