‘इपिसेन्टर’ रामीडाँडामा त्रिपालमुनीको त्यो रात
Highlights
- हरेक वर्ष दुई, तीन पटक हिमपात हुने बारेकोट झन् चिसिँदै गइरहेको होला । शीत पनि नछेक्ने त्रिपालले एक डिग्री चिसो कसरी छेकेको होला ? कराइचुलीको हिमालबाट आएको सिरेटोले बारेकोटका भूकम्प पीडितको मुट झन् काँपिरहेको होला ।
रुकुम पश्चिम चौरजहारी ६ खागलबाट ८० वर्षीय बुवाले जाजरकोट भूकम्पको त्रासदी सुनाएपछि काठमाडौं बसिरहन मनले मानेन । त्यसपछि भूकम्प प्रभावित क्षेत्रमा जाने मनस्थिति बनाइसकेको थिएँ ।
घरपरिवारको असहमतिबीच मैले त्यता जाने झोला तयार पारे । भूकम्प गएको दुई दिनपछि कात्तिक १९ मा जाजरकोट, रुकुम पश्चिम जाने व्यवस्था भयो । ‘विपत् घण्टी बजाएर आउँदो रहेनछ’ भनाइलाई सम्झिँदै भूकम्प पीडितका लागि राहत भरिएको नेपाली सेनाको स्काइट्रकमा म सुर्खेततिर उडेँ । सेनाको यो जहाजमा ५/७ वटा सिट थिए । सिटमा केही भीआईपी बसेपछि राहतका लागि लगिएको त्रिपालको पोकोमा बसेर म सुर्खेत विमानस्थल ओर्लेपछि राहत सामाग्रीसँगै तीनवटा शवका बाकस पनि ओरालिए । भूकम्प जाजरकोट, रुकुममा गएको थियो । शव इजरायलबाट काठमाडौं हुँदै सुर्खेत झारिएका थिए । हमासले इजरायल पढ्न गएका १० विद्यार्थीको हत्या गरेकामध्ये तीन विद्यार्थीको शवलाई सेनाको राहत बोक्ने जहाजमा सुर्खेत लैजाने व्यवस्था मिलाइएको रहेछ । विपत् उद्धार र राहतका लागि उडेको जहाजमा युद्धमा मारिएका तीन विद्यार्थीको शव यो एउटा संयोग मात्र थिएन, पीडादायी क्षण पनि ।
भूकम्पले जाजरकोट र रुकुम पश्चिममा डेढ सयको ज्यान गएपछि शोकमा डुबेको बेला ती तीन शवका बाकसले डोटी र सल्यानलाई पनि शोकाकूल बनाएको थियो । इजरायलमा हमास समूहले हत्या गरेका डोटीका राजन फुलारा, पदम थापाको शव बुझ्न आफन्त काठमाडौं आएका रहेछन् । सल्यानका प्रवेश भण्डारीका आफन्त आउन सक्नेछन् । उनका आफन्त दाङको तुलसीपुर विमानस्थल शव आउने आशामा बसेछन् । सुर्खेत विमानस्थलमा शव बुझ्ने आफन्त नभएपछि भौतिक योजना तथा पूर्वाधार मन्त्री एवं सल्यानका सांसद प्रकाश ज्वालाले हस्ताक्षर गरे । पढ्ने र कमाउने उद्देश्यमा बोकेर इजरायल गएका १० नेपाली विद्यार्थीलाई हमासले हत्या गरेको थियो । युद्धले निम्त्याएको त्यो त्रासदी र भूकम्पले ल्याएको विपत्तिबीच कुनै साइनो थिएन । तर यी दुवै घटनाले गाउँ शोकमग्न थिए ।
