कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युद्धको ‘खत’ 

घनश्याम खड्का

म्याग्दी — नेपाली बृहत् शब्द कोषअनुसार ‘खत’ भन्नाले शरीरमा धारिलो हतियार वा वस्तुले चोटपटक लाग्छ, आगो वा तातोपानीले पोल्छ । यस्ता चोट वा पोल्दा बनेको घाउ कुनै चाँडो, कुनै ढिला वा कुनै शल्यक्रिया गरी लामो उपचारपछि निको हुन्छ । तर शरीरमा ‘खत’ रहिरन्छ । कुनै चोटका खत विस्तारै मेटिन्छ, गहिरो चोटले बनेका घाउका खत भने लामो समयसम्म वा जीवनभर पनि खत रहिरहन्छ । 

युद्धको ‘खत’ 


लडाइँ, झगडा वा युद्धमा मान्छेहरु मर्छन् । घाईते हुन्छन् । अपांग हुन्छन् । लडाइँको बेला लागेका चोटका घाउ विस्तारै पुरिन्छन् । तर खत रहिरहन्छन् । युद्धमा परेका मान्छेहरुको शरीरमा लागेको घाउ बिस्तारै पुरिए पनि खत अझै छन् ।

माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्व क्रममा भएका सयौं सशस्त्र आक्रमण, भिडन्तमा मानवीय हताहती मात्र भएन, भौतिक संरचनाहरु पनि नष्ट भए । ध्वस्त भए । ०६० चैत ७ गते माओवादीले म्याग्दी सदरमुकाम बेनीमा आक्रमण गरे । जस्लाई बेनी भिडन्तको रुपमा चिनिन्छ भनिन्छ । भिडन्तकाक्रममा नष्ट/ध्वस्त भएका भौतिक संरचनामध्ये एउटा थियो, विजुलीको खम्बा । र उक्त खम्बा बेनी भिडन्तस्थलमै ‘शान्ति स्तम्भ’को रुपमा राखिएको छ ।

‘बेनी भिडन्तक्रममा क्षतविक्षत भएको विजुलीको खम्बालाई संरक्षण गरिरहेको ललितपुरस्थित मदन पुरस्कार पुस्तकालयले बेनी नगरपालिकालाई फिर्ता पठाएपछि ‘शान्ति स्तम्भ’को रुपमा भिडन्तस्थलमै राखेका छौं । खम्बासँगै हामीले बेनी भिडन्तजस्ता सयौं भिडन्त तथा लडाइँको बिम्बको रुपमा संरक्षित गर्ने हौं’ बेनी नगरपालिका प्रमुख सुरत केसी भन्छन्, ‘अहिले उक्त विजुलीको खम्बाको गोली लागेको स्थानमा खिया देखिएको छ, हामी मेटलिष्ट ल्याएर मेटल कलर गर्ने र हतियार विज्ञ खोजेर उक्त विजुलीको खम्बामा कुन कुन हतियारका गोली लागेका रहेछन अध्ययन गराउने योजनामा छौं ।’

नेकपा माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध सुरु गरे जस्लाई उनीहरुले ‘जनयुद्ध’ भने । युद्धक्रममा १७ हजारबढी मारिए । हजारौंको शरिरमा घाउ लाग्यो, रगत बग्यो । युद्धले बनाएका खत मानिस र समूह पिच्छे फरक छन् । समाजले आ–आफ्नै किसिमका खत बोकेर बाँचिरहेको छ । माओवादी शान्तिपूर्ण राजनीतिमा समाहित भएको लामो समय भइसक्यो । विद्रोह बिसाएपछि जन्मिएको पुस्ता यौवनावस्था भौग्दैछ । र युद्ध लडेका योद्धाकै सन्तानहरु ‘जनयुद्ध’ कथा ठान्न थालेका छन् ।

माओवादीको सपनाले युद्ध जित्यो कि हार्‍यो अलग कुरा हो तर माओवादी ‘जनयुद्ध’को खत मेटिएको छैन । युद्ध सकियो, घाउ पुरिए तर खत बाँकी छ । घाईते शरीरमा लागेको घाउको खत अझै उस्तै छन् । युद्धले बनाएका खत मानिस र समूह पिच्छे फरक पर्ला तर चोटको पीडा उस्तै हुन्छ । र नेपाली समाजले आ–आफ्नै किसिमका खत बोकेर बाँचिरहेको छ । युद्धको खत मानिसमा मात्र होईन, समाजका संरचना र मनोदशामा पनि छन्, त्यसैको प्रमााण हो, यो विद्युत् खम्बा पनि ।

बेनी नगरपालिकाको आँगनमा ‘शान्ति स्तम्भ’को रुपमा स्थापित सयौं गोली लागेर छियाछिया परेको विजुलीको खम्बा देखेपछि युद्ध नभोगेको पुस्ताले पनि युद्धले कहिल्यै नमेटिने खत बसाउन सक्छ भन्ने, महसुस गर्नसक्छन् । युद्धमा नपर्नु वा युद्धपछि सपाङ्गै रहनु अलग कुरा हो तर युद्धको प्रभावबाट कोही अछुतो रहन सक्दैन भन्ने यो ‘क्षतविक्षत विजुलीको पोल’ले युद्धको पीडा अनुभव गराउने छ र मान्छेहरु कहिल्यै युद्धलाई आदर्श मान्ने छैनन् ।

