१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

उज्यालो छरेर अस्ताएकी लक्ष्मी

भीम शर्मा

‘मामु यो हजुरको लागि हो, अब ओढ्नुस् । आजदेखि हजुरले पनि रातो कपडा ओढ्न र लगाउन मिल्छ । ल यता फर्कनुस्, म अबिर पनि लाइदिन्छु ।’ १२ वर्षिय विवेक भट्टराईले यसो भनिरहँदा त्यो सार्वजनिक मञ्चमा सामाजिक कार्यकर्ता, शिक्षक, प्राध्यापक, धार्मिक गुरु, वकिल, राजनैतिक नेता–कार्यकर्ता, महिला समूह, किसान, व्यापारी, कवि, लेखक, कर्मचारी, विद्यार्थी, अभिभावक, पत्रकार र समुदायका अन्य प्रतिनिधिहरुको झण्डै पाँच हजारको उपस्थिति थियो ।

उज्यालो छरेर अस्ताएकी लक्ष्मी

त्यही भेलामा भएको अन्तर्क्रियाको निष्कर्षपछि विवेक मञ्चमा पुगेका थिए । अनि उनले हातमा रहेको र्‍यापिङ पेपर खोलर रातो दोसल्ला भएको सानो झोला आमा लक्ष्मीको हातमा थमाउँदै अबिरसहितको हात अघि बढाएका थिए । यो दृश्य हेर्दा हेर्दै लक्ष्मीका आँखाका डिल आँसुले भरिएका थिए ।

आमाको आँखाको डिलमा टलपल गरिरहेको आँसु देखेर विवेकले पनि आँसु थाम्न सकेनन् । सुँक्क सुँक्क गर्दै उनले आमाको निधारमा रातो टिकाको ठाडो धर्को तानिदिए । धेरैका निम्ती निधारमा एक धर्को रातो टिका सामान्य कुरा होला तर त्यो लक्ष्मीका जीवनको नयाँ यात्रा अनि दृढता र आत्मविश्वासको रेखा थियो । पतीको मृत्युपछि समाजले गर्ने व्यवहारबाट आत्मविश्वास गुमाएका अनगिन्ति ‘एकल महिला’हरु माथि भएको रंगभेदी परम्परामाथि ‘विजय’को प्रतीक थियो । बलशालीहरुले ‘एकल महिला’ माथी गर्ने अन्याय र हुर्काईएको विभेदकारी संरचनाविरुद्ध संघर्षको प्रतीक थियो त्यो- रातो ठाडो टिका ।

२०६१ फागुन १५ अपरान्हको समय थियो । त्यो समय उच्चतम चरणमा पुगेको एउटा अभियानको ‘संवेगात्मक क्षण’ थियो । लक्ष्मी भट्टराइले नै नेतृत्व गरेको गैंडाकोटका एकल महिलाहरुको समूहले झन्डै एक महिना पहिलादेखि विभिन्न प्रश्नका उत्तरहरु खोजिरहेका थिए । ‘एकल महिलाहरुले रातो रंग प्रयोग गर्न’ हुन्छ कि हुँदैन ? हुँदैन भने कहाँबाट, कुन प्रसंगमा र किन यो रंगभेदी अभ्यास नेपाली समाजमा सुरु भएको हो ? के हाम्रो समाजले यस कुप्रथालाई अपनाउनका लागि कुनै धार्मिक नीतिले नै नदिएको हो त ? के यो कुरा हाम्रो वेद, पुराण वा कुनै धार्मिक शास्त्रमा लेखिएको छ ? वा यसो गर्न हाम्रो मुलुकी ऐनले बन्देज लगाएको छ ? हाम्रो इतिहासमा के कुनै त्यस्तो प्रसंग छ, जसको कारणले नेपाली विधवाहरुले रातो टिका, लुगा, शृंगार वा रंग नै छुनु हुँदैन ? के हाम्री छोरी, बहिनी, दिदि, फुपू, सानिमा, बुहारी, नन्द, अमाजु विधवा हुने बित्तिकै हाम्रो पारिवारिक–सामाजिक सम्बन्धबाट अलग हुनु पर्ने हो ? कहाँ लेखेको छ यस्तो कुरा ?

