कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

किसानीले फर्कायो बिदेसिएका पति

०७० सालमा दर्ता भएको बिनाको विशाल पशुपन्छी तथा  कृषि फर्मले सिजनअनुसार उत्पादन गर्छ 
सन्जु पौडेल

लुम्बिनी — बिहान होस् या साँझ । उनलाई प्रायः फुर्सद हुँदैन । कुनै न कुनै काममा व्यस्त हुन्छिन् । यस्तो व्यस्तताको कारण उनले गरिरहेको मौसमअनुसारको तरकारी खेती हो । रुपन्देहीको तिलोत्तमा–११ भूपू सैनिक टोलकी ४७ वर्षीया बिना पुनको जाँगर भर्खर युवा उमेर टेकेको जस्तो छ ।

किसानीले फर्कायो बिदेसिएका पति

उनको खटनपटनले परिवारका सदस्यलाई समेत थुपुक्क बस्न दिँदैन । जहिलेदेखि घरबाहिर निस्किएर केही सिक्न पाइन्, त्यही बेलादेखि आफूले काम चिनेको उनको भनाइ छ । स्वरोजगारीका लागि श्रमको महत्त्व बुझेदेखि कामलाई प्राथमिकतामा राखेको उनले बताइन् । बिनाले अहिले बंगुरपालन गरेकी छन् । उनको खोरमा ८ वटा माउ र ३० बच्चा बंगुर छन् । तिनको स्याहारमा उनको दिनरात बित्ने गरेको छ ।

बिहान ५ बजे उठेर सुरुमा बुंगुरलाई दानापानी दिन्छिन् । खोर सफाइ गरेर उनी घरको काम पनि गर्छिन् । ‘दिउँसो र बेलुका पनि बंगुरको स्याहारमै बिताउनुपर्छर्,’ उनले भनिन्, ‘बच्चा च्यापिने डरले राति उठेर हेर्नुपर्छ ।’ एउटा सानो बंगुर बिक्री गर्दा ७ हजार रुपैयाँसम्म पर्छ । माउको मासु प्रतिकिलो साढे ४ सय रुपैयाँका दरले बिक्री हुने गरेको उनले बताइन् । रुपन्देहीबाहेक, पश्चिम नवलपरासी, पाल्पा, गुल्मीसम्म बंगुर बिक्री हुने गरेको छ ।

०५४ सालमा वीरबहादुर रानासँग उनको बिहे भयो । त्यसपछि उनले घरमै २ वटा बुंगुर पाल्न सुरु गरिन् । भारतमा रोजगारी गरिरहेका श्रीमान्सित एक वर्ष उतै बसेर फर्किएपछि उनलाई स्वरोजगारमूलक काम गर्न मन लाग्यो । श्रीमान्लाई वैदेशिक रोजगारीमा पठाएर बिनाले बंगुरपालन गर्न थालिन् । ०६६ मा च्याउ खेती गर्न सिकाउने तालिम आयो । श्रीमान्लाई सोधेर बिना तालिममा सहभागी भइन् । च्याउको बजारीकरण, उत्पादन, फाइदा र खेती प्रक्रियाबारे जानिन् । दुई सन्तानकी आमा बनेपछि उनले च्याउ खेतीको सीप सिकेर ०६७ बाट २० पोकामा च्याउ खेती सुरु गरिन् । त्यसबाट राम्रो उत्पादन र बिक्री भयो ।

च्याउबाट आम्दानी देखेपछि बिनाले खेती बिस्तार गरी ५ हजार ५ सय पोकामा बीउ राखेर उत्पादन गरिन् । त्यसबाट १ सय ४० क्विन्टल च्याउ उत्पादन भयो । उक्त च्याउ अर्घाखाँची, गुल्मी, परासीका थोक व्यापारीलाई बिक्री गरेको उनले बताइन् । च्याउ खेतीमा छोरी र छोराले समेत सघाउन थाले । कमाउन बिदेसिएका श्रीमान्लाई समेत घरमै आम्दानी हुने बताएर उनले ५ वर्षमै फिर्ता बोलाइन् । त्यसपछि उनको कृषि कर्म झनै फस्टायो ।


एक किलो च्याउको १ सय ४० रुपैयाँसम्म बजार भाउ पर्दा बिनाले लगानीसँगै आधाभन्दा बढी नाफा कमाउन थालिन् । हरेक वर्ष कात्तिकदेखि वैशाख पहिलो सातासम्म उनले च्याउन खेती गर्छिन् । खेतीका बेला उनले थप ३ जनालाई रोजगारीसमेत दिने गरेकी छन् । च्याउ खेतीलाई थप बढाएर ८ हजार डल्लासम्म राख्ने योजनामा रहेकी उनलाई यस कर्मबाट चिनाउन दायित्व, यूएनडीपी र नासो संस्थाले सघाएका छन् । ०६६ देखि ०७४ सम्म उनलाई यूएनडीपी र नासोले दुई वटा बुंगुर, च्याउका डल्ला बनाउने दुई वटा मेसिन, एउटा फ्रेस हाउस सञ्चालन गर्ने पसलसमेत खोलिदिएका थिए । त्यसबाट उनका श्रीमान्ले फ्रेस हाउस चालउन थाले ।

०७० मा दर्ता भएको बिनाको विशाल पशुपन्छी तथा कृषि फर्ममार्फत सिजनअनुसार काम हुने गरेको छ । वैशाखसम्म च्याउ खेती गर्ने र अन्य समयमा बंगुरसँगै कुखुरापालन पनि गर्छिन् । एक हजार ब्रोइलर कुखुरा पालेर उनले मासिक डेढ लाख बचाउने गरेको बताइन् । ‘बढी गर्मीमा चल्ला राख्दिनँ,’ उनले भनिन्, ‘च्याउको जति कमाइ नभए पनि बुंगर र कुखुराले पनि मलाई व्यावसायिक बनाएका छन् ।’ च्याउमा १ पटकमा ७ लाख लगानी गर्दा १४ लाख नै कमाइ हुने र कुखुरा र बुंगुरमा २ लाखसम्म नाफा हुने गरेको उनले जनाइन् ।

श्रीमान्ले सीप सिक्न जाऊ भनी दिएको साथ र छोराछोरीले घरको काममा सघाएकाले आफूलाई समाजमा चिनिन, व्यावसायिक कृषिमा लाग्न प्रेरणा मिलेको बिना बताउँछिन् । मिहिनेतले हाल मासिक सरदर ९० हजार रुपैयाँसम्म बचत हुने गरेको उनले सुनाइन् । ‘हामी सन्तुष्ट छौं । परिवारसँगै बसेर महिनामा ८०–९० हजार बचत गर्न सकेका छौं,’ भन्छिन्, ‘छोराछोरी पढाउन सकेका छौं । उद्यमी भनेर गाउँसमाजमा चिनिन पाएका छौं ।’

प्रकाशित : असार २२, २०८१ ०५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×