‘हामी कहालीलाग्दो विगत तर्फ सम्झन चाहन्नौं । घाउका खत उप्काउन चाहन्नौं तर शरिर भित्रको गोलीको पीडा हामीले भोगेका छौं, बाहिर छालामा बसेको खत देखेर घाउ निको भयो भनी बलपूर्वक पीडितको क्रन्दनलाई नदबाईयोस्’ द्वन्द्वपीडित अधिकार समाजका अध्यक्ष भीमबहादुर रिजालले भने, ‘पीडित र पीडित परिवारले आत्मदेखि क्षमा दिने र पीडकले पनि आत्मैदेखि गल्ती महसुस गर्ने वातावरण नभइ, सशस्त्र द्वन्द्व सकिएपनि घाउका खत बाँकी रहिरहने छ ।’

नेकपा माओवादीले २८ वर्ष अघि २०५२ फागुन १ गतेदेखि सुरु गरी १० वर्ष सञ्चालन गरेको सशस्त्र विद्रोहलाई शान्तिपूर्ण राजनीतिमा समाहित गरेको पनि १८ वर्ष पुगेको छ । यो बीचमा देशले विद्रोही लडाकुको नेपाली सेनामा समायोजन, संविधान सभा निर्वाचन, संविधान निर्माण, गणतन्त्र स्थापना समेतका महत्वपूर्ण राजनैतिक उपलब्धीहरु हासिल गरेको छ । तर सशस्त्र विद्रोहका बेला लागेका घाउ, चोटपटक र पीडाका घटनाको सत्य अन्वेषण, परिपूरणको अधिकार, अभियोजनको विश्वसनीयता र विगतको घट्ना नदोहोरिने सुनिश्चितता जस्ता न्यायको पहिलो सर्तको सम्बोधन भएको छैन । सशस्त्र द्वन्द्वका बेला बढी पीडा भोगेहरुले मात्र होईन अर्न्तराष्ट्रिय समुदायले संक्रमणकालीन न्याय प्रक्रिया पारदर्शी एवं अन्तर्राष्ट्रिय कानुन र नेपालको न्याय प्रणालीसम्मत हुनु पर्ने बताउँदै आएका छन् ।

बेनी आक्रमणको पृष्ठभूमि

०६० चैत ७ गते शनिबार राती माओवादीले सदरमुकाम बेनीमा भिषण आक्रमण गरेका थिए । पश्चिम डिभिजनको कमाण्डमा भएको बेनी आक्रमण जनयुद्धको ८ वर्षे अनुभवमा माओवादीले जिल्ला सदरमुकाममा गरेका ९ ओटा आक्रमण मध्य सैन्यवल र आक्रमणको ब्यापकताको दृष्टिले सबैभन्दा ठूलो र लगातार १२ घन्टा लडेर मध्य दिनसम्म कब्जा गरेको पहिलो थियो ।

बेनी आक्रमणमा माओवादीका विशेष क्षेत्रको पहिलो (मंगलसेन), भेरी–कर्णाली क्षेत्रको दोस्रो (सतवरिया), सेती–महाकाली क्षेत्रको तेस्रो (लिस्ने–ग्राम) र गण्डक क्षेत्रको (बासुस्मृति) चौंथो ब्रिगेड अर्न्तगतका ६ बटालिएनका करिब ५ हजार माओवादी लडाकु सहभागी थिए ।

बेनी आक्रमणमा आउनु पूर्व माओवादी सेना रोल्पा जिल्लाको उत्तरपूर्वी थवाङमा जम्मा भइ रुकुम जिल्लाको लुकुम घुमाउँरो बाटोबाट ढोरपाटन शिकार आरक्ष छिचोल्दै फागुन ४ गते पश्चिम म्याग्दीको रमाईलो बस्ती ताकम आएको थियो । यसरी थवाङबाट विभिन्न घुमाउरो बाटो छिचोल्दै १७ दिन लामो पैदल यात्रापछि बेनी आक्रमण गरेका थिए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २००५’ मा उल्लेख भए अनुसार माओवादीले गरेको बेनी आक्रमणमका क्रममा १९ जना सर्वसाधारण, १७ जना प्रहरी , १४ जना सैनिक र कम्तीमा ९० जना माओवादी मारिएका थिए । सवै पक्षमा रहेका सयौंको संख्याका घाईतेको अवस्थाबारे अझै यकिन तथ्यांक कतै पाईदैन ।

बेनी आक्रमण क्रममा माओवादीले प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली, प्रहरी नायव उपरिक्षक रणबहादुर गौतम सहित करिव ४० जनालाई कब्जामा परेका युद्धबन्दीलाई माओवादी पश्चिम डिभिजन कमिसार विप्लव र कमाण्डर पासाङले वक्तव्य मार्फत मातृका यादव, सुरेश आलेमगर र किरण शर्मालाई मुक्त गर्न सौदा गरेका थिए ।

चारै तिर पहाडले घेरेको खोपिल्टो जस्तो बेनीमा पश्चिमबाट पूर्वबग्ने म्याग्दी नदीको किनारामा जिल्ला विकास समिति, जिल्ला प्रशासन र प्रहरी कार्यालयका छतमा भ्यू टावरहरु रहेका छन् । यी टावर प्राकृतिक सौदर्य वा सदरमुकामको दृश्यालोकन गर्न बनेका होईन, सैन्य बंकरका अवशेष हुन् । ‘युद्ध स्तम्भ’ लाग्ने यी भवनका यी बंकरले बेनीबासीलाई त्यो चैत ७ गतेको त्रासदीपूर्ण रात सम्झाई रहन्छ ।

सत्ताको वरिपरि रुमल्लिएको नेपाली राजनीतिका कारण अप्ठ्यारोमा परेको नेपाली शान्ति प्रक्रिया, मौलाउँदै गएको दण्डहीनता, कमजोर बन्दै गएको शान्ति सुरक्षाको वर्तमान अवस्थाले आम जनता र द्वन्द्व पीडितहरू निराश बन्दै गएका छन् ।

प्रकाशित : फाल्गुन १, २०८० १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?