कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आमाको कोख

यहाँ तपाईंले आफ्नो जीवन र संघर्षलाई बुझ्नुहुनेछ,'निर्देशकले यत्ति भनेपछि आफैंलाई कलाकार मान्नै पर्‍यो । कलाकार त बनियो, तर कुन भूमिकामा अभिनय गर्ने ? धेरै नसोचौं । यो नाटकमा तपाईंले अभिनय होइन अनुभव गर्ने हो । संवेदी नाटकको विशेषता नै यही ।
रीना मोक्तान

काठमाडौँ — आमाको कोखभित्र हुर्कँदा कस्तो अनुभव हुन्छ ? आउनुस् सँगै महसुस गरौं । 
मण्डला स्टुडियो थिएटरको प्राङ्गण । 'म्युजिकल चेयर'मा झैं गोलाकारमा मिलाएर राखिएका छन् कुर्सी । कुर्सीमा बसेर रामहरि ढकालको ब्रिफिङ सुनौं । 'यो एउटा संवेदी नाटक हो । यसमा कोही कलाकार छैनन्, तपाईं नै कलाकार ।

आमाको कोख

यहाँ तपाईंले आफ्नो जीवन र संघर्षलाई बुझ्नुहुनेछ,'निर्देशकले यत्ति भनेपछि आफैंलाई कलाकार मान्नै पर्‍यो । कलाकार त बनियो, तर कुन भूमिकामा अभिनय गर्ने ? धेरै नसोचौं । यो नाटकमा तपाईंले अभिनय होइन अनुभव गर्ने हो । संवेदी नाटकको विशेषता नै यही ।

आँखामा ठूल्ठूला चस्मा लगाइदिँदैछन्, पीपीई सुटमाथि लगाइने चस्माजस्तो । अगाडिका दृश्य प्रस्ट नदेखिने तर, धमिलो आकृति ठम्याउन सकिने । चस्माबाट मण्डलाभित्र पस्नेहरूको आकृति ठम्याउँदैछु । भोगटेको रुख छेउ उभिएको रंगकर्मी संयोग गुरागाईंजस्तै देख्छु, हो कि होइन ? चस्मा खोलौं फेरि निर्देशकले केही पो भनिहाल्ने हुन् कि !

ए होस्, चस्मा खोल्दिनँ । 'सिंगिङ बाउल'को मधुर धुनको तरंग कतै परबाट कानमा ठोक्कियो । धुनले अर्कै संसारमा पुर्‍याइदिँदै छ । यस्तो संसार जहाँ एकै क्षणअघिको म 'म' होइन । सिंगिङ बाउलको धुनमा कान नतमस्तक । त्यही धुनले डोर्‍याउँदै छ शून्यता/मौनतातर्फ । दाहिने खुट्टामा कसैको हात चलमलायो, मन सिरिङ्ग । म त कलाकार ! डराएकोजस्तो देखिनु भएन । झ्यार-झ्यार आवाज आउने चप्पल खुट्टामा बाँधिँदै छ । पैतलाले कति चाँडै टेक्ने भाग छोइसकेछ, कति नरम चप्पल । तर, यो झ्यार-झ्यार केको ? सोच्न नपाउँदै झल्ल्याँस बनाउने अर्को बोली,'मुख खोल्नुस् त'।

काँपेको ‍ओठलाई सामान्य बनाउँदै ओठ उघार्छु । काठको टुप्पो मुखभित्र पस्यो, त्यसमा अड्किएको चिजलाई जिब्रोले चाखिहाल्यो । छ्या ! कस्तो स्वादहीन । अर्को काठको टुप्पो मुखभित्र, योचाहिँ कति मिठो । गुलियो महजस्तै । घिउजस्तो पनि । जिब्रोले कति चाँडै स्वाद पत्ता लगाइहाल्ने । जिब्रोले दिमागलाई त्यो गुलियो वस्तु हो भन्ने कुराको सञ्चार कति सेकेन्डभित्र गरिसक्छ होला ? यो मह नै हो कि घिउ ? यही स्वादलाई नै किन मह भनियो होला ? अथवा घिउ । जिज्ञासा र प्रश्न त कति- कति ? यहाँ उत्तर आफैंले त खोज्ने होला । पाँच इन्द्रियबाट भिन्न-भिन्न अनुभूति दिलाउने यो नाटकमा अझै के-के चाख्न, सुन्न, हेर्न, सुँघ्न र छाम्न पाइने हो ? उत्साहले मन फुरुङ्ग ।

