२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

लेखा व्यवसायीको सम्मेलन बिहीबारदेखि काठमाडौंमा

काठमाडौँ — लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा आयोजना हुने लागेको छ । चार्टर्ड एकाउन्टेन्टहरूको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आयोजनामा दुईदिने सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा नेपालको लेखा प्रणालीमा भएको विकास, अन्तर्राष्ट्रिय अभ्यास र आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयमा प्रस्तुतीकरण तथा गहन छलफल हुने आइक्यानका अध्यक्ष सुजनकुमार काफ्लेले बताए । ‘सम्मेलनमा एक हजारभन्दा बढी लेखा व्यवसायी सहभागी हुने अपेक्षा छ,’ उनले भने, ‘सम्मेलनको पहिलो दिन बिहीबार तीन वटा छलफल सत्र हुनेछन् । अन्तिम दिन शुक्रबार साना तथा मझौला व्यवसायको दिगो व्यावसायिक रणनीति, सहकार्यसहितको नियमन, व्यावसायिक सेवाको दक्षता अभिवृद्धि विषयमा छलफल सत्र रहनेछ ।’

सम्मेलनमा लेखा व्यवसायीहरूको अन्तर्राष्ट्रिय नियामक निकाय इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्स (आईएफएसी) का अध्यक्ष अस्मा रेसमौकीले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । अन्तर्राष्ट्रिय नियामक निकायका प्रमुखको सहभागिता हुनु नेपालका लागि महत्त्वपूर्ण भएको आइक्यानका पूर्वअध्यक्ष तथा काउन्सिल सदस्य युद्धराज ओलीले बताए । ‘नेपालले लेखा व्यवसायमा भित्र्याएको अन्तर्राष्ट्रिय अभ्यास सरोकारवालालाई सुनाउन र सरोकारवालाका कुरा सुन्ने उद्देश्यले यस्तो सम्मेलन आयोजना गर्न लागिएको हो,’ उनले थपे ।

प्रकाशित : वैशाख ५, २०८१ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?