कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

लोकतान्त्रिक आन्दोनलमा बानेश्वरमा खाएका ती तीन गोली...

सयौं वर्ष र हजारौंको बलिदानबाट लोकतन्त्र प्राप्ति भएको थियो । अहिले राजनीतिक खिचातानी, सत्ताको स्वार्थ र लडाइँ आदीले सबैको मन अमिलिएको छ ।
गोकर्ण तिवारी

काठमाडौँ —  २०६२ सालले बिदाईको हात हल्लाउँदै थियो । देश स्वतन्त्रताको आन्दोलनले रापिएको र तातिएको थियो । म बीबीएस प्रथम वर्षको परीक्षा सकेर दोस्रो वर्षको पढाई र कामको खोजीमा केही महिनादेखि काठमाडौंमा थिए । खासै राम्रो जागिर पाइरहेको थिइनँ ।

लोकतान्त्रिक आन्दोनलमा बानेश्वरमा खाएका ती तीन गोली...

मार्केटिङको जागिर फेर्दै हिँडनुपर्ने बाध्यता थियो । काठमाडौंको आम्दानीले टिक्न हम्मेहम्मे थियो । कुनै महिना त घरबाटै खर्च झिकाउनुपर्ने बाध्यता हुन्थ्यो ।

छिमेकी देशहरु तीव्र गतिको विकासमा कसले कसलाई उछिन्ने भन्ने होडबाजी भइरहेको थियो । विडम्बना हामी भने राजनीतिक अस्थिरतामा फसेका थियौं । आर्थिक, सामाजिक सबै हिसाबले दिन प्रतिदिन नाजुक स्थितिमा गइरहेका थियौं ।

३८ वर्षे निरंकुश पञ्चायती व्यवस्था जसले नेपाली समाजलाई शोषण, उत्पीडन र अन्धकारमा राख्यो त्यसकै अन्त्यको निमित्त नेपाली जनताको लामो त्याग, संघर्ष र बलिदान पछि २०४६ सालको जन आन्दोलन पश्चात प्राप्त बहुदलीय व्यवस्थालाई पूर्वराजा ज्ञानेन्द्र शाहले ८ जेठ २०५९ मा जननिर्वाचित प्रतिनिधि सभा विघटन गरे ।

१९ माघ २०६१ को शाही 'कु' ले मुलुकलाई थप अन्योलतातर्फ धकेलेको थियो । उनको निरंकुश कदमले नागरिक स्वतन्त्रता, विधिको शासन, प्रेस स्वतन्त्रता लगायत मानव अधिकारका कैयन सवालहरु कुन्ठित तुल्याएको थियो । २३८ वर्षदेखि नेपालमा शासन गरेको राजसंस्था जसले यो मुलुकको नागरीकलाई रैतीको रुपमा व्यवहार गर्‍यो । हाम्रो जस्तै राजसंस्था भएका अन्य कैयन मुलुकहरुमा तीव्र विकास भएको छ । तर नेपालको दुर्भाग्य नेपालको राजसंस्था सँधै सत्ताको लडाइमा आ-आफूबीचमै लडिरह्‍यो । सुख सयल र मोजमस्तीमा २३८ वर्ष सम्म बरालियो । राज्यको स्रोत साधलाई आफ्ना भाई भारदारको हकहितका लागी दोहन गरिरह्यो । आफ्‍नो सत्ता स्वार्थको लागी बैदेशिक नाङ्गो हस्तक्षेपलाई प्रश्रय दियो । नेपाली जनतालाई बाटोघाटो बिजुली, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकता समेत प्राप्त गर्ने अवस्थाबाट वन्चित तुलायो । जसले गर्दा नेपाललाई विश्वमा एक गरिब देशको नाममा परिचित गरायो ।

समाज गतिशिल छ । समाज सधैँ एकै अवस्थामा रहिरहन्न । विश्वको बदलिँदो अवस्थालाई मध्यनजर गर्दै नेपाली जनताले परिर्वतनको अपेक्षा सहित राजा ज्ञानेन्द्रको निरंकुश कदमलाई विभिन्न कोणवाट विरोधको आवाजहरु उठ्न थाल्यो । नागरिक समाज, राजनीतिक दल, युवा, विद्यार्थी, विभिन्न पेशाकर्मीहरुको राजतन्त्र विरोधी आन्दोलन काठमाडौंको दिनचर्या जस्तो भइसकेको थियो ।