फेरि कसैले बसेको ठाउँबाट उभ्याउन मद्दत गर्दै छ । के गरुँ ? को हो त्यो उभ्याउने मान्छे ? दिमागले सोच्न सकिरहेको छैन । चस्माबाट भ्याउन्जेल हेर्छु, तर कोही देख्दिनँ । सायद पछाडि उभिएका होलान् । उनको सहारामा उभिएँ । लगत्तै ज्याकेटजस्तो केही लगाइदियो‚ त्यो पक्कै कुर्सीमा बस्नुअघि छेउमै झुण्ड्याइएको 'विन्डचिटर' हुनुपर्छ । अब कतै डोर्‍याउँदै छन्, पाइला त्यतै अघि बढ्दै छ स्टुडियो थिएटरतिर । अगाडि लम्कँदै गरेका अन्य साथीहरूलाई पच्छ्याउन थाल्छु । 'एड्रिनल रस' सक्रिय भइसक्यो ।

निष्पट्ट अँध्यारोभित्र धकेलिएँ । अगाडिका साथीहरू एक ठाउँमा अडिएछन् । म त्यहीँ उभिएँ । आफ्नाहरूका छेवैमा छु भन्ने आभासले सुरक्षित महसुस गरायो । फेरि त्यही झ्यार झ्यार आवाज । भाइ प्रसुन (संग्रौला)को डर र रोमाञ्चित आवाजले मौनता भंग गरिदियो । प्रसुनलाई कसैले धकेलिदिएको पो हो कि ? साथीहरू हल्लिँदै छन् त । उनीहरु हल्लिँदा आफैं पनि हल्लिँदै छु । आँखा तन्काएर हेर्छु, कालो आकृतिबाहेक केही देखिन्नँ । विस्तारै झ्यारझ्यार आवाजले कुनै दिशालाई समात्दै अगाडि बढ्यो । त्यही पाइलालाई पच्छ्याउँदै छु ।

ओह्हो यो के हो ? खस्रो-खस्रो बेलुनजस्तो फुकिएको वस्तु, हातले स्पर्श गर्‍यो । दुई हात फैलाउँछु, अँगालोमा पनि अट्दैन त ? देख्न नसक्नेले हात्तीलाई छामेको कथा दिमागमा घुम्यो । पृष्ठभूमिमा बज्दैछ, भर्खरै जन्मिएको बच्चाको स्वर । के म आमाको गर्भभित्र छु ? आमाको कोखजस्तै पुक्क फुलेको पेट । माथितिर हात लैजान्छु, फुलेको नितम्ब । म आमाको गर्भभित्र छु कि बाहिर ? ठम्याउन सकिरहेको छैन । दिमागले भन्दैछ, तँ गर्भभित्रै छस् । कति निश्चल, कति अद्भुत अनुभव । आमाको गर्भभित्र हुर्कँदै गर्दाको आभास नै कति मिठो । कोखभित्र हुन पाउँदाको हर्ष, मातृप्रेतले लुटपुटिए । अन्धकारमा छु भन्ने पनि बिर्सें । आमाको पेट छाम्दैछु । पेटको आकार पत्ता लगाउन दुई हातलाई फैलाउँछु । खुट्टालाई जमिनले तान्दैछ, तर बल गरेर पाइला चाल्दैछु ।