कात्तिक १७ गते मध्यरातमा टेलिफोन आएपछि म झसंग हुँदै ब्युँझेको थिएँ । मेरा आफन्तले रुकुम पश्चिममा ठूलो भूकम्प आएको खबर दिन मध्यरातमा फोन गरेका थिए । धेरै घर चर्केका र केही घर भत्केकाले सबै आत्तिएको खबर थियो । हामीले ०७२ को गोरखा र दोलखा भूकम्प भोगेकाले त्यहाँको त्रासदी सहजै अनुमान गर्न सकिन्थ्यो । राति नै सामाजिक सञ्जालमा रुकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय र भौतिक क्षति भएको खबर आइरहे । विपत्तिमा पहिलो ध्यान आफन्तहरु कोही परे कि ? भन्ने सबभन्दा पहिले डर हुन्छ । हाम्रो गाउँमा भूकम्पले केही घर ढलेका, अधिकांश घर चर्केको खबर आयो । मानवीय क्षति नभएको खबरले सन्तोष मान्ने ठाउँ थियो ।
०७२ को भूकम्पको रिपोर्टिङमा जाँदा देखेका दोलखा, सिन्धुपाल्चोक, रसुवाका भग्नावशेष गाउँका दृश्य स्मरणबाट हराइसकेका छैनन् । भूकम्पले ल्याएको विध्वंसलाई प्रत्यक्ष भोगेका क्षण नबिर्सँदै जाजरकोट भूकम्प गयो । भूकम्प गएको ठाउँमा किन जानुपर्यो ? भन्ने घरपरिवारका सदस्यको प्रश्नबीच म प्रभावित क्षेत्रमा नजान मनले मानेन । जाजरकोट भूकम्पले गृह जिल्ला र मेरै नगरपालिका र गाउँलाई यो दुःखको बेला टाढैबाट रमिते बन्नु सायद भविष्यमा पछुतो लाग्न सक्थ्यो ।
रुकुमबाट दक्षिण पश्चिम बगिरहेको सानीभेरी सङ्लो थियो । उत्तरबाट दक्षिण बगिरहेको ठूली भेरी नीलो कञ्चन थियो । दुवै भेरी मिसिने रिम्ना दोभान उस्तै सुन्दर देखिन्थ्यो । सुसेली हाल्दै बगेको भेरी किनाराका बस्तीमा भने पीडितका चित्कार । दुवै भेरी किनाराका बस्ती एउटा पनि सग्लो थिएन । रुकुमको सानीभेरी गाउँपालिका, जाजरकोटको भेरी, नलगाड, बारेकोट, कुशे गाउँपालिकाका तिहारको मुखमा भूकम्पको ताण्डव नृत्यले ल्याएको विध्वंसले स्थानीयको मात्र होइन, त्यो देख्नको मन क्षतविक्षत हुन्थ्यो ।
रुकुम पश्चिम गएको पहिलो दिन रुकुम पश्चिमको सानीभेरी गाउँपालिका चाइनाबगर, मेघाका गाउँमा सर्वस्व गुमाएर भरोसा खोजिरहेका शोकाकुल अनुहार शीत पनि नओत्ने त्रिपालमुनि थिग्रिएका थिए । न समाउने हाँगो रहृयो, न टेक्ने जमिन भनेजस्तै । न घर रहेका, न आफन्त, न खेती गर्ने जमिन, न भित्र्याएको अन्नबाली, न दुध खाने भैंसीनै । उनीहरुसँग थियो केवल खण्डहर भत्केका घर । ती परिवारको दुःख र पीडा हामीले कल्पना गरेभन्दा धेरै गुणा बढी । भूकम्पको मनोवैज्ञानिक त्रासले हावाले रुखका पात हल्लिँदा पनि उनीहरु डरले कापिरहेका थिए । टार्नै नसकिने दुःखको भूमरीमा पनि उनीहरु भग्नावशेषमा आशा खोजिरहेका थिए । घरले थिचिएका घाइतको उद्धार गरेपछि ती ठाउँबाट सरकार वेपत्ता भएको थियो । सुन्दर सानो संसार मध्यरातमै खण्डहरु बनेपछि आकाशमा हेलिकप्टर उड्दा आशाको नजरले हेर्ने पीडितहरुका दुः ख जति भने पनि कमै हुन्छ ।
