कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

११ महिनामा चार हजार पर्यटक शुक्लाफाँटामा

कोरोना संक्रमणपछि आन्तरिक पर्यटक बढे पनि विदेशी पर्यटकको संख्या अझै वृद्धि भएन 
भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस वर्ष साढे ४ हजारभन्दा बढीले भ्रमण गरेका छन् । निकुञ्ज प्रशासनका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष एक हजारभन्दा बढी पर्यटक शुक्लाफाँटा प्रवेश गरेका हुन् ।

११ महिनामा चार हजार पर्यटक शुक्लाफाँटामा

जेठ मसान्तसम्म ४ हजार ५ सय पर्यटक निकुञ्ज प्रवेश गरेको निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जनाए । यसमा सार्क राष्ट्रका ९९ सय र अन्य विदेशी १ सय ३६ छन् । गत आर्थिक वर्षमा ३ हजार ५ सय ५७ पर्यटक मात्रै प्रवेश गरेको तथ्यांक छ ।

कोरोना संक्रमणपछि आन्तरिक पर्यटक बढे पनि विदेशी पर्यटकको संख्या भने अझै बढ्न सकेको छैन । प्रचारप्रसार सँगै भौतिक पूर्वाधारको अभावका कारण पर्यटक बढ्न नसकेको सरोकारवाला बताउँछन् । ‘प्रचारप्रसार पनि हुन सकेको छैन, भौतिक पूर्वाधारको पनि अभाव छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सेरोफेरोमा पर्यापर्यटन विकास विषयक अन्तर्क्रियामा निकुञ्जको वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले भने, ‘वन्यजन्तु बढेका छन्, पर्यटकले सहजै देख्न सक्छन्, अब पर्यटकलाई तान्न सक्नुपर्छ ।’ निकुञ्जभित्र सफारीका लागि बाटोको स्तरोन्नतिको काम पनि भइरहेको उनको भनाइ छ ।

फागुन ९ देखि सुदूरपश्चिम प्रदेश सरकारी निकुञ्ज सफारीका क्रममा गाडीमा लाग्ने राजस्वमा ५० प्रतिशत अनुदान दिएको थियो । निकुञ्ज सफारी गर्न गाडीको राजस्व २५ सय छ । ५० प्रतिशत अनुदान पाउँदा १२ सय ५० मात्रै पर्दछ । यसले पनि पर्यटकको संख्या बढेको देखिन्छ । कोरोना संक्रमण अघिसम्म पनि निकुञ्जमा घुम्ने पर्यटकको संख्या वार्षिक रूपमा दुई/अढाई हजार मात्रै हुन्थ्यो । तर त्यो संख्या अहिले बढेर दोब्बर भएको छ । आर्थिक वर्ष ०७८/७९ मा निकुञ्ज घुम्ने पर्यटकको संख्या २७ सय मात्रै थियो । निकुञ्जसँगै जोडिएको नयाँ कटानस्थित रानाथारू बस्तीमा सामुदायिक होमस्टे पनि सञ्चालनमा छ । निकुञ्ज घुम्न आउने पर्यटक रानाथारू होमस्टेमा बास बस्न सक्छन् । यहाँ रानाथारू संस्कृति संगै उनीहरूका परम्परागत परिकारहरू खान पाइन्छ । जसले पर्यटकलाई लोभ्याउँछ ।

यस वर्ष २५ सय हाराहारी पर्यटक होमस्टेमा बसेका छन् । उनीहरूमध्ये प्रायः निकुञ्ज घुमेर बास बसेको सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष परशुराम रानाले जनाए । आठ घरमा सञ्चालन गरिएको होमस्टेबाट प्रतिपरिवारले वर्षमा कम्तीमा डेढ लाखसम्म आम्दानी गरिरहेको व्यवस्थापन समितिले जनाएको छ । कोरोना संक्रमणका बेला रोकिएको हात्ती सफारी अझै सुरु हुन सकेको छैन । निकुञ्जले यसबारे पनि तयारी गरिरहेको बताएको छ । कोरोना संक्रमणअघिसम्म पिपरैयास्थित हात्तीसार पोस्टबाट नियमित रूपमा हात्ती सफारी हुने गरेको थियो ।

प्रकाशित : असार ४, २०८१ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×