कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'हट एअर बलुन' बाट देखिएको त्यो सुर्योदय

सीमा तामाङ

काठमाडौँ — कुस्माबाट बन्जी गरेर फर्किँदा ‘हट एयर बलुन’ उडिरहेको देखेँ । बलुनभित्र छिनमै आगो बल्थ्यो । छिनमै निभ्थ्यो । आकाशमा बलुन देखेदेखि नै मनमा उत्साह र खुलदुली मच्चियो । पोखरा पुगेपछि बलुनमा बसेर पोखरा र आसपास हेर्नैपर्छ भन्ने लाग्यो । त्यसपछि निधो भयो- हट एयर बलुनको अनुभव बटुल्ने । 

'हट एअर बलुन' बाट देखिएको त्यो सुर्योदय

भोलिपल्ट बिहानको लागि बलुन नेपालमा बुकिङ गरियो । बलुन नेपालले बिहान ६ बजे नै होटलमा लिन आउने बतायो । अघिल्लो दिन नखुलेको पोखरा भोलिपल्ट बिहान खुल्ने र पोखरालाई आकाशबाट नियाल्ने आशा बोकेर सेदीमा रहेको 'द बिच'मा गएर बस्यौं ।

भोलिपल्ट बिहानै निन्द्रा खुल्यो । जब कोठाको बार्दलीमा निस्किएँ, मुखबाट त्यो दिनको पहिलो शब्द निस्कियो - वाउ ! आँखै अगाडि लमतन्न फेवाताल अनि पहाडको शिरमा पुम्दिकोट महादेव । मैले बल्ल बुझें मलाई नर्थ लेकसाइड सेदीमा बस्न किन सुझाइएको रहेछ । सबेरै गाडी चढेर लागियो ‘हट एयर बलुन’ को टेकअप स्टेसन । फेवालाई छोडेर हामी अझै माथि लाग्यौं । पामेमा गाडीबाट झर्नासाथ फाँटमा रहेको रंगीन ‘हट एयर बलुन’ देखियो ।

ओहो! कति ठूलो बलुन ?

फाँटमा रहेको बलुनमा कर्मचारी हावा भरिरहेका थिए, अर्थात् अझै ठूलो बनाउँदै थिए । बलुनभित्र छिनछिनमै आगो बल्थ्यो, निभ्थ्यो । आकाशमा उडिरहेका बेला पनि त्यस्तै देखेको थिएँ । नजिक गएपछि पछि त्यस्तै देखियो । त्यहाँ भित्र बस्दा के–कस्तो हुन्छ होला भन्ने मनमा लाग्न थाल्यो ।फाँटमा रहेको रंगीन ‘हट एयर बलुन’ उड्न तयार भयो ।

बलुन तयार हुँदै गर्दा भेटिए बलुनलाई नेपाल भित्र्याएर पर्यटकीय माहोल तताइरहेका बलुन नेपालका अध्यक्ष बिक्रम बादे । 'तातो हावाले भरिएको बलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन,' बादेले भने ।

बलुन आकारमा देखिने यसको ‘इनेभेलप’ भित्र पङ्खाले हावा भरिन्छ । बलुन आकारमा आइसकेपछि ग्याँसबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् ।

हामी बलुनभित्र एक/एक गरी पस्यौ । सबैजना बलुनको बास्केटभित्र बसिसकेपछि बलुनका पाइलटले टेकअप, ल्याण्डिङ गर्दा के-के गर्नुपर्छ कसरी बस्नुपर्छ भन्ने जानकारी दिए । टेकअपको बेला केही गर्नु नपर्ने रहेछ । तर ल्याण्डिङको बेलामा भने हामीले आफ्नो शरिरलाई बास्केट भित्र लुकाउनु पर्ने रहेछ । अर्थात मूहारलाई जोगाउनु पर्ने रहेछ ।

पाइलटले भनेअनुसार हामीले बलुन भित्रै नमुना अभ्यास पनि गर्‍यौं । बलुनले बिस्तारै भूई छोड्न थाल्यो । ती फाँटका गराहरु पाटाहरु बिस्तारै सानो हुँदै गए । हामी सतहदेखि करिब ५ हजार मिटरमाथीको उचाईमा पुग्यौं ।

पाइलटले सुर्यको किरण तिर हेर्दै भने हेर्नुस् सुर्य उदाउँदै छ । हामी सबै जनाको ध्यान त्यतै गयो । बिस्तारै उदाउँदै गरेको सूर्यतर्फ हामी चढेको बलुन जाँदै थियो । मैले आँखा बन्द गरेर उदाउँदै गरेको सूर्यको पहिलो किरण अनुहारमा पारें । देखिँदा रातो र तातो सूर्यको किरणको आभास नजिकबाट गरे । त्यतिञ्जेल सबैजना फोटो खिच्न र भिडियो बनाउन व्यस्त थिए । यती नजिकबाट सुर्योदयको दृश्य मैले सायदै देखेको थिएँ ।

पाइलट भने बलुनमा हृवाररर आगो बाल्थे । बिस्तारै निभ्थ्यो । सूर्यको पहिलो झूल्को सँगै माछापुछ्रे, अन्नपूर्ण, धौलागिरी लगायत विभिन्न हिमाल हेर्‍यौं । तल फेवाताल, पोखराका घरगाउँ, कुनाकन्तारा सबै हेर्‍यौं । सुर्योदयको कलिलो किरणले पोतिएको हिमाल साँच्चिकै अद्भुत थियो । उज्यालो सँगै फेवामा डुङ्गाहरुको चहलपहल पनि बढ्दै थियो ।करिब आधा घण्टा बलुनमा तैरिरह्यौं या भनौं उंडिरह्यौं । अभुतपुर्व उडान पछि हामीलाई पामेकै फाँटमा ल्याण्डिङ गराइयो । 'ब्रेभरी सर्टिफिकेट' पाइयो ।

बेलुन उडानमा के ख्याल गर्ने ?

सूर्योदय वा सूर्यास्त के हेर्ने त्यो अनुसार बिहान वा साँझको उडान रोज्न सकिन्छ । उचाइको उडान हुने भएकोले न्यानो कपडा लगाउनु राम्रो हुन्छ । हिल भएको जुत्ता चप्पल भन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ ।

प्रकाशित : फाल्गुन ९, २०८० १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?