२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मेलम्चीको पानी रोकिने समय तत्काललाई पछि सर्‍यो

मनसुन सक्रिय नहुँदासम्म पानी आइरहने, शिवपुरी डाँडामा रहेको ढाप ड्यामबाट पानी ल्याइने 

काठमाडौँ — केही दिनअघि मात्र असार १ देखि मेलम्चीको पानी काठमाडौं ल्याउन बन्द गर्ने बताइरहेका मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूले तत्काललाई बन्द नगरिने उल्लेख गरेका छन् । मनसुन सक्रिय नहुँदासम्म मेलम्चीको पानी काठमाडौं पठाउन बन्द नगरिने उनीहरूको भनाइ छ । 

मेलम्चीको पानी रोकिने समय तत्काललाई पछि सर्‍यो

खानेपानी मन्त्रालयले बिहीबारबाट बन्द गर्ने निर्णय गरेको भए पनि उपत्यकामा पानीको समस्या बढिरहेकाले सहज हुँदासम्म पठाइने समितिले जनाएको छ । असार पहिलो साताबाट पानी बन्द गर्ने तयारीमा समिति थियो । अहिले उक्त क्षेत्रमा मनसुन सक्रिय भइसकेको

छैन । पानी परेर खोलोमा लेदो बग्न नथाल्दासम्म पानी बन्द नगर्ने योजना रहेको समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।

‘त्यसैले यही दिन पानी बन्द गर्ने भन्ने छैन, हाम्रो प्राविधिक टोली फिल्डमै छ,’ उनले भने, ‘म पनि फिल्डमै छु, केही दिन बसेर पानीको अवस्था हेर्छौं, बर्खा नहुँदा र धमिलो पानी नआउँदासम्म काठमाडौं पानी पठाउँछौं ।’

उपत्यकामा पानीको माग बढ्दो छ । खडेरीले गर्दा मूलहरू सुक्दै गएका छन् । ‘त्यसैले लगातार वर्षात् नहुँदासम्म पानी पठाउने हाम्रो योजना हो,’ लामिछानेले भने, ‘अहिले १९ देखि २० करोड लिटर पानी पठाइएको छ ।’ सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रको क्षमता १७ करोड लिटर मात्र छ । करिब ३ करोड लिटर पानी महांकालको पुरानो वितरण प्रणालीमा पठाइएको उनको भनाइ छ । ‘महांकालबाट पानी प्रशोधन गरेर वितरण गर्छौं,’ उनले भने, ‘काठमाडौंमा पानीका मुहान सुक्दै गएका छन्, यही बसेर अन्तिम अवस्थासम्म पानी पठाउनुपर्छ भनेर लागिपरेका छौं ।’

०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । गत असारमा बन्द गरिएको पानी ६ महिनापछि अर्थात् गत माघ १ देखि उपत्यकामा वितरण गरिएको थियो । तीन वर्षदेखि मेलम्चीको पानी सुक्खा मौसममा मात्र काठमाडौंमा वितरण गरिँदै आएको छ । त्यसैले अहिले पूरै समय पानी बन्द गर्ने सोचमा नरहेको कार्यकारी निर्देशक लामिछानेले बताए । मुहानभन्दा केही माथि नाकोटे क्षेत्रमा बाढी आए/नआएकोबारे जानकारी दिने गरी एक जना हेरालुलाई पारिश्रमिक दिएरै राखिएको छ । उनले दिएको बाढीको सूचनाका आधारमा तल्लो क्षेत्रमा रहेको मुहानबाट सुरुङमा पठाएको पानी बन्द गरिने उनको भनाइ छ ।

बीचमा घाम लागेको दिनमा कुनै समस्या आइनपरे पानी पठाउने सोचमा रहेको लामिछानेले जनाए । बाढीले गर्दा प्रत्येक वर्ष सडक सफा गरेर मुहानसम्म पुग्न समस्या हुने गरेको छ । तुरुन्तै एक्स्काभेटर लगेर काम गर्न समस्या हुने गरेको छ । त्यसलाई दृष्टिगत गर्दै एक्स्काभेटर लगेर राखिएको उनले सुनाए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को सेवाभित्र उपत्यकाका तीन जिल्लामा २ लाख ५६ हजार धारा छन् । तिनै धारामा मेलम्चीको पानी उपलब्ध गराइनेछ । अहिले उपत्यकामा दैनिक ४३ देखि ४७ करोड लिटर पानीको माग छ । तर वितरण भने २३ करोड लिटर हाराहारी मात्र छ । मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा पानी समस्या झन् थपिन्छ । अहिले दिन बिराएर पानी वितरण हुँदै आएको केयूकेएलका सूचना अधिकारी प्रकाशकुमार राईले बताए ।

‘मेलम्चीको पानी कहिले बन्द हुन्छ, थाहा छैन, पानीको माग धेरै छ,’ उनले भने, ‘मेलम्चीको पानी बन्द भए शिवपुरी डाँडामा रहेको ढाप ड्यामबाट ल्याउने तयारीमा छौं ।’ ढाप ड्यामबाट करिब ४ करोड लिटर पानी ल्याएर वितरण गरिने उनको भनाइ छ । ‘मेलम्चीको पानी बन्द गरिसकेपछि वितरण तालिका परिवर्तन गर्छौं,’ उनले भने, ‘केही दिन ग्यापमा पानी वितरण गर्ने गरी वितरण तालिका बनाउँछौं ।’ बर्खाका लागि मेलम्चीको विकल्प खोजिने उनको भनाइ छ । ‘समस्या धेरै नलम्बिएला, पानी पर्न थालेपछि सतह स्रोत पनि बढ्छन्,’ उनले भने ।

त्यस्तै मेलम्चीको मुहानमा पानी पथान्तरणका लागि बनाइएको ‘इन्टेक’ (हेडवर्क्स क्षेत्र) लाई सुरक्षित ठाउँमा सार्ने गरी डिजाइनको काम गरिने भएको छ । त्यसका लागि डिजाइन गर्ने गरी अन्तर्राष्ट्रिय परामर्शदाता छनोटको तयारी थालिएको छ ।

काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा ८ सय मिटर दूरीमा सार्ने तयारी छ । दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याइनेछ । यसअनुसार तीन चरण गरेर ५१ करोड लिटर पानी काठमाडौं ल्याउने भनिए पनि यो योजनाले अहिलेसम्म मूर्तरूप लिन सकेको छैन ।

दुई वर्षभित्र याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने गरी ठेक्का हुने समितिले जनायो । मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा १ हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमिमध्ये ७ सय किमि पाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।

प्रकाशित : असार १, २०८१ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x