कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

राष्ट्रिय परिचयपत्रको विवरण स्थानीय तहबाटै

भाद्र २६, २०८१
राष्ट्रिय परिचयपत्रको विवरण स्थानीय तहबाटै

कञ्चनपुर — जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरूबाटै राष्ट्रिय परिचय पत्रको विवरण संकलन र वितरणको काम सुरु गरेको छ । जिल्ला प्रशासनमा थेगि नसक्नु भीड भएपछि पालिकाहरुबाटै विवरण संकलन सुरु भएको हो । 

पहिलो चरणमा जिल्ला प्रशासनसंगै दोधारा चाँदनी नगरपालिका र कृष्णपुर नगरपालिकाबाट विवरण संकलनको काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले बताए । उनका अनुसार विवरण संकलनसंगै परिचयपत्र वितरणको काम पनि भइरहेको छ ।

विगतमा विवरण संकलन भएकाहरुको परिचयपत्र आइसकेका कारण स्थानीय तहबाटै वितरण भइरहेको हो । ‘अहिले दुई वटा पालिकाबाट सुरु भएको छ, विस्तारै जनशक्ति व्यवस्थापन गरेर सबै पालिकाबाट संकलन गरिनेछ,’ सहायक प्रजिअ पोखरेलले भने, ‘प्रशासनमा परिचयपत्रका लागि आउनेको भीड कम भएको छ ।’

गत साता गृहमन्त्री रमेश लेखक आएका बेला दोधारा चाँदनीमा विवरण संकलनको शुभारम्भ गरिएको थियो । कृष्णपुरमा पनि गत साता नै सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले सुरुवात गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि दैनिक ५/६ सय भन्दा बढी ज्येष्ठ नागरिकहरु आउने गरेका थिए ।

उनीहरु बिहानैदेखि घण्टौ लाइनमा बसेर विवरण संकलन गराइरहेका थिए । दुई वटा स्थानीय तहबाटै विवरण संकलन सुरु भएपछि प्रशासनमा भीड कम भएको छ । अहिले प्रशासनमा दैनिक एक सयको हाराहारीमा परिचयपत्र बनाउनेको विवरण संकलन भइरहेको छ । पालिकाहरुमा भने जनशक्ति कम भएका कारण न्यून मात्रामा विवरण संकलन भइरहेको पोखरेलले बताए ।

प्रकाशित : भाद्र २६, २०८१ १९:५३
×