१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

‘आत्मा दाइ’ सँगको अनुभूति

सामुदायिक स्वामित्वको दुइवटा कलेज, तीन वटा पुस्तकालय, एकवटा अस्पताल भवन वनाउन आत्माकृष्ण श्रेष्ठले योगदान गर्नु भएको छ । ८७ वर्षिय उमेरमा पनि उहाँको सक्रियता उस्तै छ ।

८६ ‍औं जन्मदिनमा आत्माकृष्ण श्रेष्ठ केही व्यक्तिसँग अस्पतालमा देखिनुभयो । महाराजगन्जस्थित शिक्षण अस्पताल हातामा उभिएको उहाँको तस्बिर फेसबुकमा पोष्ट  भएको थियो । तस्बिर हेर्दा लाग्यो, कतै ‘आत्मा दाइ’ विरामी त पर्नु भएन !

‘आत्मा दाइ’ सँगको अनुभूति

या कुनै विरामीलाई पो भेट्न जानु भयो की ! कौतुहलता जाग्यो । उहाँको नामको फेसबुक पेजलाई थप नियालेँ । फेसबुक हेर्दैगर्दा अस्पतालभित्र भवन निर्माण हुँदै गरेका तस्बिरहरू पनि देखिए । अस्पताल परिसरमा अत्माकृष्ण श्रेष्ठको अगुवाइमा कुनै भवन निर्माण हुँदै गरेको अनुमान लगाएँ । पछि थाहा भयो, आत्मा दाइको निजी लगानीमा अस्पतालमा विरामी कुरूवा घर बन्दै रहेछ । उक्त भवन अस्पताललाई हस्तान्तरण भइसकेको छ । 'रुपा स्मृति कुरुवा भवन' नाम दिइएको उक्त भवनमा आइसीयूमा राखिएका विरामीका कुरुवाहरूले सुविधा लिन्छन् । दिवंगत पत्नी रूपा श्रेष्ठका नाममा स्थापना भएको प्रतिष्ठानबाट उहाँले उक्त भवन बनाइदिनु भएको रहेछ ।

आत्मा दाईको उमेरले आराम खोजेको देखिन्छ । तर, अहिले पनि उहाँको समाजसेवामा सक्रियता जवान घोडा दौड झैं लाग्छ । गत वर्ष उहाँले जन्मथलो दोलखाको जेठो र ठूलो सामुदायिक कलेजमा पुस्तकालय भवन बनाइदिनु भयो । कलेजको अध्यक्ष भएको नाताले मैले नै सहीछाप गरेर भवन बुझेको थिएँ ।

गतवर्ष नै उहाँलाई पत्नीशोक पर्‍यो । क्यान्सर रोगबाट पत्नीको निधनपछि उहाँको स्वास्थ्यमा केही समस्या थपियो । विच्छिप्त, निराश र अस्वस्थता उहाँको अनुहारले बताउँथ्यो । त्यतिबेला पनि उहाँको सामाजिक कार्यको गती भने झन् बढ्यो । तर, उहाँले गर्ने सेवाका तरिकाहरु भने बदलिए । सबै सेवाका काम पत्नी रुपा श्रेष्ठको स्मृतिमा सुरू गर्नुभयो ।

बर्खान्तको जुठोबाट निस्कने बेला थियो । त्यसैबेला उहाँको हस्ताक्षरमा रुपा स्मृति प्रतिष्ठानको तर्फबाट नेपाल चिकित्सा संघसँग एउटा सम्झौता भयो । प्रत्येक वर्ष असल डक्टर र नर्सहरुलाई नगद राशीसहित सम्मान गर्ने । त्यो सम्मान पहिलो वर्ष डा. भोला रिजाल र नर्स लोहर मायालाई दिइएको छ ।

पछिल्ला दिनहरुमा उहाँको दौड दोलखामा इन्जिनियरिङ कलेज स्थापनाका लागि भइरहेको छ । पत्नी शोक परेको १३ दिने कार्य भइरहेका बेला समवेदना प्रकट गर्न म उहाँको वनस्थली निवासमा पुगेको थिएँ । त्यतिखेर उहाँको अनुहारले बताउँथ्यो, पत्नी वियोगको गहिरो पीडा छ । रुपा श्रेष्ठ आत्मा दाइको हर सामाजिक कार्यमा साथै देखिनुहुन्थ्यो । उहाँले वचन दिनु भएको सहयोगहरु उहाँले पूरा गर्न मद्दत गर्नुहुन्थ्यो । रुपाकै इच्छामा दोलखाको सबैभन्दा जेठो र एकमात्र मास्टर डिग्री पढाइ हुने गौरीशंकर बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको नक्सा तयार हुँदै थियो । त्यतिबेला म उक्त क्याम्पसको अध्यक्ष थिएँ ।