यी र यस्तै थुप्रै सवालहरुमा दुइ साताको छलफलपछि त्यो दिनको भेला आयोजना भएको थियो । त्यो दिन एकल महिलामाथि भएको रंगभेदको अत्याचारपूर्ण परम्परागत व्यवहारका विरुद्ध पैरवी गर्दा जे पर्छ त्यो भोग्न सयौं एकल महिलाहरु तयार भएर आएका थिए ।

त्यो दिन तत्कालीन गैंडाकोट गाविसको आगनमा भेला भएका हजारौं महिला–पुरुषहरु एकल महिलामाथी भईरहेका विभेदपूर्ण आचार र व्यवहारबारे अनेकन प्रश्नहरु गरिरहेका थिए । तर त्यसको उत्तर भेलामा सहभागी शिक्षक, वकिल, लामा, प्राध्यापक, लेखक, कर्मचारी, पण्डित, पत्रकार, अभिभावक वा विशेषज्ञ कसैबाट पनि आईरहेको थिएन । न त कसैले कुनै ऐन शास्त्र, इतिहास, प्रमाण वा कुनै प्रसंगमा एकल महिलामाथि भईरहेको विभेदपूर्ण व्यवहार सही हो भनेर बोल्न सकिरहेका थिए । लक्ष्मीजस्ता लाखौं एकल महिलाहरु सदियौंदेखि अकारण उत्तर नै नभएको विभेदपूर्ण व्यवहार भोग्न अभिशप्त भईरहेका थिए ।

सबै एकल महिलाको जीवनमा सोचेर, चाहेर वा रोजेर त्यस्तो परिघटना आईपरेको थिएन । २०५० साल साउन १६ गते लक्ष्मीको जीवनमा यस्तै नसोचेको परिघटना आईपर्‍यो । त्यतिबेला उनी मात्र १९ वर्षकी थिईन् । अनि काखमा थिए, छोरा विवेक । काठमाडौंबाट भरतपुरको लागि उडेको हवाईजहाज तनहुँको सोलिघोप्टे डाँडामा दुर्घटनाग्रस्त हुँदा लक्ष्मीका पति हरिप्रसाद सिग्देलको निधन भयो । त्यसपछि सुरु भयो उनको ‘एकल महिला’को यात्रा ।

लक्ष्मी र विवेकको अन्यौलपूर्ण भविष्यको यात्रा सुरु भयो । एकल महिलामाथि समाजले गर्ने विभेदपूर्ण व्यवहार लक्ष्मीको जीवनमा पनि सुरु भयो । अब सारा चुनौतीहरुसँग जुध्दै अगाडि बढनुको विकल्प लक्ष्मीसँग थिएन ।

पतिको मृत्युपछि आम मान्छेले लक्ष्मीलाई हेर्ने दृष्टिकोण फरक हुन थाल्यो । उनी सहानुभूतिको खोजीमा थिईन् । बदलामा उनले घोचपेच पाईरहेकी थिईन् । हिजोसम्म उनी नाम जस्तै लक्ष्मी थिईन् । तर एउटै घटनापछि उनी ‘कुलच्छिनी’ बन्न पुगिन् । उनलाई हौसला चाहिएको थियो । तर बदलामा उनले आफन्तहरुको छड्के नजर पाईरहेकी थिईन् । स्नेहको बदला उनले डरै डर पाईरहेकी थिईन् ।

दुर्घटनाको ६ महिना पछिको कुरा हो - गाउँको निम्न माध्यमिकस्तरको एउटा स्कूलमा शिक्षक चाहिएको रहेछ । लक्ष्मी जागिरका लागि निवेदन दिन पुगेकी थिईन् । उक्त स्कुलका शिक्षिकाहरुको युनिफर्मको साडीको रंग निख्खर रातो थियो । तर एकल महिला भएकाले लक्ष्मीलाई यस्तो रातो सारी लगाउन निषेध गरेको थियो । यो देखेपछि लक्ष्मीलाई भाउन्न होला जस्तो भयो । अनि उनी कसैलाई केहि नभनी फरक्कै फर्किन् ।

यस घटनाले लक्ष्मी भित्र भित्रै उद्धेलित भईन् । उनले आफैसँग प्रश्न गरिन्, यस्तो अत्याचारपूर्ण चलन पनि सहन्छन् मान्छेले ? यस्तो अचाक्लीमा च्याप्पिँदा पनि चुप लाएर बस्छन् कोहि ?

