२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

सीप मेला कि कुम्भ मेला ?

पाठक पत्र

काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘सीप मेला’ देख्दा उदेक लाग्यो । यो साँचिक्कै सीप प्रदान गर्ने उद्देश्यद्वारा सञ्चालित हो कि बजेट सकाउन र प्रचारबाजीका लागि आयोजना गरिएको मेला हो ? एक त सीप मेला नै हो कि कुम्भ मेला आयोजना गरेको हो भन्ने छुट्याउन गाह्रो छ ।

अर्को यसरी कुम्भ मेलासरी आयोजना गरिएको सीप मेलामा सहभागीले कति नै सीप आर्जन गर्न सक्छन् र ? कुनै पनि सीपमूलक तालिमको प्रकृतिअनुसार निश्चित मापदण्ड हुन्छ । त्यस मापदण्डअनुसार नसिकिएको सीपको औचित्य हुँदैन ।

आधिकारिक सीप परीक्षण निकायबाट पास नभएसम्म सीपको प्रमाणपत्रको कुनै अर्थ रहँदैन । सीप भनेको आँखाले हेरेर र कानले सुनेर सिकिने विषयवस्तु होइन । उदाहरणका लागि समाचारमा उल्लेख भएअनुरूप टायल एण्ड मार्बल फिटर तालिमलाई लिऔं । के यो तालिम मेलाको कुनै कोठामा कसैले मार्बल यसरी काट्ने भनेर देखाएको भरमा सिक्ने विषय हो ? अटोमोबाइल तालिम भनिएको छ । सीप मेलामा यसका लागि उपयुक्त वातावरण छ ?

यो मेला यसरी आयोजना गरिएको छ कि देशमा सीप लिएका जनशक्ति नै नभए जस्तो अथवा देशमा कुनै पनि संस्थाले सीपमूलक तालिम दिँदै नदिए जस्तो । यस्तो तालिम आपत्कालीन अवस्थामा मात्र परिवेशअनुसार मात्र सञ्चालन हुन्छ । देशमा सीप लिएका दक्ष जनशक्ति नै बेरोजगार रहेको अवस्थामा यस्तो मेलामा दिइने आधारभूत (तथा देखावटी) तालिमबाट रोजगारी सिर्जना हुँदैन ।

यो महानगरपालिकाले करदाताको कर दुरुपयोग गरेको मात्र हो, बेकारको खर्च मात्र हो । यस्तो व्यर्थको तालिममा खर्च हुने बजेटलाई बरु बेरोजगार तर दक्ष सीपयुक्त युवाका लागि बीउ पुँजीका रूपमा महानगरपालिकाले लगानी गरेको भए देशको अर्थतन्त्रमा सानो भए पनि योगदान पुग्थ्यो ।
– रवीन्द्र सुवाल, काठमाडौं

प्रकाशित : वैशाख २४, २०८१ ०५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?