कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

यौन दुर्व्यवहारमा परेकी किशोरीलाई एक्लो बनाउने परिवार र समाज

हुन त एक पत्रकारले समाचार लेख्नु पेशागत धर्म हो । तर यौन दुर्वव्यवहारमा परेकी पीडित किशोरी, जो समाज परिवारबाट एक्लो र अपहेलित बनिन् उनको बारेमा समाचार मात्रै लेखेर पुगेन । अनि मैले काठमाडौंसम्म पुर्‍याउने कामको समन्वय गरेँ ।

अछाम — गत पुस ८ गते अछाम सदरमुकाम मंगलसेनबाट करिब १ सय किलोमिटरको दूरीमा रहेको जिल्लाको पूर्वी क्षेत्र तुर्माखाँद गाउँपालिकामा म रिर्पोटिङको सिलसिलामा पुगेकी थिएँ ।

यौन दुर्व्यवहारमा परेकी किशोरीलाई एक्लो बनाउने परिवार र समाज

घर फर्किन अबेर हुने भएपछि म त्यतै बसेँ । त्यही साँझ झिसमिसे अध्याँरो भइरहेको समयमा तुर्माखाँद बजारमा एकाएक एक किशोरीले आत्महत्याको प्रयास गरेको र आमाले ती किशोरीको डोरी काटेको खबर सुनियो ।

पत्रकार टेकबहादुर थापालगायतका तुर्माखाँदका केही मान्छे मेरै छेउमै थिए । ती किशोरीले किन आत्महत्याको प्रयास गरिन् भनेर मैलै त्यहाँ भएका केही मान्छेहरुलाई सोध्न खोजे । वास्तविकता थाहा नभएको भन्दै धेरैले भन्न चाहेनन् । छेउमै रहेका एक जना व्याक्तिले भने ,‘ बलात्कारको घटना रहेछ । गाउँमा मिलाउन खोजेपछि उनले मानिनन् । आज दिउँसो तुर्माखाँद बजारसम्म न्याय पाइन्छ की भनेर आएकी रहिछन् । यता कसैलाइै नभेटेपछि घरमा गएर आत्महत्याको प्रयास गरेकी रहिछन् ।’

त्यो कुरा सुनिसकेपछि मलाई त्यो घटनाबारे झन् जान्न मन लाग्यो । रातीको समय भएकाले ती किशोरीलाई भेट्न सम्भव भएन । तुर्माखाँदमा रहेको स्वास्थ्य चौकीमा उनलाई त्यही राती अचेत अवस्थामा पुर्‍याइएको थियो ।

बिहानै मैले ती किशोरीलाई भेट्ने योजना बनाए । स्थानीय प्रहरीको सहयोगले मैले ती किशोरीको अवस्था र घटनाको बारेमा प्रारम्भिक जानकारी लिइसकेकी थिएँ ।

पुस ९ गते बिहान ती किशोरीलाई भेट्न स्वास्थ्य चौकी पुगेँ । स्वास्थ्य चौकीको बाहिर उनको गाउँका भद्र भलाद्मी सबै जम्मा भइसकेका थिए । त्यो घटनालाई सबैले आफ्नो-आफ्नो तरिकाले व्याख्या गरिहेका थिए । ती किशोरीलाई भेट्न म र पत्रकार टेकबहादुर थापा गयौं ।

हामी भेट्न गएको समयमा ती किशोरी अचेत अवस्थामा थिइन् । मुखबाट फिँज निकालेर बेहोस् भइरहेकी उनमा छटपटी मात्रै देखिन्थ्यो । त्यता सञ्चो नभएपछि उनलाई जिल्ला अस्पताल रेफर गरियो ।

घटनाको वास्तविकता बुझ्न उमेरले ६५ वर्ष पार गरेकी किशोरीकी आमालाई एकान्तमा लगेँ । उनकी आमाका अनुसार पुस ७ गते तुर्माखाँद बजारबाट घर जाने क्रममा २९ वर्षका सर्प विकले उनलाई हातपातसहित बलात्कारको प्रयास गरे । मदिराले लठ्ठ भएका विकले बजारबाट घर जाने बेलादेखि नै ती किशोरीलाई पच्छ्याइ रहेका थिए ।

