कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बंगलादेशको सल 

सल नओढी हिँड्यो भने बंगलादेशमा महिलाहरूलाई अलिक अहसज हुँदोरहेछ । सबैले आफूतिरै घुरिरहँदा रहेछन् । त्यसैले मैले पनि सल लगाएँ । भोलिपल्ट ‘लैंगिक समानता’ विषयमा ठूल्ठूला गफ लगाउनु थियो । मनमनै सोचें व्यवहार र वास्तविकतामा कति फरक छ ?
मधु शाही

काठमाडौँ — चक्लेटको पिस र बर्गरको स्वाद मुखमै थियो । एयरलाइन्सका कोपाइलटले छिट्टै प्लेन अवतरण हुन लागेको जानकारी दिए । एक घण्टा २० मिनेटको आकाश यात्रापछि भुईं हेर्दा मौसम धुम्म थियो, तुवाँलो लागेर ।

बंगलादेशको सल 

विमान बंगलादेश एयरलाइन्सको बन्द झ्यालबाट तल हेर्दै साथी सिता बिकले भनिन्,‘झापा आए झैं लाग्यो है ।’ उनको कुरा सबैलाई घत परेछ, जसले सुने सबै मज्जाले हाँसे । हामीभन्दा पछिल्लो सिटमा बसेकी पवित्रा दिदीले थपिन्, ‘यहि हो त विदेश ?’ इन्टरनेशनल एयरयोर्ट अनुभव उनको पहिलो थियो । उनीसँगै कर्णालीकी हजा विश्वकर्मा थप अनौठो मान्दै थिइन् । प्लेन चढ्ने रहरै नपुगी ओर्लिनु पर्‍यो, कति छिटो आइयो त ?’

जति छिटो ओर्लियो उति नै छोटो दिनमै हामी फर्किनु थियो । जम्मा तीन दिनको कार्यक्रम सेड्युलमा बंगलादेशको ढाका पुग्दै थियौं । आर्टिकल १९ बंगलादेशको निम्त्तोमा नेपालबाट दलित महिला संघ(फेडो) र प्लान इन्टरनेशनले पत्रकार र अधिकारकर्मीलाई सहभागी गराएको थियो । प्लेन अवतरण हुँदा भित्री परिवेश असाध्यै रोचक थियो । एयरपोर्टभित्र पसेपछि चेकिङ गर्ने क्रममा हामीले अन्तर्राष्ट्रिय एयरपोर्ट आएको बल्ल महशुस गर्‍यौं । झन्डै तीन घण्टाको अवधिपछि आयोजकको होटलमा पुग्यौं । होटलमा बस्दै गर्दा प्लान इन्टरनेशनले नेपालकी प्रतिनिधि कविता चापागाईंले थोरै ब्रिफिङ गरिन् ।

टप्समा सल ओडेर उभिएकी थिइन् । यति मात्रै होइन, उनको पहिरनसँगै भावमा पनि केही परिवर्तन देखिन्थ्यो । काठमाडौंमा चिसोबाट आत्तिएका हाम्रा गर्मीका लुगा सुटकेसभरी थिए । बंगलादेशमा तराईको झल्को दिने गर्मी थियो । कविताले मौसमको कुरा गर्दै गर्दा सलको ओड्नुको अर्को कारण सुनाइन् । ‘यहाँ सल नओढी हिँड्यो भने अलि 'अड' हुँदोरहेछ’, उनी भन्दै थिइन्,‘सबैले आफूतिरै घुरिरँहदा रहेछन् ।’ उनले यो भनिरहँदा सकेसम्म सलै ओडेर हिँड्नु भन्ने अप्रत्यक्ष सुझाव दिइरहेकी थिइन् । देश छोडेर विदेश जाने कुराले कतै न कतै स्वतन्त्र महशुस भएको थियो । यहि मनोविज्ञान बोकेर धेरै साथीले पाइन्ट, सर्ट र अलि आधुनिक लुगा बोकेका थिए ।