मेरो मार्केटिङ्गको जागिर भएकोले प्रत्येक दिन जस्तो त्यस्ता आमसभा जुलुसमा सहभागी हुने र विभिन्न राजनीतिक नेताहरुदेखि नागरिक समाजका अगुवाहरुको भाषण सुनेर दिनहरु बत्न थाल्यो । एक सचेत नागरिक भएको हिसाबले यो मुलुकको भाग्य र भविष्य परिर्वतन गर्ने हो । र, भावी आउने पुस्तालाई एक विकाशिल मुलुक हस्तान्तरण गर्ने हो भने राजसंस्थाको अन्त्य हुनु पर्छ भन्ने चेत ममा अत्यन्तै गहिरोसँग मानसपटलमा वबसिसकेको थियो ।

ममा त्यस किसिमको चेत पलाउनुमा मेरो पारिवारिक पृष्ठभूमिले पनि काम गरेको हुन सक्छ । बाल्यकालदेखिनै हाम्रो घरमा राजनीतिक गफहरु हुने र मेरो बुबा काकाहरु राजनीतिक रुपमा जोडिएर काम गर्नु भएको कारणले पनि होला । राजा ज्ञानेन्द्रको जनविरोधी विभिन्न हर्कतहरुकोविरुद्ध तत्कालीन सात राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच ७ मंसिर ०६२ मा १२ बुँदे समझदारी पश्चात देशैभरी आन्दोलनको उभार आयो । सात राजनीतिक दलको आहृवानमा २०६२ चैत्र २४ गतेबाट आम हडताल सुरु भयो । हामी काठमाडौंमा कोठामा बस्ने बिहानदेखि साथी र म छिट्छिटो खाना बनाउने त कहिले साथीहरुको कोठामा खाना खाएर काठमाडौंका विभिन्न ठाउँमा हुने आन्दोलनको कार्यक्रमहरुमा सहभागी हुन थाल्यौं ।

हाम्रो आन्दोलन कहिले कोटेश्वर चोक त कहिले बानेश्वर चोक लगायत विभिन्न ठाउँहरुमा हुन्थ्यो । हामीमा परिर्वतनको तीव्र आकांक्षा र युवा जोस पनि हुन सक्छ । आन्दोलनको हरेक कार्यक्रममा सधैँ हामी अग्रपंङ्तिमा हुन्थ्यौं । दिन प्रतिदिन आन्दोलनको कार्यक्रमहरुमा मानिसहरुको सहभागिता बढ्दो क्रममा थियो । तत्कालीन शाही सरकारले आन्दोलनलाई निर्मम तरिकाले दबाउने काम भइरहेको थियो ।

२०६२ चैत्र २७ गतेको दिन पनि सधैँ झै साथी र म बिहान चाँडै उठि खाना खाएर आन्दोलनको कार्यक्रममा बिहान ९ बजेतिर निस्कियौं । सात राजनैतीक दल तथा नागरिक समाजको तर्फबाट चैत्र २७ गते राजधानीको वसन्तपुरमा बृहत् जनसभा हुने भन्ने कार्यक्रम तय भएको थियो ।

अघिल्लो दिन साथी र मेरो सल्लाहअनुसार वसन्तपुरको बृहत् जनसभामा जाने भन्ने सल्लाह भएको थियो । तर दिन प्रतिदिन आन्दोलन चर्कँदै गएपछि तत्कालीन शाही सरकारले उक्त वसन्तपुरको कार्यक्रमलाई लक्षित गरी कर्फ्यू आदेश जारी गर्‍यो । जसले गर्दा वबसन्तपुरको सभा हुन सकेन । कर्फ्यूको आदेश जारी भएतापनि मानिसहरु राजधानीका विभिन्न स्थानहरुमा कर्फ्यू अवज्ञा गर्दै आन्दोलन हुन थाल्यो ।

काठमाडौंको मिनभवन लगायतको क्षेत्रका भित्री गल्लीहरुमा मानिसहरु भेला भएर राजतन्त्रविरुद्ध विभिन्न किसिमका चर्का-चर्का नाराहरु लगाइरहेका थिए । हामी पनि त्यसैमा सहभागी थियौं । २१ औं शताब्दीमा पनि कुनै वंशमा जन्मेको आधारमा त्यो यो देशको मालिक हुने न उसको योग्यता चाहिने न उसलाई कुनै कानुनी दायरामा बस्नु पर्ने यस्तो पाखण्डी र अवैज्ञानिक व्यवस्थाको अन्त्यको लागी हामी भित्र रगत उम्लनु स्वाभाविक थियो ।