घरनजिक पुग्ने बेला मदिराले मातेका सर्पले जब उनको शरीरमाथि आक्रमण गर्न थाले तब ती किशोरीकी आमाले सुनिन् । आमा घटनास्थल नपुग्दै भागेका विकले घर पुगेर गल्ती गरेँ माफ गर्नुस् भन्दै फोन गर्न थाले । उनकी आमाकाअनुसार घटनाको पछिल्लो दिन जनप्रतिनिधि, केटापक्ष र किशोरीका आफन्तसहित गाउँलेहरु बसेर घटना गाउँमै मिलाउनुपर्ने भन्दै दबाब दिए ।

गाउँमा दुवै पक्षले किशोरीलाई आर्थिक प्रलोभनमा पारेर मुद्दा मिलाउने प्रयास गरिरहे । ‘घटना घटिसकेपछि गाउँमा जनप्रतिनिधिसहित अरुले अलिकति पैसा लिएर मुद्दा मिलाउन भने । ‘छोरीले मलाई पैसा चाहिँदैन यसले ममाथि आक्रमण गरेर इज्जत लुटेको छ । मलाई न्याय चाहिन्छ भनिन्,’ किशोरीकी आमाले कुराकानीको क्रममा भनेकी थिइन्,‘केटाले सबैका अगाडी मैले केही पनि गरेको छैन भन्न थाल्यो । घटना पनि नस्वीकार्ने र मुद्दामामिला पनि गर्नु हुन्न भन्न थाले । त्यो कुरा छोरीले मानिन ।’

उनकाअनुसार केटी पक्ष मुद्दामामिलामा गए उल्टै बदनाम हुने भन्दै किशोरीलाई फकाउन लागेका थिए । गाउँमा सबै मिलेर मुद्दामामिलामा जानबाट रोकेपछि ती किशोरी तुर्माखाँद गाउँपालिकाको कार्यालयसम्म पुगेकी थिइन । कार्यालयमा गएर कानुनी प्रक्रियामा जान खोजेकी किशोरीले कसलाई भेट्ने, के गर्ने मेसो पाइनन् । न्याय खोज्न गाउँपालिका केन्द्रमा पुगेकी किशोरी निराश हुँदै घर फर्किन् ।

किशोरीको पक्षमा बोल्ने उनका आमाबुवा बाहेक कोही भएनन् । २/३ जना जम्मा भएको ठाउँमा पनि यत्रो घटना हुँदासम्म लाजै नमानी हिँडेकी छ जस्ता कुरा काट्न थालेको ती किशोरीले सुनिरहिन् । सबैबाट तिरस्कार पाएपछि उनले आत्महत्या प्रयास गरेकी रहिछन् ।

‘मेरा श्रीमान घरको कामले तराई गएका छन् । छोरा बुहारी बम्बै छन् । घरमा छोरी र ममात्रै छौं । गाउँले भएका सबै एक भए, छोरीका लागि बोलिदिने कोही भएन’ उनकी आमाले रिर्पोटिङ्गको क्रममा भनेकी थिइन् ,‘दिउँसो म पनि गोरुबाख्रा चराउन गएँ । साथमा गइदिने अरु कोही भएन । साँझ घर आउँदा मेरो त कोही पनि रहेनछ भनेर आत्तिरहेकी थिइन ।’

उनका अनुसार आत्तिदै घरपुगेकी किशोरी छट्पटाइरहेकी थिइन् । ‘मेरो शरीरमाथि आक्रमण पनि गर्ने, समाजका मान्छे उल्टै केटाको पक्ष लिने, मेरो इज्जत नै गयो भन्न थाली । धेरै रोइकराइ गर्न थालेपछि म सम्झाउँदै थिएँ’ उनकी आमाले भनिन् ‘म खाना पकाउन थालेँ । गाइबस्तुलाई घाँस हाल्न गएका बेला गोठभित्र पासो लगाएर छट्पटाइ रहेको देखो र हत्तपत्त पासो काटेँ ।’

