यत्तिकै हात परेको होइन क्रिकेटको सफलता

२२ यार्डको क्रिकेट पिचको २७ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाली क्रिकेटले हरेक दशकमा एकपछि अर्को उपलब्धि प्राप्त गर्दै आइरहेको देखिन्छ ।
जगदीश्वर पाण्डे

काठमाडौँ — एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै एसिया कपको लागि छनोट भयो । जहाँ नेपालले टेस्ट मान्यता प्राप्त क्रिकेटका बलिया शक्ति राष्ट्रहरू भारत र पाकिस्तानसँग खेल्ने छ । योसँगै भारतलगायत अन्य अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि नेपालको क्रिकेटको उपलब्धिका बारेमा प्रशंसायुक्त समाचार आउन थालेका छन् ।

अब नेपाली क्रिकेट खेलाडीका लागि भारतका विराट कोहली र पाकिस्तानका बाबर आजमसँग आमने–सामन्ने गर्ने अवसर पनि जुरेको छ । उक्त भीडन्त हेर्न हाम्रा लागि उत्तिकै रोचक हुनेछ । एसीसी प्रिमियर कपमा च्याम्पियन बनेसँगै नेपाली क्रिकेटले अर्को फड्को मारेको छ । तर यो फड्को छोटो समयमा सहजै प्राप्त भने भएको होइन ।यसको पछाडि नेपाली क्रिकेटको लामो इतिहास रहेको छ ।

तत्कालीन ब्रिटिस इन्डिया (अहिलेको भारत, पाकिस्तान र बांग्लादेश) बाट नेपालको राणा परिवार हुँदै क्रिकेट खेल नेपाल छिरेको हो । नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा भने सन् १९९६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) को सदस्यता प्राप्त गरेपछि थालेको हो । नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल मलेसिया यात्राबाट थालनी गर्‍यो ।

सन् १९९० को दशकको अन्त्यतिर अन्तर्राष्ट्रिय यात्रा थालेको नेपाली क्रिकेटले सन् २००० को दशकमा उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्‍यो । यू–१९ वर्ल्ड कपमा पटक–पटक छनोट भएर नेपाली खेलाडीहरूले भारत, पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्डलगायत मुलुकका खेलाडीहरूसँग प्रतिस्पर्धा गरे । उमेर समूहमा लोभलाग्दो प्रदर्शन गरे पनि नेपाली सिनियर पुरुष टिमले अपेक्षित सफलता हात पार्न सकेको थिएन ।

सन् २००१ मा राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा श्रीलंकाली प्रशिक्षक रोय लुक डायसले नेपाली क्रिकेटरलाई ‘क्लासिकल क्रिकेट’ सिकाउन नेपाल आए । उनले खेलाडीलाई ब्याट उठाउने भन्दा पनि ‘ग्राउन्ड सट’ खेल्नेको लागि जोड दिन्थे । डायसको कार्यकालमा नेपालमा आन्तरिक रूपमा खेलाडी अघि आए तर ‘एक्सपोजर’ को कमीका कारण अन्तर्राष्ट्रिय खेलमा चाहेअनुसारको नतिजा निकाल्न सकेनन् । डायसले सन् २०१० मा बिदाइ लिए । त्यसपछि प्रशिक्षकका रूपमा क्यानडाबाट आएका श्रीलंकाका पूर्वखेलाडी पुबुदु दासानायकेले नेपाली टोलीको कमान्ड सम्हाले । उनी आएलगत्तै पहिलो पटक नेपाली खेलाडीहरूलाई ब्याट उठाएर मज्जाले खेल्न स्वतन्त्रता दिए ।

नेपाली खेलाडीलाई आफूले चिने जानेको संयन्त्रहरू प्रयोग गरेर क्यानडालगायत अन्य स्थानमा खेल्नसमेत पठाउने काम गरे । जति विदेशमा गएर नेपाली खेलाडीले खेल्ने र सिक्ने अवसर पाए, प्रतियोगिताहरूमा टोलीले उत्तिकै राम्रो नजिता ल्याउन थाल्यो । सन् २०१० को दशकमा आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–५ बाट जितको सुरुवात गरेको नेपालले त्यसपछि डिभिजन–४, डिभिजन–३ जित्दै वर्ल्ड मान्यता प्राप्त पाउन सफल रह्यो । सन् २०१८ को नेपालले पहिलो पटक वान–डे मान्यता प्राप्त गरेको थियो ।