सानो छँदा आमाले भनेको सम्झिन्, ‘जानीजानी अत्याचार सहनु भनेको अत्याचार गर्नुभन्दा बढी हो ।’

त्यतिबेला लक्ष्मी माइतैमा थिईन् ।

अर्को महिना सहमति नामक संस्थाको सहजीकरणमा ‘कन्चन महिला समूह’ नामक महिला समूह गठन भयो । यो संस्थाले उनको वडामा लक्ष्मीलाई सचिवको जिम्मेवारी दियो ।

हप्तैपिच्छे कन्चन महिला समूहको बैठक बस्थ्यो । समूहको बैठकमा कुनै न कुनै सामाजिक सवाल र त्यसलाई निराकरण वा सुधार गर्न के कस्ता कदमहरु चाल्नु पार्छ र के सम्भव छ भन्ने विवेचना हुन्थ्यो । अनि त्यसको कार्यान्वयनमा समूहका महिलाहरु लाग्थे । पहिलो सवालको समाधानपछि अर्को सवाल निस्कन्थ्यो । फेरि समूहका महिलाहरु ‘मौरी’ जस्तैगरी लाग्थे ।

साप्ताहिक छलफलमा एकदिन विषय आयो, ‘के समाजमा एकल महिलाका लागि रातो रंग बन्देज छ ? छ भने किन ? के यसको समाधान सम्भव छ ? छ भने कसरी?’

यही समूहगत अभ्यासपछि गैंडाकोट गाविसको प्राङ्गणमा लक्ष्मीको नेतृत्वमा विशेष नागरिक भेलाको आयोजना भएको थियो ।

आखिरी ‘एकल महिलाले रातो रंङ प्रयोग गर्न हुँदैन’ भन्ने कुरा कुनै पनि धर्म, कानून, इतिहास, संस्कृति वा शास्त्रको कुनै पनि पानामा लेखिएको देखिएन । यो विषय कतै साबित भएन । त्यसैले त्यो सवाल झुट्टा, फरेव र कुरीति नै ठहरियो । उपस्थित सबैको तर्फबाट यस कुरुतीलाई एक मतले आजैदेखि खारेज गर्नुपर्छ भन्ने आवाज निस्क्यो । साँच्चै नै त्यसै दिनको त्यहि घटनादेखि यो कुरीतिको खारेजी भयो । अब यो राज्यमा कोहीपनि ‘एकल महिला’ले रातो टिका, पहिरन र रंग नै प्रयोग गर्न नहुने भन्ने कुप्रथा मात्र ‘इतिहास’ बन्यो ।

उपस्थित इच्छुक एकल महिलाहरुलाई उनीहरुकै परिवारका सदस्य वा अभिभावकहरुले रातो टिका र लुगा लगाइदिने र लगाउन दिने भन्ने राय सर्वसम्मतबाट निर्णय भयो ।

अभियानकी सशक्त नेतृ लक्ष्मीले छोराको हातबाट टिका र रातो लुगा ग्रहण गरिन् । उनको यो कदमपछि अरु आठ/दस एकल महिला पनि यो बाटोमा हिँडन तयार हुन्छन् होला भन्ने अनुमान गरिएको थियो । तर अचम्मै भयो । २०८ जना एकल महिलाहरु त्यतिबेलै ‘रातो’ लाउन तयार भए ।

लक्ष्मीकी सहयात्री माधवी कट्टेल इतिहास रच्ने त्यो कार्यक्रमको क्षण अझै पनि झलझली सम्झिन्छिन् । उनले पनि सोही दिन सासु आमासँगै रातो पहिरिन सुरु गरेकी थिईन् । उनले त्यो दिन सम्झिँदै सुनाईन् ‘त्यो अभियानपछि यताका एकल महिलाहरु लक्ष्मी भट्टराईले हामीहरु सबैलाई दोस्रो जन्म दिनुभयो भन्छन्।’

यो अभियानको सफल अगुवाइ गरेको योगदानस्वरूप लक्ष्मीले २०७८ सालको संविधान दिवसको अवसरमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा 'जनसेवाश्री'बाट विभूषित भईन् । अन्य दुइ दर्जनभन्दा बढी सामाजिक संस्थाहरुबाट सम्मानित र अभिनन्दित भईन् ।

२०७९ चैत्र ६ गते भारत गोरखपुरको एउटा अस्पतालमा स्वास्थ्य उपचारकै क्रममा ४९ वर्षको उमेरमा उनको देहवसान भयो । उनको मृत्युपछि पनि समयले र समाजले उनको योगदान र विद्रोही कदम सम्झिरहेको छ ।

प्रकाशित : चैत्र २५, २०८० १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?