बरखी बारेकै बखत पुस्तकालयको स्वरुपबारे मसँग केही सल्लाह लिन खोज्नुभयो । त्यतिखेर उहाँले दिवङ्गत पत्नीले गराएको वाचा पनि सम्झनुभयो । उहाँले भन्नुभयो, 'क्यान्सर रोगले छट्पटाइरहेको अन्तिम क्षणमा पनि रुपाले क्याम्पसमा पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गर्नुस् है भन्नु भएको थियो ।'

उक्त कलेज बिसं २०३८ सालमा दोलखा चरिकोटमा स्थापना गर्न उहाँको भूमिका अतुलनीय छ । दोलखाका विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न हप्तादिन हिँडेर राजधानी जानुको विकल्प थिएन । जिल्लाभित्र कक्षा १० सम्म पढाइ हुने सीमित स्कुलहरु मात्र थियो । निकै दुःखका बेला उक्त सामुदायिक कलेज स्थापना भएको थियो । अत्मा दाइ स्थापनाकालदेखि २०५५ सालसम्म लगातार सञ्चालक समितिको अध्यक्ष भइरहनुभयो । अध्यक्षबाट बिदा लिएपछि पनि क्याम्पसको अध्यक्ष जस्तै गरी निरन्तर खटिरहनु भयो ।

आत्माकृष्णको जन्म दोलखा बजारमा भएको हो ।हाइड्रो इन्जिनियर उहाँको गृह जिल्लामा केही योगदान गर्ने हुटहुटी जागेछ । पञ्चायतकालको चरम निरंकुशता लादिएका बेला क्याम्पसको स्वीकृति पाउन कठिन थियो । त्यतिबेलासम्म त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा देशका ठूला सहरहरुमा सीमित मात्र कलेजहरुले स्वीकृति पाएका थिए ।

स्वीकृति पाएको कलेजमा पञ्चायतका प्रतिनिधि अञ्चलाधीश वा त्यस्तै व्यक्तिलाई मात्र अध्यक्ष बनाउने गरिन्थ्यो । जनकपुर अञ्चलका अञ्चलाधीश अध्यक्ष, आत्मकृष्ण उपाध्यक्ष र अरू शिक्षाप्रेमी तथा राजनीतिकर्मी रहेको सञ्चालक समित बन्यो । पदेन अध्यक्ष भएपनि अञ्चलाधीशले कहिल्यै कलेजमा पाइला टेक्नु भएन । अञ्चलाधिशीले बैठकसमेत नराखेपछि सुरुका दिनदेखि नै आत्मा दाइले कार्यवाहक अध्यक्ष भइ कार्य सम्पादन गर्नुभयो ।

मैले दुई कार्यकाल उक्त केलेजको अध्यक्ष सम्हालिरहँदा अभिलेखहरुको गहिरो अध्ययन गरेँ । गौरीशंकर पुञ्ज स्मारिकामा प्रकाशन गरेर कलेज स्थापनादेखि योगदान गर्ने हस्तीहरूको विवरण बाहिर ल्याएँ । योगदानका आधारमा क्रमिक रुपमा इतिहासलाई लिपिबद्ध गर्ने र त्यही अनुसार सम्मान गर्ने परम्पराको थालनी गरेँ ।

पत्नीको १३ दिने काजकिरियाकै समयमा आत्मा दाइले मलाई घरको दराजबाट झिकेर एउटा नेपाली फाइल दिनुभयो । त्यहाँभित्र दोलखामा इन्जिनियर कलेज स्थापना गर्न गरिएका प्रयासहरुको कागजपत्र थियो । दोलखामा इन्जिनियर कलेज स्थापना गर्ने उहाँको पछिल्ला सपना पनि हो । त्यसका लागि कहिले एक्लै, कहिले टिममा दौडधुप गर्नुहुन्थ्यो । सामाजिक कार्यमा साथ दिने पत्नीको निधनपछि केही गलेको महशुस गर्दै अब यो कार्य तपाईं र गौरीशंकर बहुमुखी क्याम्पसको टिमले अघि बढाउनु होला भन्दै फाईल मेरो अगाडि राखिदिनुभयो । त्यतिखेर दोलखा मेलुङ निवासी इन्जिनियर महेन्द्रबहादुर कार्की पनि साथै हुनुहुन्थ्यो । आत्मादाइको विचारहरु सुनेर महेन्द्र दाइको मन छोएछ । इन्जिनियर केलज स्थापना गर्न आत्मा दाइसँगै महेन्द्र दाइ पनि जोडिने प्रतिबद्धता भयो ।