जसअनुसार उक्त दिनको आन्दोलनको अग्र मोर्चामा हामी उभिएका थियौं । निरङ्कुशताको अन्त्य र दिगो शान्तिसहितको नयाँ नेपाल निर्माणको अपेक्षामा हामी आन्दोलनमा बेपर्वाह होमिएका थियौं । हामी बानेश्वर खोलावारी थियौं, उता खोलापारी कोटेश्वरमा प्रहरीहरु दमन गर्ने पोजिसनमा थिए । दिउँसो ३ बजेतिर आन्दोलनमा मान्छेको भिड सम्हाल्न नसकिने थियो । एक्कासी प्रहरीले केही आन्दोलनकारी व्यक्तिलाई धरपकड सुरु गरेपछि आन्दोलन उत्तेजित भयो । धरपकड गरेका व्यक्तिलाई प्रहरीले मराणासन्न हुनेगरी लठ्ठीबुटले पिट्न थाल्यो । आन्दोलन झन् झन् उत्तेजित हुँदै गयो । प्रहरीद्वारा अश्रुग्यास प्रहार भयो । आन्दोलनको माहोल यस्तो भयो की प्रहरीद्वारा प्रहार भएको अश्रुग्यास टिप्दै आन्दोलनकारीले प्रहरीतिरै फर्काउन थाले। प्रहरीहरु पनि झन् झन् उत्तेजित हुँदै गए । आन्दोलनकारीमाथी गोली चलाउन थालियो । म आन्दोलनको अग्र भागमा थिएँ । प्रहरीले चलाएको गोली नै मलाई लाग्यो । गोली मेरो शरिर भित्र छिरेपछि मैले त्यहाँ केही पनि देखिनँ । म जमिनमा ढल्न पुगे । तत्काल म अर्धचेतको अवस्थामा पुगेछु ।

भोलिपल्ट २०६३ चैत्र २८ गते होसमा आउँदा आफूलाई काठमाडौंको बीएन्डबी अस्पतालमा रहेको पाएँ । मेरो शरीरको विभिन्न भागमा तीनवटा गोली लागेको रहेछ । केही साथीले मलाइ अस्पताल लगेको रहेछन् । त्यहाँको डक्टर, नर्सको अथक प्रयास र आठ/दश घण्टाको शल्यक्रियापछि यो संसारमा पुनः जन्म भएँ । गोलीले मेरुदण्ड(स्पाइनलकर्ड) मा क्षति पुर्‍याएको कारण मेरो दुवै खुट्टा नचल्ने अवस्थामा आफूलाई पाएँ ।

केही समय पश्चात मेरो एउटा खुट्टा चल्ने भयो तर मेरो अर्के खुट्टा भने पूर्णरुपमा प्यारलाईसिस भएको छ । एउटा खुट्टाको पइताला झरेको (फुडड्रप) कारण म सहायक सामाग्री लगायर केही हिंड्डुल गर्न सक्ने भएको छु । सुरुका दिनहरुमा म र मेरो परिवार आफ्नो शरिरको महत्वपूर्ण अंग गुमाउँदा धरै रोयौं–चिच्चायौं । तर पनि साथीभाइ, आफन्त, डक्टर नर्स विभिन्न व्यक्तित्वहरु, संघ, संस्थाले देखाएको सहानुभूतिले सम्पूर्ण पीडा बिर्सिएँ । त्यो माया स्नेह पाउदा लाग्यो–देशमा साँच्चिकै परिवर्तनको खाँचो रहेछ ।

अस्पतालमा बस्दाबस्दै आन्दोलन झन्–झन् चर्कँदै गइरहेको थियो । विशाल जनमानस सडकमा उत्रिइरहेको थियो । २४ जनाले आन्दोलनको क्रममा ज्यान गुमाइसकेका थिए । हजारैको संख्यामा मानिसहरु घाइते भएका थिए । जसको फलस्वरुप जनताको अगाडि ज्ञानेन्द्रको केही सिप नलागेपछि २०६३ बैशाख ११ गते ज्ञानेन्द्रले संसद पुनर्स्थापना घोषणा गरे । २०६३ वैशाख ११ गते मेरो जिवनको खुसीको क्षणहरु मध्ये एक हो । अस्पतालमा बस्दा म हरेक दिन बिहान पत्रिका पढ्थे । वैशाख ११ गते पनि सधैं झै बुवा पत्रिका लिन बाहिर जानु भएको थियो । पत्रिका लिएर आउँदा बुवा पहिलेभन्दा फरक र हँसिलो मुद्रामा आइरहनु भएको थियो । उहाँको मुहारमा छुट्टै चमक देख्न सकिन्थ्यो । उहाँले मलाई देख्ने बित्तिकै परैबाट कराउँदै भन्नुभयो—'लोकतन्त्र घोषणा भएछ नी ।'

