कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

पहिरोले मुहान बगाउँदा खानेपानीको समस्या

भाद्र ६, २०८१
पहिरोले मुहान बगाउँदा खानेपानीको समस्या

दार्चुला — पहिरोले पानीको मुहान बगाएपछि खानेपानीको समस्या भएको छ । चार दिन अघिको वर्षाले मालिकार्जुन गाउँपालिका–४ स्थित कोटिला लिफ्टिङ खानेपानीको मुहानमा पहिरो गएपछि खानेपानी सेवा अवरुद्ध भएको हो ।

स्थानीय पवनसिंह धामीका अनुसार पहिरोले ट्याङकीमा जडान गरिएको पाइप र सोलार प्यानल पूर्ण रूपमा क्षति गरेको छ । खानेपानीको मुहानमा माथिबाट पहिरो खसेपछि खानेपानी ट्याङकी, सोलार प्यानल, मोटरमा समेत क्षति पुर्‍याएको छ ।

सोलार लिफ्टमार्फत गाउँमा खानेपानी पुगेको बेला एक्कासी पहिरो गएपछि खानेपानीको समस्या भएको उनको भनाइ छ । पहिरोले खानेपानीका विभिन्न संरचनामा क्षति गरेपछि कोटिला बस्तीका ३५ घरपरिवारलाई समस्या भएको हो । खानेपानीको मुहानमा पहिरो गएपछि त्यहाँका स्थानीयहरु फेरी अब डेढ/दुई घण्टा टाढाको मछाइन मुहानबाट पानी ल्याउनुपर्ने बाध्यतामा पुगेका छन् ।

गाउँमा लिफ्टमार्फत खानेपानी पुगेपछि अहिलेसम्म खानेपानीको लागि भोग्दै आएको दुःख केही सहज भएको भएपनि पहिरोले क्षति गरेपछि पानी भर्नुपर्ने दुःखका दिन सुरु भएको अर्का स्थानीय लक्ष्मणसिंह धामीले बताए । पहिरोले ५० मिटर पाइप लाइन, सोलार प्यानलमा पूर्ण क्षति गरेको छ । कोटिला बस्तीसंगै बालिचन आधारभुत विद्यालय चडेखानका विद्यार्थीहरुलाई खानेपानीको समस्या भोग्नुपरेको छ ।

शौचालयको प्रयोगमा अहिले वर्षात्‌को समयमा आकाशे पानी जम्मा गरेर प्रयोग गरिएपनि खानेपानीको लागि धेरै समस्या भएको स्थानीयको भनाइ छ ।

प्रकाशित : भाद्र ६, २०८१ १५:१८
x
×