साथै, सोही दशकमा नेपालले सन् २०१४ मा बांग्लादेशमा भएको ट्वान्टी–२० वर्ल्ड कपमा सहभागिता पनि जनायो । उक्त प्रतियोजनाको समूह चरणबाट बाहिरिए पनि नेपाली क्रिकेटको लोभलाग्दो प्रदर्शनले समर्थकको मन जित्न सफल रह्यो ।

सन् २०१० को दशकमा पुबुदु दासानायकेको प्रशिक्षण र कप्तान पारस खड्काको नेतृत्वले नेपाली क्रिकेटलाई अघि बढाउन काम गरे । उक्त अवधिमा शक्ति गौचन, बसन्त रेग्मी जस्ता खेलाडी टोलीका मुख्य खम्बाका रूपमा रहे । सन् २००० को दशकमा उमेर समूहमा निकाल्ने नतिजाभन्दा राम्रो सन् २०१० को दशकमा नेपाली सिनियर टोलीले पाउन सफल रह्यो । साथै, सोही अवधिमा दायाँ हाते ‘लेग स्पिनर’ सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिगलगायतका संसारका अन्य चर्चित लिगहरू खेलेर नेपाली क्रिकेटलाई ‘ग्लोबल’ स्तरमा पुर्‍याउन सफल भए ।

सन् २०२० को दशकमा आउँदा नेपाली क्रिकेटले फेरि अर्को फड्को मारेको छ । लगातार १३ खेल जित्यो । आईसीसी वर्ल्ड क्रिकेट लिग–२ मा लगातार १२ खेलमा ११ खेल जित्यो । भर्खरै सम्पन्न एसीसी प्रिमियर कपमा लगातार ५ खेल जित्यो । कुनै पनि खेल नहारेर प्रतियोगिताको च्याम्पियन बन्न नेपाल सफल रह्यो । यी नतिजाको पछि नेपालका नयाँ भारतीय प्रशिक्षक मोन्टी देसाईको महत्त्वपूर्ण भूमिका रहेको छ ।

झन्डै १० वर्ष अघि ट्वान्टी–२० वर्ल्ड कप क्रिकेट खेलेको नेपाल यस पटक वान–डे वर्ल्ड कप छनोट खेल्नको लागि छनोट भएको छ । उक्त छनोटमा सफलता हासिल गरे नेपालले पहिलो पटक यही नोभेम्बर–अक्टोबरमा भारतमा हुने वान–डे वर्ल्डकप खेल्ने छ । जुन नेपाली क्रिकेटको अर्को कोशेढुंगा बन्न सक्छ । युवा खेलाडी रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली क्रिकेट टिमले यो दशक यही गतिमा उत्कृष्ट प्रदर्शन गरेमा नेपाली खेलकुद र मुलुककै लागि सुखद हुनेछ ।

नेपाली टोली, नेपालका क्रिकेटप्रेमी र नेपाल क्रिकेट संघको मुख्य लक्ष्य नेपाललाई अन्त्यमा टेस्ट मान्यता प्राप्त टोली बनेको हेर्ने पनि हो । २२ यार्डको क्रिकेट पिचको २७ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाली क्रिकेटले पाएको सफलता हरेक दशकमा एकपछि अर्को उपलब्धि प्राप्त गर्दै आइरहेको देखिन्छ ।

चाहे ५ दिनभित्रमा नतिजा आओस्/नआओस्, यही दशकको अन्त्यमा वा सन् २०३० दशकको सुरुआतमा नेपाली क्रिकेट टोलीले भारत, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्डलगायतका क्रिकेटका बलिया टोलीहरुसँग काठमाडौंको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टेस्ट क्रिकेट खेलेको हेर्न हामी आतुर छौं ।

प्रकाशित : वैशाख २०, २०८० १८:५१
प्रतिक्रिया
पठाउनुहोस्

'प्रविधिको पहुँचमा सञ्चार क्षेत्रका चुनौती बढे'

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार क्षेत्रका सरोकारवालाहरूले नागरिकमा सूचना प्रविधिको पहुँच बढ्दै जाँदा आमसञ्चार क्षेत्रका चुनौती पनि थपिँदै गएको बताएका छन् । उनीहरूले सञ्चार क्षेत्रमा विगतभन्दा अनेकौँ किसिमका चुनौती थपिएको औंल्याए ।