रुकुम सहकर्मी महेश केसी र म सानीभेरी १ चाइनाबगर पुग्दा एक छोरा, दुई नाती र एक बुहारी गुमाएका प्रेम पुन एक्लै बर्बराइरहेका थिए । भत्केको घर छेउमा मगर परम्पराअनुसार शुद्धिकार्य चल्दै थियो । आफन्तहरु कोही बोल्न सक्ने अवस्था थिएनन् । एउटै घरका चार व्यक्ति भूकम्पले लगेपछि उनीहरु मन शान्त पार्ने प्रयास गर्दै थिए । ‘मन बुझाऊँ कसोरी ?’ उनी बर्बराउँदै थिए । घर त अरुका पनि ढलेका थिए, तर उनका चार परिवार घरले च्यापेर कहिल्यै नआउने गरी भूकम्पले लगेको थियो । भूकम्पमा भौतिक, मानवीय क्षति नहुने कोही थिएन । सबैले केही न केही गुमाएकै थिए ।
०००
भूकम्पले बढी मानवीय क्षति भएको जाजरकोट भेरी, नलगाड, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा सबैको ध्यान केन्द्रित थियो । जाजरकोट भूकम्पको केन्द्रबिन्दु बारेकोट १ रामीडाँडा चर्चामा आए पनि सञ्चारमाध्यममा स्थलगत रिपोर्टिङ कमै आएको थियो । भूकम्पपछि त्यहाँको अवस्था कस्तो छ ? चासो हुनु स्वाभाविक थियो । भूकम्प गएको दिनदेखि रातदिन दौडिरहेका जाँगरिला सहकर्मी महेश केसीेमा इपिसेन्टर पुगेर रिपोर्टिङ गर्ने हुटहुटी बेगवान थियो । ‘भूकम्पको इपिसेन्टर रामीडाँडा डेटलाइनमा समाचार लेख्ने ठूलो चाहना छ । जाऔ है’ महेशको प्रस्ताव स्वीकार नगर्ने कुरै थिएन । जाजरकोट सदरमुकादेखि करिब ३३ किलोमिटर टाढा जोखिमयुक्त मोटरसाइकल यात्राका लागि हामी तयार भयौं । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट, सानीभेरी नगरपालका सिम्ली, चाइनाबगर, जाजरकोटको रिम्ना, रुकुम पश्चिमको छेपारे, चिसापानी हुँदै ठूली भेरी तरेर जाजरकोटकै कालीमाटी हुँदै बारेकोट रामीडाँडासम्मको यात्रा तय भयो ।
महेशले यात्राका लागि मोटरसाइकललाई एकपटक जाँच गराए । रुकुम पश्चिम सदरमुकाम मुसिकोटदेखि रिम्नासम्म मध्यपहाडी राजमार्ग पिच भएपनि बाँकी सडक कच्ची छ । त्यही कच्ची बाटो हुँदै नलगाडको तिरैतिर हाम्रो यात्रा सुरु भयो । गहिरो खोल्सामा उफ्रिदै बगेको नलगाडको दुवै किनारामा भीमकाय पहाड छन् । नलगाडको किनाराका पातलो बस्तीमा कतैकतै सानासाना बजार छन् । बारेकोट गाउँपालिकाका प्रमुख एवं पूर्वपत्रकार वीरबहादुर गिरीलाई सडकको अवस्था बुझेपछि हाम्रो इपिसेन्टर यात्रा तय भएको थियो ।
भूकम्पको पराकम्पन गइरहेको थियो । हामी रामीडाँडाको यात्रा गरिरहेका बेला पनि कम्पन गइरहेका थिए । कात्तिक १७ पछि ४८० बढी पराकम्पन गइसकेको रेकर्ड थियो । जाजरकोटको कालिमाटीदेखि बारेकोट लिम्सा सडकमा ठूल्ठूला ढुंगा खसेका थिए । ढुंगा खसेका डोब आलै थिए । त्यसबाट अनुमान लगाउन सकिन्थ्यो कि ती ढुंगा भूकम्प गएपछि सडकमा खसेका थिए । पराकम्पनले माथिबाट ढुंगा खस्ने जोखिम थियो ।