घटना मिलाउन खोज्ने जनप्रतिनिधि सबैसँग कुरा गरेर मंगलसेन फर्केर ‘यौन दुर्व्यवहार घटना मिलाउन खोज्दा किशोरीद्वारा आत्महत्या प्रयास’ शीर्षकमा कान्तिपुरमा समाचार लेखेँ । उक्त समाचार प्रकाशित भइसकेपछि किशोरीको गाउँका जनप्रतिनिधि , नेता , शिक्षक , प्राध्यापकदेखि सबैले समाचारमा आए जस्तो घटना होइन , यसले त गाउँकै बेइज्जत भयो भनेर चार दिनसम्म लगातार फोन गरिरहे । कतिले समाचार सच्याउन आग्रह गरे , कतिले धम्की दिए । तर म किशोरीको पक्षमा अटल थिएँ । घटनाको सबै जानकारी पत्रकारलाई किन दिएको भन्दै किशोरीकी आमालाई पनि केही आफन्तले थर्काए । ती किशोरीलाई दुर्व्यवहार गर्ने युवक राजनीतिमा प्रभाव पार्ने भोट कब्जा गर्न सक्ने खालका रहेछन् ।

जिल्ला अस्पतालबाट ती किशोरी डिस्चार्ज भएपछि प्रहरीमा जाहेरी दिने प्रक्रिया सुरु भयो । उनको दाइ नाता पर्ने एक जना युवक उक्त घटनालाई आफैं सम्हाल्ने भनेर कैलालीबाट अछाम पुगेका रहेछन् ।

मुद्दा दर्ताको लागि किशोरी जिल्ला प्रहरी कार्यालयमा पुगेको खबर थाहा पाएपछि म त्यतै पुगेँ । ती किशोरीका दाइ नाता पर्नेले घटनाको जानकारी पत्रकारलाई दिएको भन्दै उनकी आमालाई प्रहरी परिसरमै थर्काइरहेका थिए । नभएको घटनाको समाचार लेखेको भन्दै उनले मलाई पनि गाली गरिरहे । म उनकै छेउमा पुगिसकेकी थिएँ । उनले भने मलाई चिनेका थिएनन् । हुँदै नभएको घटनालाई बाहिर ल्याएर मेरो परिवारको बेइज्जत गर्ने त्यस्ता पत्रकारलाई त्यसै छोड्दिन भन्दै उनी ठूल्ठूलो स्वरमा कराइरहेका थिए ।

अन्तमा सहन नसकेर समाचार लेख्ने मै हो, ल म तपाईंकै अगाडी छु के गर्नु हुन्छ गर्नुस् भनेपछि उनी अक्मकिए । त्यसो होइन बहिनी भन्दै उनी मलाई प्रवचन दिन थाले । खासमा उनी पनि किशोरीको पक्षमा भन्दा पनि केटालाई मुद्दा हाल्न नहुने तरिकाले बोलिरहेका थिए ।

केही समयपछि वकिल खोजेर घटनाको सबै विवरणसहित जाहेरी लेख्ने कुरा भयो । ती किशोरी, उनका बुवाआमा र दाई वकिल कहाँ गए । जाहेरीमा किशोरीले आत्महत्याको प्रयास गरेको घटनाको बारेमा केही उल्लेख थिएन । मलाई सुरुबाटै शंका लागेर जाहेरीमा के बेहोरा आयो भनेर प्रहरीलाई सोधेँ । आत्महत्याको कुरा उल्लेख नभएको थाहा पाएपछि उनलाई फेरि सबै विवरण खुलाएर जाहेरी लेख्न पठाइयो ।

सबै प्रक्रिया पुरा गरेर जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भयो । गाउँका मान्छेले कुरा काट्ने , होच्याउने गर्न थालेपछि उनी त्यही गाउँमा फर्किन सकिनन् । ती किशोरीलाई केही दिन मंगलसेनस्थित सेफ हाउसमा राख्ने कुरा भयो । मुद्दा दर्ता भएपछि उनकी आमा र उनलाई सेफ हाउसमा पठाइयो । उनीसँगै आएका दाइ नाता पर्नेले ती किशोरीलाई सेफ हाउसमा राख्न दिएनन् । सेफ हाउसमै गएर मेरो बहिनीलाई यता राख्दिनँ, आफैंसँग कैलाली लगेर जान्छु भनेर उनले त्यताबाट जबरजस्ती लगे । सेफ हाउसका कर्मचारीकै अगाडी समाचार लेखेकै कारण घटना ठूलो भएको भन्दै मलाई नानाथरी गाली गरेछन् । र ती किशोरी उनका बुवाआमासहित लगेर कैलाली गए ।