अरु बेला नेपालमा हुदा स्कुटर चलाउन सल अनिवार्य बेर्थेँ । बंगलादेश जाने धुनमा सल जरुरी ठानिन, त्यसैले बोकिन । देश अनुसारको भेस गर्नै पर्‍यो । मेरो स्थिति देखेर पवित्रा दिदीले आफूले बोकेको दुई सल मध्ये, एउटा मेरो हातमा थमाइदिनु भयो । कालो रंगको सल । मुखै छोप्ने गरि बेरेर देखाउँदै भने, ‘ल ठ्याक्कै बुर्का जस्तो भएन त ?’ मेरो अभिनयले सबै केहिबेर हाँसे । तर, मनमा भने कता कता स्वतन्त्रता खुम्चिएकोमा चिसो थियो । भोलीपल्ट ‘लैंगिक समानता’ विषयमा ठूल्ठूला गफ लाउनु थियो । मनमनै सोचे व्यवहार र वास्तविकतामा कति फरक छ ?

घुमफिर गर्ने समय थिएन । त्यसैले त्यो दिन रातभरी साथीहरु ढाकाको नजिकै पर्ने मार्केट घुम्यौं । रिक्सामा चढेर १० किलोमिटरको दूरी पार गर्न ठ्याक्कै ५ घन्टा लाग्यो । ट्राफिक प्रहरी सडकमा देख्नै मुस्किल । देखिएका एक दुई जना पनि सिठ्ठी बजाउनुको सट्टा लट्ठी लिएर बस्दारहेछन् । त्यहाँ सिठ्ठी कम र लठ्ठीको बढी उपयोगिता देखियो । सिट्ठी बजाएको कसैले सुन्दै नसुन्ने । त्यो भन्दा झ्याम-झ्याम्म लठ्ठीले रिक्सा र गाडी ठटाउँदै बसेको देखें । मोटरसाईकलको सिसा कुनै पूर्व त कुनै पश्चिम घुमेको छ । चालकले हेलमेट लगाएको देखिएन, बरु पछाडि बस्ने कसै-कसैले टाउको जोगाउन हेल्मेट लगाएका देखिन्थे ।

घुम्दै गर्दा प्लान इन्टरनेशनल बंगलादेशकी प्रतिनिधिले रिक्सामा यात्रा गर्दा त्यहाँको परिवेसबारे सुनाउँदै गइन् । ‘तपाईंहरुलाई अचम्म लाग्न सक्छ, बुर्का नलगाई हिँडेका महिलालाई यहाँ अलि घुरेरै हेरिन्छ’, उनले भनिन्,‘ म नेपाल घुम्न गएकी छु । तर, त्यहाँ जति महिला खुलेर जिउछन्, त्यस्तो यता निकै कम छ ।’ आकाशै छुन आँटेका भवन र चिल्ला सडक हेर्दा यहाँको विकासको स्तर मापन गर्न गाह्रै पर्छ । सडकमा माग्नेहरुको संख्या, महिला, बालबालिकाको दयनीय अवस्था हेर्दा देशको मानव विकासस्तर पींधमै भएको महशुस गरे । बंगलादेश गुणस्तरीय शिक्षाको हब पनि हो । तर, यहि देशमा अशिक्षाको चरम अभाव भोग्नेहरु पनि उत्तिकै छन् । बंगलादेशको तीन दिने छोटो बसाइले आफ्नो देशको स्वतन्त्रता र आत्मीयताको अनुभूति झन् नजिकबाट गर्न पाए ।

खुलेर चित्त नबुझेको कुरा भन्न पाइने, जे रुचि लगाउन र घुम्न पाइने मेरो देश सँधै खुला आकाश जस्तै महशुस गरेकी थिए । यत्तिकैमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर निस्किँदै गर्दा गेटैमा कसैले ‘आपको कहाँ जाना हे ?’ भन्दै गरेको आवाज सुने । सुटकेश तान्दै नयाँ एक्जिट वेको ओरालो लाग्दै थिएँ । भारतीय जस्तो मानेर होला ती ट्याक्सी दाईले मसँग हिन्दीमा कुरा गरेका रहेछन् । मन नेपाली रुप भारती देखेर हो कि खै ? मैले ती दाईलाई जिस्क्याउँदै गाली गरे, ‘कहाँ दाई, तीन दिन के बाहिर गएको थिए, विदेशी बनाइदिहाल्ने ? म त नेपाली हुँ नि ।’ ट्याक्सी वाला दाई लाजैले भुतुक्कै भए । म कोठातिर लागें

प्रकाशित : पुस ९, २०८० १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?