कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

मिटरब्याजपीडितहरूद्वारा जिल्ला अदालत परिसरमा प्रदर्शन

भाद्र २७, २०८१
मिटरब्याजपीडितहरूद्वारा जिल्ला अदालत परिसरमा प्रदर्शन

नवलपरासी — मिटरब्याजी सुदखोर अमृत भुसालमाथि अनुसन्धान समेत नभइ रिहा गरिदिएको भन्दै बिहीबार मिटरब्याज पीडितहरूले जिल्ला अदालत परिसरमा विरोध प्रर्दशन गरेका छन्। 

पीडितहरुको लिखित उजुरीका आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि अदालतमा बुझाए पनि मिटरब्याजी अमृत भुसालको मुद्दा दर्ता समेत नगरी छोडेको भन्दै पीडितहरुले जिल्ला अदालत र सरकारी वकिलको कार्यालय अघिल्तिर बिहीबार प्रर्दशन गरेका हुन्।

मिटरब्याजपीडित संघर्ष समितिले ब्यानरसहित प्रर्दशन गरेको हो ।उनीहरूले भ्रष्टाचार गर्न पाइदैन, दोषीलाई छोड्न पाइदैन । सामाजिक एकता जिन्दावाद लेखिएका ब्यानर बोकेका थिए ।

प्रहरीमा प्रमाणसहित किटानी जाहेरी दिएपछि पक्राउ परेका कावासोतीका मिटरब्याजी साहु अमृत भुसालको मुद्दामा अदालतले सही न्याय निसाप नगरेको उनीहरूको गुनासो छ । कावासोती नगरपालिका-२ निवासी भुसालले रामप्रसाद महतोलाई ३६ पटक पटक गरेर ३६ लाख ऋण दिएका थिए ।

त्यसवापत महतोले २ करोड भन्दा बढी रकम तिरी सक्दापनि कर्जा चुक्ता नभएको भन्दै प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । महतोको निवेदनका आधारमा प्रहरीले भुसाललाई २४ दिन नियन्त्रणमा राखेर मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता समेत नगरी भुसाललाई रिहा गरेको थियो । त्यसैका विरुद्ध प्रर्दशन गर्न परेको महतोले जानकारी दिए । भुसाल दुई साताअघि रिहा भएका हुन् । महतोले भुसालविरुद्ध साउन पहिलो साता जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।


२०७६ साल जेठमा रामप्रसाद महतोले व्यापार गर्न भनेर भुसालसँग दैनिक १५ हजार ब्याज तिर्ने गरी १५ लाख लिएको कागजातले देखाउँछ । त्यसवापत महतोको मध्यबिन्दु नगरपालिका-२ मा रहेको ४ कठ्ठा ६ धुर जग्गा भुसाललाई पास दिएका थिए ।

नगद र जग्गा समेत गरेर २ करोड भन्दा बढी रकम भुक्तानी गर्दा समेत भुसालले जग्गा फिर्ता नगरेको महतोको भनाई छ । महतो लगायत आधा दर्जन स्थानीयलाई भुसालले मिटरब्याजमा पैसा लगानी गर्दै असुली गर्दै आएको प्रहरीको भनाई छ ।

पूर्वी नवलपरासीका प्रहरी प्रमुख नरहरी रेग्मीले मिटरब्याजी भुसालले महतोबाट बिभिन्न समयमा चक्रवर्ती ब्याज र साँवामा समेत गरेर १ करोड ५७ लाख १५ हजार ४ सय ११ रुपैयाँ असुलेको प्रमाण सहित जिल्ला सरकारी वकिलको कार्यालयमा कागजात बुझाउँदा भुसालको मुद्दा दर्ता समेत गर्न नमानेको जानकारी दिए ।

भुसालविरुद्ध मुद्धा दर्ता नगरेपछि मिटर ब्याज पीडितहरुले बिहिवार जिल्ला अदालत र सरकारी वकिलको कार्यालय विरुद्ध प्रर्दशन गरेको जानकारी दिए ।

प्रकाशित : भाद्र २७, २०८१ १५:५४
×