मेरो खुशीको सीमा रहेन हतार–हतार बुबाको हातबाट पत्रिका लिएर हेर्दा कान्तिपुर पत्रिकाको सबैभन्दा माथि रातो अक्षरले लेखिएको रहेछ 'जनताको जीत' ।

त्यो हेर्दा थाहा नपाई मेरो आखाँबाट आँसु झरेछ । बुवा र आमाले पनि आँसु थाम्न सक्नु भएन । अस्पतालमा भएका सबैले मलाई बधाई दिनुभयो । अस्पतालका डक्टर नर्सहरुले मलाई खुसीको साथ बधाई दिए । यो सबै घटनाले गर्दा म यति खुसी भएको थिएँ । त्यति खुसी मैले जीवनमा आजसम्म मशसुस गरेको छैन । लगभग औषधि उपचारको अढाई महिनाको अस्पताल बसाईपछि २०६३ असार १४ गते घर हेटौंडा फर्कदा मेरो घरमा गाउँभरिका सबै मानिस म आउँदै छ भन्ने थाहा पाएर कुरी बसिरहेका रहेछन् । सबैले म गाडीबाट ओर्लेपछि फुलमालाले स्वागत गरे । त्यो भीडमा सबैको खुसीको आँसुले गह भरिएको थियो । मेरो आखाँबाट पनि त्यो रोकिएन ।

देशमा लोकतन्त्र घोषणा भएको १८ वर्ष पुरा भएछ । योबीचमा मेरो जीवनमा जस्तै देशको राजनीतिमा पनि ठूलो परिर्वतन भएको छ । जनताद्वारा निर्वाचित जनप्रतिनिधिले लेखेको जनपक्षीय संविधान प्रप्त गरेको छ । कुनै वंशमा जन्मेको आधारमा जस्तोसुकै भएपनि त्यो यो देशको शासक हुने व्यवस्थाको अन्त्य भै जनताद्वारा निर्वाचित जनताको छोराले यो देशको शासन सत्ता सञ्चालन गर्ने र उ देश र जनता प्रति उत्तरदायी नभए जनताद्वारा बहिष्कृत हुने लोकतान्त्रिक व्यवस्था छ । वर्षौंसम्म हुन नसकेको स्थानीय निर्वाचन दुईपटक सम्पन्न भै जनताले आफ्नो मत मार्फत बलियो स्थानीय सरकार प्राप्त गरेको छ । महिला, दलित, आदिवासी जनजाती, मधेसी लगायत पीछडिएको वर्गलाई राज्यको नीति निर्माणदेखि हरेक क्षेत्रमा समानुपातिक हिसाबले प्रतिनिधित्व सुनिश्चित भएको छ ।

नेता र नेतृत्ववाट भएको कमिकमजोरीको विषयमा खुलस्त रुपमा जो कोहीले पनि आफ्नो कुरा राख्न पाउने आधिकार संविधानबाट सुनिश्चित भै त्यसको जनस्तरबाट प्रयोग भइरहेको छ ।

शिक्षा, स्वास्थ्य विकास निर्माण जस्ता कुरामा तुलनात्मक रुपमा हिजोकोभन्दा आज धेरै हिसाबले सुधार भएको विभिन्न तथ्याङ्कबाट देख्न सकिन्छ । तैपनि यो बीचमा देखिएको राजनीतिक गन्जागोलले युवापिढीँमा नैरस्यता पक्कै छाएको छ । राज्यले वृहत रुपमा रोजगारीको सिर्जना गर्न नसक्दा लाखौं युवापिढीं रोजगारीको लागि विदेशिन बाध्य छन् । राजनीतिक खिचातानी, सत्ताको स्वार्थ र लडाइँ आदीले सबैको मन अमिलिएको छ ।

सयौं वर्ष र हजारौंको बलिदानबाट प्राप्त लोकतन्त्र हो । यो सजिलो हिसाबले प्राप्त व्यवस्था होइन । विभिन्न कोणवाट निरंकुशताको पक्षपोषण गर्दा र त्यसको वातावरण सिर्जना गर्ने अहिलेको शासन क्षमता देख्दा आन्दोलनका सहिद परिवारहरु र हजारौं घाइतेहरुको मन भक्कानिन्छ ।

(लेखक जनआन्दोलन २०६२/०६३का घाइते हुन्)

प्रकाशित : वैशाख ११, २०८१ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x