कैलाली गएको केही समयमा बयान दिनका लागि ती किशोरीले अछाम आउनु पर्नेभयो । सबै जिम्मेवारी लिन्छु भनेर लगेका दाइले कैलाली पुगेपछि उनको साथ छोडे । भारतमा रहेका दाइहरुले पनि बलात्कार जस्तो मुद्दामामिलमा लागेको भन्दै ती किशोरीलाई मानसिक यातना दिइरहे । दाइहरुले कैलालीमा बनाएको घरमा बसिरहेका उनका बुवाआमालाई छोरीको पक्षमा बोल्ने भए घर छोडेर जान भने । एक महिना अगाडी बृद्धावस्थाका उनका बुवाआमा अछाम फर्किए ।

कक्षा ११ मा कैलालीमै भर्ना गरेकाले ती किशोरी भने त्यतै बसिन् । परीक्षाको फारम भर्न दाइहरुसँग पैसा मागिन् । पैसाको सट्टा उनले लगातार गाली पाइन् । घर छोडेर निस्किन दबाब दिन थाले ।

बुवाआमा अछाम आए , घरमा भएको पिठो चामल सबै सकियो । त्यसपछि उनी भोकै सुत्न थालिन् । दिनप्रतिदिन उनका दाइहरुले यातना दिइरहे । अप्रत्यक्ष रुपमा बयान फेरेर केटालाई छुटाइदिन र थप मुद्दामामिलामा नलाग्न उनलाई आफ्नै परिवारबाट दबाब आइरह्यो । तर उनले बयान फेर्न मानिनन् ।

तनाव सहन नसकेपछि ती किशोरीले मलाई एकसातादेखि निरन्तर फोन गरिरहिन् । परिवारको साथ नपाएपछि आत्महत्या गर्ने सोच आउन थालेको छ भन्दै उनी रुन थालिन् । सुरुवाती अवस्थादेखि उक्त घटनाबारे जानकारी भएकाले उनको सुरक्षित ठाउँमा व्यवस्थापन गर्न पाए हुन्थ्यो भन्ने कुराले पिरोलिरह्यो ।

हुन त एक पत्रकारले समाचार लेख्ने हो , सरोकारवालासम्म पुर्‍याउनुपर्ने हो । पेशागत धर्म नै यही हो । तर यौन दुर्वव्यबहारमा परेकी पीडित किशोरी जो समाजबाट एक्लो भइन्, परिवारबाट एक्लो भइन्, अपहेलित बनिन् उनको बारेमा समाचार मात्रै लेख्नु मात्र ठूलो कुरो होइन भन्ने लाग्यो ।

मैले घटनाको सबै जानकारी महिला आयोगकी अध्यक्ष कमला पराजुलीलाई गराएँ । जसरी पनि ती किशोरीको उद्धार गर्नका लागि आफू लाग्ने बताइन् । उनले पनि विभिन्न निकायसँग उनको व्यवस्थापनका लागि कुरा गरिन् ।

अन्ततः महिला आयोगकी अध्यक्ष र त्यहाँका केही कर्मचारीले उनलाई काठमाडौंमा बस्ने व्यवस्था मिलाए । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बीसीले यातायात खर्चको व्यवस्था गरे । अहिले उनी काठमाडौं पुगेकी छन् । अब उनको बाँकी समय काठमाडौंमा बित्ने छ ।

घटना घटेको होइन भन्दै ढाकछेप गर्न खोज्ने उनका गाउँका जनप्रतिनिधि , नेता , शिक्षक , प्राध्यापकलगायतका व्याक्तिहरु किशोरीले पछिल्लो समयमा भोगिरहेको पीडा र दुःखबारे अन्जान छन् । उनीहरुलाई त्यो समयमा पीडकलाई छुटाउनु थियो , उन्मुक्ति दिनु थियो । तर उनीहरु सफल भएनन् ।

प्रकाशित : चैत्र २५, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x