नेपालका मध्यपूर्वी हिमाली जिल्लाहरुका विद्यार्थीलाई इन्जिनियर बन्न ढोका खुल्ने उक्त सामुदायिक परियोजनाका केही पहलहरु भइसकेको छ । बागमती प्रदेश सरकारले कलेजका लागि जग्गा स्वामित्वमा हुनुपर्ने पहिलो सर्त राखेको छ । महेन्द्र दाइले बुबा सुवेदार ललितबहादुर कार्कीको स्मृतिमा करिब ६० रोपनी जमिन दिन राजी हुनुभएको छ ।

हाल, दोलखाको भीमेश्वर नगरपालिकाले कलेजको स्वामित्व ग्रहण गर्नेगरी कार्य अघि बढिरहेको छ । दोलखा बजारको करण्डीस्थित सामुदायिक वन क्षेत्रलाई कलेज बनाउने प्रस्ताव गरिएको छ । जग्गाको शोधभर्ना स्वरुप मेलुङ गाउँपालिकामा रहेको जग्गा उपलब्ध गराउने पात्र महेन्द्र दाइ र उहाँका दाजुभाइले भीमेश्वर नगरमा दर्ता गराउनु भएको छ । नगरपालिकाले ई. आत्माकृष्ण श्रेष्ठ संयोजक, ई. महेन्द्रबहादुर कार्की, ई. हरिदर्शन श्रेष्ठ, ई. हरिप्रसाद शर्मा लगायतको टिमलाई कार्य अघि बढाउन जिम्मेवारी दिएको छ ।

आत्मा दाइसँग मैले आजभन्दा करिब २० वर्षअघि एक सामाजिक काममा सहकार्य गरेको थिएँ । त्यतिबेला म कान्तिपुर दैनिकमा काम गर्दै थिएँ । उहाँलाई सदरमुकाम चरिकोटमा पुस्तकालय खोल्ने विचार आएछ । उहाँले मलाई पनि सञ्चालक समितिको सदस्य राख्नुभयो । अहोरात्र खटेर उहाँकै प्रयत्नमा चरिकोटको मध्यभागमा गौरीशंकर पुस्तकालयको भवन तयार भयो । विभिन्न दाताहरुको सहयोगमा पुस्तकालय चालु भइसक्दा केही ऋण लाग्यो । त्यो ऋण उहाँले दोलखा बजारमा रहेको एउटा घडेरी पाँच लाखमा बेचेर चुक्ता गर्नु भएको मलाई स्मरण छ ।

उहाँ हाल, काठमाडौं नयाँ बजारस्थित एउटा सहकारीको अध्यक्ष हुनुहुन्छ । बैंकको सञ्चालक पनि हुनुहुन्छ । सहकारीमा दैनिक वनस्थलीस्थित आफ्नो घरबाट हिँडेर नै आउजाउ गर्नुहुन्छ । मोटर चढ्न पनि मान्नुहुन्न ।

अहिलेसम्म उहाँ हरेक दिन कान्तिपुर दैनिक पढ्नु हुन्छ । मोबाइल र ल्यापटप जस्ता डिभाइसबाट भन्दा अखबारका पान्ना पल्टाएर पढ्न रूचाउनु हुन्छ । कान्तिपुरले यस्तो लेखेको छ भन्दै अरूलाई सुनाउनु हुन्छ । म कान्तिपुरमा काम गरेका बेला सबैभन्दा पहिला उहाँले नै मेरो लेख सम्बन्धमा फोन गरेर सुनाउनु हुन्थ्यो ।

