कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

प्रदीप गिरी अद्‌भुत व्यक्तित्व भएको नेता हुनुहुन्थ्यो : गृहमन्त्री लेखक

भाद्र ६, २०८१
प्रदीप गिरी अद्‌भुत व्यक्तित्व भएको नेता हुनुहुन्थ्यो : गृहमन्त्री लेखक

सिरहा — गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरी ज्ञानको समुद्र भएको बताएका छन् । गिरीको दोस्राे स्मृति दिवसका अवसरमा बिहीबार लहानमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले भने, ‘उहाँ ज्ञान, सूचना र जानकारीको समुद्र हुनुहुन्थ्यो । हामी त कुवा हौं । एउटा कुवाले समुद्रको गहिराइको बखान गर्न सम्भव हुँदैन ।’

गृहमन्त्री लेखकले गिरी अद्भुत व्यक्तित्व भएको नेता भएको र उनको ज्ञानले जो कोहीलाई आश्चर्यचकित तुल्याएको बताए । उनी नेपाली कांग्रेसको नेता भए पनि उनको अथाह ज्ञानकै कारण सबै पार्टीका नेता कार्यकर्ता, सिंगो देश र अन्य मुलुकले पनि उत्तिकै सम्मान दिएको लेखकको भनाइ थियो ।

गिरीलाई सम्झिँदै उनले भने, ‘उहाँको ज्ञानको स्तर यस्तो थियो कि कम्युनिस्ट पार्टीकै ठूल्ठूला नेताहरु भन्नुहुन्थ्यो, यदि नेपालमा कम्युनिस्टकै विषयमा कोही स्पष्ट जानकार छन् भने उहाँ भनेको प्रदीप गिरी हो ।’

गिरीको अभाव मुलुकलाई जहिल्यै खड्किरहने भन्दै उनले उनको आदर्श व्यक्तित्वबाट सबैले प्रेरणा लिनुपर्ने बताए । ‘उहाँको जस्तो अद्भुत र अलौकिक व्यक्ति गुमाउनु यो मुलुकका लागि अत्यन्त दुःखको विषय हो, उहाँको अभाव खड्किरहन्छ,’ उनले भने, ‘उहाँको आदर्श व्यक्तित्वबाट हामीले धेरै कुरा सिक्नुपर्छ ।’

प्रकाशित : भाद्र ६, २०८१ १५:२६
x
×