२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

‘ग्रेटर लुम्बिनी’मा ध्यान

पर्यटनको प्रशस्त सम्भावना भएको भगवान् बुद्धको पवित्र जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहानका रूपमा लुम्बिनी स्थापित छ 
ज्ञानिन राई

विश्व शान्तिका प्रवर्तक गौतम बुद्धको जन्म ई.पू. ६२३ मा लुम्बिनीमा भएको थियो । ई.पू. २४९ ताका मौर्य सम्राट् अशोक आफ्ना गुरु उपगुप्तका साथ लुम्बिनीको भ्रमणमा आएका थिए । त्यसै बेला अशोकले लुम्बिनीमा शाक्यमुनि बुद्धको जन्म भएको प्रमाणित गर्ने शिलालेखसहितको स्तम्भ स्थापना गरेका थिए । कलिङको युद्धमा हजारौं मानिसको मृत्युदेखि विक्षिप्त सम्राट्ले त्यसपछि बुद्धवाद अपनाएका थिए ।

‘ग्रेटर लुम्बिनी’मा ध्यान

सम्राट् अशोकको शासनकाललाई बुद्ध धर्मको स्वर्णिम युग मानिन्छ । नेपाल सरकारले लुम्बिनीलाई औपचारिक रूपमा ‘भगवान् बुद्धको पवित्र जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ का रूपमा समेत घोषणा गरिसकेको छ ।

तत्कालीन पाल्पाका जनरल खड्गशमशेर र सर्भेयर डा. एन्टोन फुहररले संयुक्त रूपमा सन् १८९६ मा बुद्धको जन्मस्थानलाई प्रमाणित गर्ने अशोकस्तम्भ पुनः पत्ता लगाएका थिए । त्यसपछि विद्वान्को दृष्टि लुम्बिनीमा परेको देखिन्छ । सन् १८९९ मा बाबु पूर्णचन्द्र मुखर्जीले मायादेवी मन्दिरको दक्षिण भागमा उत्खनन गरी सप्तरथ शैलीमा बनेको वास्तु अवशेष र मायादेवीले महामानव बुद्धलाई जन्म दिँदाको दृश्य अंकित प्रस्तर मूर्ति पत्ता लगाएका थिए । सन् १९३३–३९ को बीचमा केशरशमशेरले लुम्बिनीको अवैज्ञानिक उत्खनन गरेका थिए । सन् १९६२ मा आर्कियोलोजिकल सर्भे अफ इन्डियाका तर्फबाट देवलामित्रले लुम्बिनीमा रहेको अशोक स्तम्भ, प्राचीन कपिलवस्तु तिलौराकोट दरबार क्षेत्रको उत्खनन, सन् १९७२–८५ को बीचमा पुरातत्त्व विभागद्वारा उत्खनन, सन् १९९२–९६ बीच लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग र जापान बुद्धिष्ट फेडरेसनले संयुक्त रूपमा लुम्बिनीमा गरिएको उत्खननबाट भगवान् बुद्धको वास्तविक जन्मस्थानका रूपमा मानिएको मार्करस्टोन (जन्मस्मारक शिला) पत्ता लगायो ।

सन् २०१०–१३ युनेस्को जापानिज फाउन्डेइन ट्रस्टअन्तर्गत प्राध्यापक रविन कनिङहमको नेतृत्वमा लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग, दूरहाम विश्वविद्यालय र स्टर्लिङ विश्वविद्यालयका विशेषज्ञहरूको टोलीले गरेको अध्ययनबाट दक्षिण एसियामै पहिलो पटक अशोकभन्दा अघिल्लो समयको इँटाबाट निर्मित मन्दिर फेला पारेको थियो, जुन आफैं पनि त्यसभन्दा अघिको काठबाट निर्मित मन्दिरको अवशेषमाथि बनेको थियो । साथै बुद्धको जन्मस्थलभन्दा केही सय मिटर दक्षिणतिर ईसापूर्व १३०० तिरको प्राचीन गाउँको अवशेष फेला पार्दै सो क्षेत्रमा बस्ती रहेको प्रमाणलाई अशोककालभन्दा एक हजार वर्ष अझ अगाडि पुर्‍याएको थियो । जसले बुद्धको जन्मस्थानलाई अझ राम्रोसँग बुझ्नका लागि महत्त्वपूर्ण सहयोग पुग्नुका साथसाथै यो उपलब्धिका बारेमा जानकारी दिन युनेस्कोको प्रधान कार्यालयमा भएको पत्रकार सम्मेलनबाट लुम्बिनीको विश्वव्यापी प्रचारप्रसार तथा प्रवर्द्धन व्यापक रूपमा हुन पुग्यो ।

हालका दिनमा विभिन्न वैज्ञानिक विधि तथा प्रविधिहरूको प्रयोग गरेर बृहत्तर लुम्बिनी क्षेत्रको तिलौराकोट कपिलवस्तु, कुदान, सग्रहवा, गोटिहवा, सिसहनिया, कर्मा, निग्लिहवा, अरोराकोट, दोहनी, चत्रादेही, पण्डितपुर, देवदह र रामग्रामलगायत सम्पदा स्थलहरूको प्राचीन संस्कृति, सभ्यता र यसको फैलावट पत्ता लगाउने कार्य निरन्तर भइरहे तापनि यस्ता गतिविधिलाई प्राथमिकताका साथ बृहत् ढंगले अगाडि बढाउन अत्यावश्यक छ । यसका साथै बृहत्तर लुम्बिनी क्षेत्रमा रहेको बौद्ध सम्पदाहरूको दिगो विकास, प्रवर्द्धन तथा संरक्षण कसरी गर्ने र यसका कारण स्थानीय अर्थतन्त्रमा के कस्तो प्रभाव पर्छ भन्ने विषयमा स्थानीय बासिन्दा, व्यवसायी, पर्यटक, तीर्थयात्री तथा सम्पदाविद्हरूसँगको छलफलबाट एउटा निष्कर्षमा पुग्न आवश्यक देखिन्छ ।