उहाँ दोलखाको राजनीतिमा केही समय सक्रिय हुनुभयो । नेपाली कांग्रेसबाट र स्वतन्त्र हैसियतमा निर्वाचनहरूमा उम्मेदवार पनि हुनुभयो । सफलता भने मिलेन । उहाँसँग भेटका बेला राजनीतिमा सफल हुन नसकेको प्रसंग निस्कन्छ । उहाँसँग भेटका बेला सुझाउनुहुन्छ, राजनीति अति नै निर्दयी खेल हो, होसियारीपूर्वक अघि बढ्नुस् ।’ उहाँचाहिँ अहिले सबैको साझा व्यक्ति र समाजसेवीबाट परिचित हुन रुचाउनु हुन्छ ।

गौरीशंकर बुहुमुखी क्याम्पस सञ्चालक समितिमा प्रवेशपछि मेरो आत्मा दाइसँग निकट सम्बन्ध भएको थियो । अभिलेखहरू अध्ययन गर्दा उहााले ४२ वर्ष क्याम्पसमा निरन्तर सेवा गर्नु भएछ । उहाँकै प्रयासमा हालै चरिकोटमै त्रिविविबाट सम्बन्धन प्राप्त अर्को क्याम्पस पनि खुलेको छ । नाम चरिकोट क्याम्पस राखिएको छ । त्यो क्याम्पसको पनि उहाँ संस्थापक अध्यक्ष हुनुभयो ।

आत्मा दाइलाई यो उमेरमा पनि केही गर्ने हुटहुटी छ । हालका दिनमा उहाँको दिनचर्या उहाँको जन्मथलोमा स्थापित दोलखा जिल्लाको सबैभन्दा जेठो पुस्तकालय भवन पुनर्निर्माणमा बित्ने गर्छ । भूकम्पपछि जीर्ण भवन भत्काएर अर्को भवनको पहिलो तला ढलान उहाँकै लगानीमा गरिसक्नु भएको छ । ८६ ‍‍‌ औं जन्मदिनमा अस्पतालमा विरामी कुरूवा घर बनाएर हस्तान्तरण गर्नु भएको उहाँले ८७ औं जन्मदिनमा भीम पुस्तकालय हस्तान्तरण गर्नेगरी कस्सिनु भएको छ ।

उहाँको सक्रियतालाई वयष्कमा छुने विभिन्न स्वास्थ्य समस्याले केही अप्ठ्यारो पारेको जस्तो लाग्छ । निरन्तर सक्रिय दैनिकी चाहने उहाँले आफूलाई कमजोर भने अलिकति पनि ठान्नुहुन्न । आत्माकृष्णले सामुदायिक स्वामित्वको दुइवटा कलेज, तीन वटा पुस्तकालय, एकवटा अस्पताल भवन निर्माणमा योगदान गर्नु अनौठो नठान्दा, उहाँको ८७ वर्षिय आराम खोजिरहेको शरीरले उक्त कार्यका लागि जवान घोडा झै दौडमा देखिनु चाहि साच्चिकै अनौठो मान्दछु ।

उहाँका बारेमा जजसले जसरी बुझे पनि २०३५ सालदेखि २०८० सालसम्म गौरीशंकर बहुमुखी क्याम्पसलाई आर्थिक, भौतिक, नैतिक रूपले सक्रिय सहयोग गरिरने शैक्षिक योद्धाको रूपमा म जान्दछु । त्यसैले उक्त सामुदायिक क्याम्पसले एक संस्थापकको रूपमा मात्र हैन, उहाँलाई कलेजको दीर्घसेवीको सम्मान दिनुपर्छ भन्ने लागेर मेरो मिल्ने साथी चित्रकार मित्र प्राज्ञ उमेश श्रेष्ठसँग सल्लाह लिएँ । उहाँले आत्मा दाइको युवा अवस्थाको तेलचित्रमा उतार्ने सल्लाह दिए ।

झट्ट दिमागमा मोनालिसाको विश्वविख्यात अमर तेलचित्र याद आयो । अनन्तसम्म रहिरहने गरि आत्मा दाइको तेलचित्र बनाउन उमेशजीलाई नै अनुरोध गरेँ । उहाले करिब एक महिनाछि चित्र क्याम्पसलाई दिनुभयो । त्यो चित्रलाई कलेजको भित्तामा टासेँ । उक्त क्याम्पसको सञ्चालक समितिको सात वर्ष अध्यक्ष भएर विदा लिनेबेलामा आत्म दाइको चित्रसँग उभिएँ । केही तस्बिरहरु लिएर क्याम्पसबाट बिदा भएँ ।

(लेखक नेकपा एमाले, दोलखाका उपाध्यक्ष हुन् ।)

प्रकाशित : फाल्गुन २०, २०८० १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?