नाकको प्वालभित्र छ्वास्स ! धुँवा पस्यो । कसैले स्प्रे छर्किदिएको जस्तो छ । ज्यास्मिनको बास्ना हो कि ? नाकले खोज्न सुरु गर्‍यो । मिठो बास्नातर्फ नाक त्यतिकै तानिँदैछ । मिठा बास्नामा नाक कति चाँडै लठ्ठिने । नाकले त्यो सुगन्धको परिचय खोज्दैछ । हतार गर्दै त्यो बास्नालाई नाकले आफूभित्र लिँदैछ । कति लोभी नाक, कति उत्सुक । त्यो कडा सुगन्ध हावामै गायब । अब कहाँ जाउँ ? जीवनमा एउटा ढोका नखोलिए, सायद अर्को खोज्न जान्नुपर्छ । हो, बास्नाको बाटो बन्द भइसक्यो, म अन्तै मोडिँदै छु ।

त्यो गोलाकार बेलुनको आडमा अघि बढ्दैछु, साथीहरू ठोक्किन आइपुग्छन् । जीवनको यो यात्रामा कति ठोक्किएँ होला ? तर यात्रामा अघि बढ्न छोडिनँ । कतिले पछाडि धकेल्न खोजेँ, तर पाइला त्यहीँ रोकिएनन् । यहाँ पनि किन रोकिने ? अगाडि नै बढ्छु तर गन्तव्य कहाँ हो ? जीवनमा कहिलेकाहीँ कता जाँदै छु भन्ने हेक्का नहुँदा पनि त कदम चालिरहन्छौं हामी, एउटा झिनो आस बोकी ।

डरलाग्दो(इन्टेन्स) धुन बज्दै छ मन त्यसै आत्तिँदै छ । एकटक उभिन्छु, अगाडि बढौं केही पो हुने हो कि ? सायद यो भविष्यप्रतिको डरको आभास होला । यस्तो डर-अन्यौलता त जीवनमा भइहाल्छ नि । यात्रामा आइपर्ने सबै परिस्थितिको सामना गर्नु पो जीवन त । जीवनका आरोह-अवरोहमा डराउनु पनि त भएन । होस्, अगाडि बढ्छु । भित्तालाई छोडेर बीच्चतिर जाउँ, समाउन टेवा नमिल्ने डर । अगाडि बढ्न आड, भरोसा र सुरक्षा चाहिँदो हो, यही भित्ता समाउँदै अगाडि बढ्छु । डरलाग्दो धुन थामिँदै छ, मन हलुका । फेरि कानमा कसैले बेस्सरी फुक्यो । कुमले कति छिटो कानलाई छोपिसक्यो । कानलाई असुरक्षा हुँदा कुमले कति चाँडै सुरक्षा दिने ? प्रतिकार र प्रतिरक्षा पनि त आफैंभित्र हुँदो रहेछ ।

कसैले बेस्सरी पछाडिबाट धकेल्दै छ । हात फैलाउँछु, कति साँघुरो ठाउँ । जबरजस्त फुत्किएँ । दु:खले यसरी थिच्न/धकेल्न खोज्छ तर संघर्ष जारी राख्नुपर्छ । गन्तव्य पुग्न सजिलो हुन्न । त्यसैले म यो साँघुरो ठाउँबाट आफ्नो गन्तव्य भेट्याइहाल्छु । पसिनाको चिटचिट । बल्ल निस्किएँ । लक्ष्यमा पुग्ने यो यात्रामा थुप्रै बाधा/व्यवधान आउँछन्, यसरी डटेर/लडेर अगाडि बढ्नै पर्‍यो । अनि गन्तव्य भेटिन्छ । तर, अहिलेको मेरो गन्तव्य के ? कहाँ जाने, के गर्ने अत्तोपत्तो छैन ।

