कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बजेटबारे अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल 

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन् । 

बजेटबारे अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल 

सिंहदरबारस्थित अर्थमन्त्रालयमा मन्त्री पुनले सोमबार विकास साझेदारहरूसँग बजेटका विषयमा छलफल गरेका हुन् ।

अर्थमन्त्रीसँग बजेटका विषयमा छलफल गर्न विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास साझेदार तथा अन्तर्राष्ट्रिय विकास नियोगहरू स्वीट्जरल्याण्ड, डेनिस, फिनल्यान्ड, दक्षिण कोरिया, जापान, बेलायत, र युरोपियन युनियनका आवासीय राजदूत तथा ती देश सम्बद्ध द्विपक्षीय विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

छलफलका क्रममा अर्थमन्त्री पुनले आगामी बजेटमा सरकारका प्राथमिकता र सिद्धान्तलगायत विषयमा धारणा राखेको उनको सचिवालयले जानकारी दिएको छ । नेपालको विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन तथा निजी क्षेत्रका लागि अनुकूल लगानीयोग्य वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताएका थिए ।

सरकारले निर्धारण गरेका विकास लक्ष्य हासिल गर्न आन्तरिक स्रोत परिचालन मात्र पर्याप्त नभएकाले वैदेशिक लगानी वा सहायतामा जोड दिनुपर्ने अवस्थामा आफूहरू रहेको पुनले बताएका थिए ।

सरकार विकासका लाभहरू सबै जनतामा पुग्ने गरी समावेशी, समतामुलक र दिगो विकासको पक्षमा रहेको पुनले बताएका थिए । ‘सरकार समावेसी, समतामूलक र दिगो आर्थिक विकासमा केन्द्रित छ,' उनले भने, ‘नेपाली जनताको जीवन र जीविकोपार्जनमा परिवर्तन ल्याउन तथा विकासका लाभ सबैले उपभोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा हामी अघि बढेका छौं ।'

नेपालको विकास प्रयासमा विकास साझेदारहरूबाट निरन्तर प्राप्त हुँदै आएको सहयोगका लागि धन्यवाद दिँदै मन्त्री पुनले आगामी दिनमा पनि सहकार्यले थप उच्चता प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित : वैशाख ३१, २०८१ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×