मनमा डर र रामीडाँडा पुग्ने हुटहुटी लिएर यात्रा जारी थियो । जस्तोसुकै अप्ठ्यारो बाटोमा पनि मोटरसाइकल चलाउन काबिल महेश यात्राको क्रममा भन्दै थिए, ‘यही वर्षामा बारेकोटमा पहिलो जाँदा म एक्लै म पैदल आइसकेको छु । केही अप्ठ्यारो हुँदैन । हाम्रो यात्रा सफल हुनेछ ।’ नलगाडको गाडी हिँड्ने काठको अस्थायी पुल, झोलुंगे पुलमा मोटरसाइकल घिसार्दै हामी अघि बढ्यौँ । दुई पटक मोटरसाइकल खोलामा डुब्यो, महेशले बल्लबल्ल तारे ।
यात्राको क्रममा हामीलाई एउटै मात्र डर थियो । फेरि भूकम्प आयो भने माथि पहरा र तल नलगाड भएको सडकमा के गर्ने ? माथिबाट ठूला ढुंगा हाम्रै टाउकोमाथि बज्रिने खतरा थियो । हाम्रो सल्लाह भयो, ‘भूकम्प गयो भने सडक चट्टान काटेर बनाएको सडकको भित्तातिर आड लाग्ने । ढुंगा खसे पनि छल्न सकियोस् ।’
हालसम्म वैज्ञानिकहरुले भूकम्प कतिबेला जान्छ भन्ने समय पत्ता लगाउन गर्न सकेका छैनन् । वैज्ञानिकले भूकम्पको जोखिम क्षेत्र पत्ता लगाए पनि समय पत्ता लगाउन अनुसन्धान जारी राखेका छन् । हाम्रो रामीडाँडा इपिसेन्टरको यात्रा ‘भगवान भरोसा’ थियो । किनकी जतिबेला पनि पराकम्पन जान सक्थ्यो ।
कात्तिक २२ मा हामी खोलानाला, काठे पुल, झोलुंगे पुल तर्दै करिब ६ घण्टाको मोटरसाइकल यात्रापछि रामीडाँडा पुग्यौं । मेरो कच्ची सडकमा सबभन्दा लामो मोटरसाइकल यात्रा थियो । शरद ऋतुको बारेकोट १ रामीडाँडा सुन्दर देखिन्थ्यो । तर भूकम्पले चिराचिरा पारेपछि रामीडाँडाको आफ्नै पिडा थियो । पहाडको थुम्कोमाथि अवस्थित रामीडाँडालाई भूकम्पले केन्द्रबिन्दु बनाएपछि यो एकाएक चर्चामा आएको थियो । त्यहाँ पुगेपछि हामीले बारेकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दामु पुनसँग त्यहाँको अवस्थाबारे जानकारी लियौं ।
‘भूकम्प गएको केही समयपछि रामीडाँडा केन्द्रबिन्दु भएको फेसबुकबाट थाहा पायौ’ उनको भनाइ थियो, ‘त्यसपछि मात्र हामीले कात्तिक १७ गते रातिनै प्रहरी परिचालन गरी प्रारम्भिक जानकारी लिएका थियौं । भूकम्प गएपछि वरिपरिका मानिसहरु चिच्याइरहेका सुनिन्थो ।’ बारेकोटको घामबाट चल्ने मोबाइल टावरले राति काम गर्दैन । त्यसकारण त्यसदिन बारेकोटका बासिन्दाले केही समयपछि आफ्नै ठाउँमा केन्द्रबिन्दु भएको थाहा पाए । इलाका प्रहरी कार्यालय रामीडाँडामा वाइफाइ भएकाले स्थानीयहरु राति नै त्यहाँ झुम्मिए । ‘हामीकहाँ नेट भएकाले स्थानीयहरु यही जम्मा भए । आफूहरु सञ्चै भएको आफन्तलाई खबर गरे’ प्रहरी निरीक्षक पुनले सुनाए ।
रामीडाँडाभन्दा केही माथि मगरसमुदायको सुन्दरवस्ती सिर्पाचौरमा सबभन्दा बढी क्षति पुगेको रहेछ । एउटै ढाँचाका घर चकनाचुर भएका थिए । चार घाइतेको उपचार भइरहेको थियो । स्थानीयले मानवीय क्षति नभएकोमा चित्त बुझाएका थिए । ‘भूकम्पको केन्द्रबिन्दुमा घर भत्के पनि मानवीय क्षति भएन । ज्यान बाँचे भत्केका घर बनाऔंला भनेर यसमै चित्त बुझाएका छौ’ स्थानीय शिक्षिका रीताकुमारी बोहराको भनाइ थियो । इपिसेन्टर रामीडाँडाबाट सहकर्मी महेशले कान्तिपुर टेलिभिजमा र मैले इकान्तिपुर डट कममा भिडियो र अडियोसहित लाइभ रिपोर्टिङ गर्यौं । सम्भवतः इपिसेन्टरबाट त्यो पहिलो लाइभ रिपोर्टिङ थियो ।