'झिमिक्क बत्ती बल्यो' अँध्यारोभित्र आँखाले त्यो बत्तीको झिल्को देखिहाल्यो । गन्तव्य भेटिएँझैं बत्तीतर्फ लम्कँदैछु । विस्तारै हातले भित्ताको आड छोड्दैछ । आँखा बत्तीमै केन्द्रित । गन्तव्यलाई नाङ्गा आँखाले देख्छ कि मनले? अहिले आँखाले देखिसक्यो । आँखा त्यही बत्तीमै अडिएको छ । गोलो आकारको बत्ती । अँध्यारोमा रुमल्लिनुको साटो, खुट्टाले पनि त्यही बाटो समात्दै छ ।

लक्ष्य प्राप्तिका लागि सायद तपाईंको ध्यान यसरी नै त्यहीँ केन्द्रित हुनुपर्छ होला । नजर यताउता गएको छैन । बत्तीको नजिक पुग्ने अठोट मनले लिइसक्यो । हिँड्न गाह्रो छ, तर बत्तीको झिल्कोले आसा थपिदिएको छ । बत्तीको छेउ पुगें । आहा ! लक्ष्यमा पुग्नुको मज्जा कति आनन्दमय । संघर्षपछिको मिठो सफलता । हातले प्रकाशलाई स्पर्श गर्छु । प्रकाशमा हातलाई नियालें, बाहिरबाट कसैले त्यसरी नै छुँदैछ । सम्झें, 'यो त आमाको हात हुनुपर्छ, गर्भभित्रको मलाई सुम्सुम्याउँदै गर्दाको हात' । कति कोमल । कति ममतामयी छुवाइ । त्यो छुवाइले मुटु छेड्यो ।

अचानक बत्तीलाई कसैले छोपिदियो । एउटा लक्ष्य त पूरा भयो । तर, यो आकृतिमात्रै देखिने ठाउँमा कता बढौं ? पल्लो कुनाको सिलिङतिर बत्तीको अर्को मधुरो प्रकाश चम्कियो । एउटा गन्तव्यको चुचुरोले अर्को यात्रा देखाइहाल्छ नि । पहिलेभन्दा निर्धक्कले त्यही प्रकाशतर्फ अगाडि बढ्दैछु । गन्तव्यतर्फको सानो झल्को पाएर होला यो अँध्यारोसँग लड्ने साहस मिलेको छ । यदि हामीले गन्तव्यतर्फ नजर लगाइराख्यौं भने हामी पक्कै लक्ष्य नजिक पुग्नेछौं ।

त्यो गन्तव्यतर्फ पहिलो पाइला चाल्न नपाउँदै कसैले खुट्टामा ढकढक गर्‍यो । म अडिएँ, उनले जुत्ता खोल्दै छन् । आँखाबाट चस्मा हट्यो । हामी त कोठाजस्तो टेन्टभित्र पो रहेछौं । बेलुनजस्तो हावा भरिएको प्लास्टिकको टेन्ट । कालो आकृतिका साथीहरूलाई प्रस्टै देख्दैछु । कोठाको हावा विस्तारै फुस्कियो, टेन्ट खुम्चियो । 'अब गर्भमा बस्ने मेरो समय सकियो । म बाहिरी संसारका लागि तयार भइसकें,'यो अनुभवलाई सँगाल्दै गर्दा एक जनाले त्यहाँबाट बाहिर जाने संकेत गर्‍यो । बाहिरिँदै गर्दा लाग्दैछ, म आमाको गर्भबाट निस्कँदैछु । जन्मनु पनि त जीवन चक्रको एउटा महत्त्वपूर्ण पाटो हो ।

संवेदी रंगमञ्चमा जीवन र संघर्षका यस्तै अनेकन अनुभव बटुल्न चाहनुहुन्छ भने मण्डला स्टुडियो थिएटरमा मञ्चित ‍'चक्र'मा सहभागी हुनुहोस् ।

प्रकाशित : श्रावण ५, २०८० १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×