बुधबार ३० औँ विश्ल प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा सामुदायिक रेडियो प्रसारक संघले ललितपुरमा गरेको एक कार्यक्रममा वक्ताहरूले सञ्चार क्षेत्रले हाल देखिएका चुनौतीहरू पार गर्दै भविष्यमा आउन सक्ने चुनौतीबारे समेत पूर्वतयारी गर्नुपर्ने बताए ।

राष्ट्रिय सूचना अयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सञ्चार क्षेत्रमा पुराना कानुन, सामाजिक सञ्जालको बढ्दो प्रयोग, बदलिँदो प्रविधि लगागत चुनौती थपिएको बताए । सूचनाको हकलगायत नागरिकका अन्य हक कार्यान्वयन गराउन सञ्चार माध्यमको भूमिका थप प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक सचिव मुरारी खरेलले मानव अधिकारको जानकारी र त्यसको कार्यान्वयनका लागि सञ्चारमाध्यमको भूमिका अतुलनीय हुने बताए । उनले पछिल्लो समय सञ्चार माध्यम र पत्रकारले भोग्नुपरेका समस्या समाधानका लागि सबैको साथ सहयोग आवश्यक बताए ।

सञ्चार क्षेत्रले आम नागरिकका समस्या उजागर गर्नुका साथै सरकारलाई जवाफदेही बनाउन पनि सँधै पहरेदारी र खबरदारी गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा अधिकारकर्मी चरण प्रसाईँले पछिल्लो समय सञ्चारमाध्यमले मानवअधिकारका विषयमा कम ध्यान दिएको भन्दै समाजको दिगो रुपान्तरण र लोकतन्त्रको कार्यान्वयनका लागि मानवअधिकारका विषय सञ्चारमाध्यमको मुख्य मुद्दा बन्नुपर्नेमा जोड दिए ।

उपप्राध्यापक तथा इन्सेकका अध्यक्ष कुन्दन अर्यालले नेपाली सञ्चारको अधिकार सबै खालका मानवअधिकारको अग्रणी भएकाले त्यसको कार्यान्वयमा अन्य क्षेत्रको सहयोग जरुरी रहेको बताए । उनले राज्य र राजनीतिक शक्तिको सञ्चार क्षेत्रलाई उपयोग गर्ने मनोविज्ञान स्वतन्त्र पत्रकारिताको सबैभन्दा ठूलो चुनौती रहेको बताए ।

यस्तै, कानुनको अभाव र पुराना, कानुन,को समस्या, सञ्चारमाध्यम र सञ्चारकर्मीकै समस्या र श्रोता, दर्शक र पाठककै बुझाइको समस्या पनि चुनौतीका रुपमा रहेको उनको भनाइ थियो ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले तीनै तहका सरकारले सामुदायिक रेडियोलाई वेवास्ता गरेकोमा आपत्ति जनाउँदै समुदायको सञ्चार र देशका ठूला परिवर्तनमा सामुदायिक रेडियोले पुर्‍याएको भूमिका नभुल्न सरकारलाई आग्रह गरे । रेडियोलाई कस्ने खालको नीति र कानुन बनाउने क्रम नरोकिएको भन्दै बन्दै गरेको आम सञ्चार ऐनमा पनि सामुदायिक रेडियोहरूप्रति सरकारले कठोर नीति नै लिएमा अकोराबले त्यसविरुद्ध आन्दोलन गर्ने बताए ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुधांशु दाहालले सञ्चारमाध्यम र सञ्चारकर्मीले आम नागरिकका पक्षबाट काम गर्ने भएकाले उनीहरुका लागि सहज वातावरण निर्माण गर्नु सबै क्षेत्र र नागरिकको कर्तब्य भएको बताए ।

पूर्वसञ्चारकर्मी तथा युवा नेता अजयबाबु शिवाकोटीले सञ्चारमाध्यममा मानव अधिकारको विषय छायाँमा परेको भन्दै सञ्चार माध्यमले पर्दापछाडिका घटना पनि उजागर गर्ने मूल दायित्वलाई भुल्न नहुने बताए ।

प्रकाशित : वैशाख २०, २०८० १८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×