रामीडाँगामा रिपोर्टिङ गर्दागर्दै झमक्क साँझ पर्न थालिसकेको थियो । त्यहाँ पक्की संरचना भएका होटल थिएनन् । हामीले एक रातका लागि इलाका प्रहरी बारेकोटसँग त्रिपालमा बास माग्यौं । बिहान उठ्दा शीतले ओढेको सिरक भिजेको थियो । भूकम्पले थला परेको गाउँ झन् चिसिएको थियो । इपिसेन्टरको त्रिपालमुनिको त्यो रात धेरै पछिसम्म पनि यादगार हुनेछ ।
०००
जाजरकोट सदरमुकाम भेरी, नलगाड नगरपालिका, रुकुम पश्चिमको सानीभेरी र आठबीसकोट गइरहेका सयौं राहतका गाडी भेटिन्थे । बढी मानवीय क्षति भएकाले राज्य र राहत दिने सबैको ध्यान त्यतै थियो । तर नलगाड नगरपालिकाभन्दा माथितिर लागेपछि राहत बोकेका गाडी भेट्नै मुश्किल थियो । बारेकाटका करिब ८० प्रतिशत घर बस्नै नमिल्ने गरी चर्केका थिए । दिनरात तापक्रम एक डिग्री वरिपरि पुग्न थालेको थियो । भूकम्पपीडितले एक सरो त्रिपाल पाउन मुश्किल थियो । राहत दिनेहरु पनि सहज सडक भएको क्षेत्रमा बढी केन्द्रित हुँदा बारेकोट राहतको अभावमा छटपटाइरहेको थियो ।
बारेकोट गाउँपालिका प्रमुख वीरबहादुर गिरी छटपटीमा थिए । उनलाई भूकम्प पीडितले गुनासो गरिरहेका थिए । ‘आएको राहत कहाँ लुकायौं ? हामीलाई किन दिएनौं ?’ उनलाई जुन ठाउँमा गयो, त्यही घेरा हाल्थे । सरकारले इपिसेन्टरको पीडा नबुझेकोमा उनी हैरान थिए । कात्तिक २१ मा राष्ट्र्रपति रामचन्द्र पौडेल हेलिकप्टरबाट रामीडाँडा ओर्लेर राहतको कमी नहुने आश्वासन दिएका थिए । ‘राहत राख्ने भण्डार रित्तिइसक्यो । राहत सकियो भने पनि पत्याइरहेका छैनन्’ उनले हैरानी सुनाए, ‘दाताले राहत दिन सुगम क्षेत्र रोजे, हाम्रो पहुँच पुगेन ।’
कात्तिक २३ मा हामी बारेकोटको उत्तरपूर्वमा रहेको कराइचुली हिमालमा झुल्केघाम लागेसँगै रामीडाँडाबाट नलगाड खोलाको गति पछ्याउँदै फर्कियौं । जाजरकोट रिम्ना दोभान पुगेपछि महेशले यात्राको बिट मार्दै भने, ‘यो यात्रा धेरै पछिसम्म पनि यादगार हुनेछ । कहिलेकाहिँ विपत्ले पनि सम्झनालायक यात्रा गर्ने मौका दिन्छ ।’
हरेक वर्ष दुई, तीन पटक हिमपात हुने बारेकोट झन् चिसिँदै गइरहेको होला । शीत पनि नछेक्ने त्रिपालले एक डिग्री चिसो कसरी छेकेको होला ? कराइचुलीको हिमालबाट आएको सिरेटोले बारेकोटका भूकम्प पीडितको मुट झन् काँपिरहेको होला । यो टाढाबाट गरिएको अनुमानभन्दा बढ्ता दुः ख हुन सक्छ ।
प्रकाशित : मंसिर ७, २०८० १७:१३