कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

ब्लग : रवि लामिछानेलाई सुझाव पत्र

काठमाडौँ — रविजी नमस्कार !
सबैभन्दा पहिले त नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी नयाँ नागरिकता लिनुभएकोमा हार्दिक बधाई । 

ब्लग : रवि लामिछानेलाई सुझाव पत्र

बेथिति, विसंगति, बेरोजगारी, भ्रष्टाचार, दण्डहीनताले जकडिएको देशको राजनीतिमा तपाईंको आगमनले खासगरी युवा वर्ग अनि घर र देश धान्न विदेसिएका नेपालीहरूमा परम खुसीको सञ्चार भएको थियो । त्यसैले तपाईंले त्यसलाई निराशा र दुःखमा परिणत हुन दिन पाउनुहुन्न ।

कांग्रेस, एमाले, माओवादीलगायतका राजनीतिक दलको बेइमानी, सत्तालिप्सा र खिचातानी कारण नै तपाईंलाई राजनीतिमा प्रवेश गर्न र छोटो समयमै लोभलाग्दो सफलता हासिल गर्न सहज भएको हो । तिनै राजनीतिक दलका नेताले गल्ती गर्ने र उल्टो बाटोमा हिँड्ने छुट तपाईंलाई छैन । विल्कुल छँदै छैन ।

त्यसैले, देशको भलाइका लागि तपाईंको लामो राजनीतिक भविष्यको कामनासहित केही सुझाव दिन चाहन्छु ।

सबैभन्दा पहिले त तपाईंले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतको फैसला स्वीकार गरिसक्नुभएको छ । र, नयाँ नागरिकता प्राप्त गरिसकेको हुनाले विगतमा जानी वा नजानी आफूबाट गल्ती भएकोमा सावर्जनिक रूपमा माफी माग्नुस् ।

देशको सर्वोच्च अदालतको आदेश स्वीकार गर्नुपर्नेमा 'म अनागरिक' भन्ने तपाईंको अभिव्यक्ति साह्रै आलोकाँचो थियो । त्यो अभिव्यक्तिमा तपाईंको मपाइँत्त्व झल्किन्थ्यो । खासमा नागरिकताको विषय तपाईंको कुनै ठूलो अपराध नभई सामान्य प्राविधिक त्रुटि थियो । त्यसैले उक्त त्रुटिप्रति क्षमायाचना गर्नुहोस्, सार्वजनिक रूपमा । थोरै झुक्दा सानो भइँदैन, उल्टै उचाइ बढ्छ ।

अर्को कुरा, अब तपाईंलाई पुनः सरकारमा जान तपाईंका शुभचिन्तक वा सकाउन खोज्ने दुवैले फेरि उचाल्नेछन् । त्यसबाट बच्नुहोला । सरकारमा जाने गल्ती पुनः नदोहोर्‍याउनुहोला । र, तपाईं यो गठबन्धनबाट बाहिरिनुहोला । किनभने यो पटकको चुनावमार्फत तपाईंहरूले सरकारमा जाने म्यान्डेट पाउनुभएकै थिएन ।

खासमा सरकार नै नबन्ने हकमा तपाईंहरूले कुनै गठबन्धनलाई मत दिनुपर्थ्यो । तर‚ बार्गेनिङ गरिगरी सरकारमा जानै हुँदैनथ्यो । त्यसमाथि तपाईंले आफ्नैबारे अनुसन्धान गरिरहेको निकायसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी खोजिखोजी लिएकाले तपाईंका विरोधीको आवाज चर्को मात्र भएको छैन कि तपाईंको नियत गलत थियो भन्ने आशंका गर्ने ठाउँ पनि प्रशस्त दिएको छ ।

अर्को, तपाईंमाथि लागेको दोहोरो पासपोर्टको विषयको अभियोगबारे प्रहरीले छानबिन थालिसकेको छ । सक्नुहुन्छ भने जान/अनजानमा के भएको हो खुलस्त पार्नुहोस् । बोलीले होइन, व्यवहारले छानबिनमा सघाउनुहोस् । अनि अभियोगको अन्तिम टुंगो नलागेसम्म उपनिर्वाचनमा उम्मेदवार बन्ने वा सार्वजनिक पदमा बस्ने गल्ती नगर्नुस् । बरू चितवन-२ मा हुने उपनिर्वाचनमा आफ्नो दलका तर्फबाट संसद्‌मा नेतृत्व लिन सक्ने, जनताका आवाज बोल्न सक्ने र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नसक्ने समाजका कुनै लब्धप्रतिष्ठित व्यक्ति वा आफ्नै दलको अन्य कोही नेतालाई उठाएर जिताउनुहोस् । र, आफू पार्टीको संगठन विस्तारका लागि देशव्यापी अभियानमा लाग्नुहोस् । समग्रमा ५ वर्षपछि हुने चुनावमा बहुमतको सरकार बनाउनका लागि तयारीमा जुट्नुहोस् । आम जनता, मतदाता र समर्थकलाई त्यही अनुरूप सम्झाउनुस् ।

यसैगरी नेतृत्वले जे गरे पनि ठिक भन्ने र देवत्वकरण गर्ने कार्यबाट बच्नुहोस् । सल्लाहकार या सहयोगी नजिककोलाई भन्दा पनि सही सल्लाह दिने, कहीँ, कतै गलत भयो भने सिधै भन्न सक्ने र समयमै सूचना दिने परिपक्व र राज्य संयन्त्र बुझेकोलाई राख्नुहोस् ।

समर्थक र फलोअर्सलाई अरूको अस्तित्व स्विकार्न र जथाभावी नबोल्न भन्नुहोस् । त्यसका लागि समर्थकलाई सामाजिक सञ्जाललगायतबाट गालीगलौज गर्ने, अशिष्ट भाषा बोल्ने, धम्की दिनेलगायत गतिविधि नगर्न सार्वजनिक रूपमै आग्रह गर्नुहोस् ।

अन्त्यमा, आफ्नो नामको सम्पूर्ण सम्पत्ति सार्वजनिक गर्नुहोस्, आयस्रोत खुलाउनुहोस् र राज्यलाई कर तिरेको प्रमाण देखाइदिनुहोस् ।

तत्काल यति गर्न सक्नुभयो भने तपाईं देश बनाउनै अमेरिका छाडेर आएकोमा कसैले दुई मत नराख्ला । त्यसमाथि समर्थकहरू पनि बढ्ने नै छन् । यति पनि गर्न सक्नुभएन भने 'देशको राजनीति सफा गर्न र उच्च राजनीतिक संस्कार सिकाउन फोहोर पोखरीमै हामफालेको' भन्ने तपाईंको अभिव्यक्ति हामीले किन पत्याउनुपर्ने ?

याद गर्नुस् रविजी, तपाईंले शंकाको सुविधा पाउनुहुन्न । हिजो तपाईंले प्रश्न धेरै सोध्नुभयो । अब तपाईंले पाइलापाइलामा उत्तर दिँदै अघि बढ्नुको विकल्प छैन ।

नत्र त उही 'टुडिखेलमा लगेर नाकको डाँडीमै हान्न मन छ' भन्दै टेलिभिजनकै स्कृनमा च्याँठ्ठिनु ठिक हुन्छ होला नि, होइन र ?

प्रकाशित : माघ १६, २०७९ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?