कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बर्दिया निकुञ्जमा हात्तीसँग जम्काभेट

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको लम्कौली फाँटमा शनिबार बेलुकी एक हुल हात्ती वनपथमा निकै बेर अडिए । ३० देखि ३५ वटा हात्ती र छावा (बच्चा) वनपथ वरिपरि थिए ।

बर्दिया निकुञ्जमा हात्तीसँग जम्काभेट

हात्तीले वनपथ छेकेपछि हामी चढेको जिप निकैबेर रोकियो । करिब १५ मिटर पर रहेको हात्तीले जिप देखेर होला आक्रमण गर्ने प्रयासमा थियो । वन पथमा सानो काठेपुल भएका कारण हामीतर्फ ती हात्ती आउन सकेका थिएनन् । बर्दिया निकुञ्जका जिप चालक जनकलाल थारुले काठे पुल पार गर्न हात्तीले आँट गर्न सक्दैन भनिरहेका थिए । उनले हामीलाई नआत्तिन भनिरहे पनि डर भने लागिरहेको थियो । वनपथ साँघुरो भएका कारण जिप फर्काउन निकै गाह्रो भइरहेको थियो । हात्तीले बाटो छाड्ला भन्दा भन्दै निकुञ्ज अवलोकनमा गएका हामी केही सञ्चारकर्मी करिब आधा घण्टा कुर्दै जिपमा बसिराख्यौं । हात्ती भने वनपथ र वरिपरि सल्बलाएका थिए ।

ठिक त्यसै बेला नजिकबाट बाघ कराएको आवाज आयो । बाघ कराएपछि डरको सीमा रहेन । कतै बाघ र हात्तीको भिडन्तमा हामी पर्ने त होइनौं भन्ने त्रास पनि उत्तिकै थियो । मैले चालकलाई भने, ‘भाइ अब हामी जिप ब्याक गरौं ।’ तर चालकले डर मान्नुपर्दैन भनिरहेका थिए । उनले हामीलाई भनिरहेका थिए, ‘आज त बाघ पनि हेर्न पाइने भइयो ।’ यसै वनपथ भएर निकुञ्जको मुख्यालय, ठाकुरद्वारा पुग्न छोटो भएकाले चालक थारुले हात्ती भएकै ठाउँबाट जान सकिन्छ भन्दै हौस्याइरहेका थिए । हात्तीको हुल बाटोमा र बाटो वरिपरि थिए । ठिक त्यसै बेला फेरि बाघ कराएपछि चालक पनि आँत्तिएजस्तो लाग्यो । नभन्दै उनले जिप पछाडि हटाए । चालक थारुले जिप ब्याक गरेपछि भन्न थाले, ‘त्यो बाटो गएको भए जोखिम हुने थियो । हामीलाई हात्ती भएको वनपथ बाट गन्तव्य पुग्न करिब २० मिनेट लाग्छ । अर्को घुमाउरो बाटो हुँदै जाँदा ४५ मिनेट लाग्छ ।’ राति करिब सात बजेकाले अँध्यारो भइसकेका कारण निकुञ्जको घनाजंगल हुँदै जाँदा मनमा डर लागिरहेको थियो ।

सूर्योदय भएसँगै प्रवेश र अस्ताउनुअघि निकुञ्ज बाहिरिइसक्नुपर्ने नियम छ । तर हात्तीले बाटो नछाडेका कारण रात परिसकेको थियो । बर्दिया निकुञ्जको मूलद्वार ठाकुरद्वारा नपुगेर हामी बेतहनीस्थित निस्कने बाटो हुँदै राष्ट्रिय प्रकृति संरक्षणतर्फ लगियो । त्यसैअनुसार मनमा त्रासका थुप्रै कुरा खेलाउँदै पौने घण्टापछि गन्तव्य पुगियो । त्यसबेला निलगाई उफ्रिएर बाटो काट्यो ।

बर्दिया निकुञ्जमा करिब १ सय २० वटा हात्ती रहेको अनुमान गरिएको प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । ‘हात्तीले आफ्नो छावा लिएर हिँडेको समय र आमनेसामने हुँदा आक्रमण गर्ने गर्छन्,’ उनले भने, ‘पछिल्लो समय बर्दिया निकुञ्जको समथर फाँटलगायत आसपासका क्षेत्रमा जताततै हात्ती देख्न सकिन्छ ।’ बर्दिया निकुञ्जमा एक दशकअघि एसिया महादेशको सबैभन्दा अग्लो राजागज नाम गरेको हात्ती थियो । यसको उचाई ११ फिट ३ ईन्च अग्लो थियो । निकुञ्जका पूर्वसंरक्षण अधिकृत रमेशकुमार थापाले प्रसिद्ध ब्रिटिस चलचित्र निर्माता जोन ब्लस फोर्डले बर्दिया निकुञ्जमा २०५२ साल माघ १३ देखि २०५२ साल फागुन ३ गतेसम्म ‘हम्बल्ड एलिफेन्ट अफ नेपाल’ नामक चलचित्र निर्माण गरी अन्तर्राष्ट्रिय स्तरमा ‘राजागज’ को प्रचार–प्रसार गरेका थिए । त्यसै बेला राजागजको उचाई पत्ता लागेको उनले जनाए ।

हात्तीका लागि बासस्थान र आहाराको कमीले गर्दा गाउँ, घर र करेसाबारीमा पस्ने गरेका छन् । हात्ती विशेषगरी भारतसँग जोडिएको कतरनियाघाट वन्यजन्तु आरक्ष हुँदै खाता जैविक मार्गबाट बर्दिया निकुञ्ज प्रवेश गर्छ । हात्ती भने एक्लै हिँड्दैन । ऊ करिब २० देखि ४० हात्तीको समूहमा आउजाउ गर्ने गरेको निकुञ्जका कर्मचारी बताउँछन् । बाघले मानिसलाई बढी आक्रमण गरेको पाइएको छ भने हात्तीले अन्नबाली र भौतिक संरचनामा बढी क्षति पुर्‍याउँदै आएको छ । केही वर्षयता हात्तीले मान्छे मारेका घटना पनि सार्वजनिक नभएका होइनन् । ०५६ सालयता हात्तीले ५५ जनाको ज्यान लिइसकेको बर्दिया निकुञ्जले जनाएको छ । बाघले भने चार वर्षयता २७ जनाको ज्यान लिइसकेको छ ।

हात्ती बर्दिया निकुञ्जको कर्णाली र बबई तटीय क्षेत्रलगायत खाता जैविक मार्गमा बढी मात्रामा देखिने गरेको छ । हात्ती शाकाहारी भएका कारण मांशाहारी भोजन गर्दैन । यसै कारण ऊ मानव बस्तीमा पसेर अन्नबाली, भौतिक संरचना र मानवमाथि आक्रमण गर्ने गरेको पूर्वसंरक्षण अधिकृत थापाले बताए । बर्दिया निकुञ्जमा बाघको र हात्तीको संख्या करिब बराबर छ । पछिल्लो गणनाअनुसार बाघको संख्या १ सय २५ रहेको छ ।

प्रकाशित : वैशाख १७, २०८० १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?