बौद्ध धर्मावलम्बीहरूको अति नै पवित्र तीर्थस्थल लुम्बिनी क्षेत्रको विकासमा सन् १९५६ मा भएको चौथो अन्तर्राष्ट्रिय बौद्ध भ्रातृत्व संघको सम्मेलनमा तत्कालीन राजा महेन्द्रले विश्व समुदायको ध्यानाकृष्ट गरेपछि लुम्बिनीमा अन्तर्राष्ट्र्रिय समुदायको दृष्टि पर्न थाल्यो । सन् १९६७ मा संयुक्त राष्ट्र्रसंघका तत्कालीन महासचिव उथान्तको भ्रमण लुम्बिनीको विकासमा कोसेढुंगा साबित हुन पुग्यो, जसले अन्तर्राष्ट्रिय समुदायलाई लुम्बिनीको विकासमा सहभागी हुन आह्वान गरेपश्चात् उहाँकै सहयोगमा सन् १९७० मा १६ मुलुक सम्मिलित लुम्बिनी विकास अन्तर्राष्ट्रिय समिति भारत र थाइल्यान्डका प्रतिनिधिहरूको प्रस्तावमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा स्थापना गर्‍यो । सोही समितिले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र जापान एक्स्पो फाउन्डेसनको आर्थिक सहयोगमा सन् १९७२ मा जापानी वास्तुकलाविद् केन्जो टाँगेलाई लुम्बिनीको गुरुयोजना तयार गर्ने जिम्मेवारी दिएको थियो ।

सन् १९७८ मा गुरुयोजना तयार गरी संयुक्त राष्ट्रसंघ र नेपाल सरकारले अनुमोदन गरेपश्चात् यसको कार्यान्वयन नेपाल सरकारका तर्फबाट लुम्बिनी विकास कोषले गरिरहेको छ । भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको विकास गर्ने लक्ष्य र आदर्शलाई बढी प्रभावकारी बनाउने नेपाल सरकारको कटिबद्धतालाई विश्व जनसमक्ष प्रस्तुत गर्न र सोअनुरूप लुम्बिनी विकास योजनालाई बढी समन्वयात्मक र सुचारु रूपले सञ्चालन गर्न जरुरी छ । बुद्धको जीवनसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध रहन गएका तिलौराकोट (प्राचीन कपिलवस्तु), गोटिहवा, निग्लिहवा, सगरहवा, सिसनियाकोट, कुदान (कपिलवस्तु), देवदह (रूपन्देही), रामग्राम (नवलपरासी–बर्दघाट सुस्ता पश्चिम) पुरातात्त्विक क्षेत्रको अन्वेषण, उत्खनन, संरक्षण तथा विकास गर्न लुम्बिनी विकास कोष ऐन, २०४२ द्वारा लुम्बिनी विकास कोष गठन भएयता सो क्षेत्रमा अवस्थित सम्पदा स्थलहरूको दिगो विकास, संरक्षण र प्रवर्द्धनका साथसाथै विश्व शान्ति र निर्वाण प्रदान गर्ने भगवान् बुद्धको अमृतमय शिक्षालाई सघन रूपमा प्रचारप्रसार गरिएको छ । सम्पूर्ण जगत्को कल्याण तथा विश्वमा अहिंसा, भाइचारा र सद्भाव बढाउने हेतुले यी कामहरू अगाडि पनि बढिरहेका छन् ।

पर्यटनको प्रशस्त सम्भावना भएको भगवान् बुद्धको पवित्र जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहानका रूपमा लुम्बिनी स्थापित छ । धार्मिक र धर्मनिरपेक्ष मानिस सँगसँगै बसेर भोक र संघर्ष नहुने विश्वको निर्माणमा जुट्न सक्ने विश्वासका साथ संयुक्त राष्ट्रसंघका महासचिवहरू ड्याग ह्यामरसोल्ड, उथान्त, कुर्टवाल्डहेइम, जाभिएर पेरेज डी कोइयर, वान कि मुन र हालसालै मात्र महासचिव एन्टोनियो गुटरेजले ‘म भगवान् बुद्धप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु, उहाँको विश्वव्यापी शान्ति, ज्ञान र करुणाको ज्योतिले हामीलाई संवेदनशील ढंगले शान्तिको खोजीका लागि मार्गदर्शन गर्न प्रेरित गर्नेछ’ भन्ने विश्वासका साथ लुम्बिनीको भ्रमण गरेका छन् ।

यसैगरी मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गर्दा ‘म भगवान् बुद्धको देशमा आएको छु’ भन्दै नेपालप्रति कृतज्ञता व्यक्त गरे र सम्पूर्ण मानव मनको अन्धकारलाई भगवान् बुद्धको उपदेशले हटाउन सक्ने वास्तविकतालाई स्वीकारसमेत गरेका थिए । सन् १९९८, २००१, २००४, २०१४, २०१६ र २०१८ मा लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय सम्मेलन तथा विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखको भ्रमणपछि यस क्षेत्रको दिगो संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा विश्व समुदाय लागिपरेको छ । नेपाल सरकारद्वारा हरेक ५–५ वर्षमा प्रदान गरिने नगद ५० हजार अमेरिकी डलर राशिको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार’ पहिलो पटक सन् २०११ मा जापानको हिरोसिमा र नागासाकीका मेयरद्वयलाई संयुक्त रूपमा प्रदान गरिए तापनि दोस्रो पटक वितरण गर्न सकिएको छैन, यसलाई पनि तत्काल अगाडि बढाउन आवश्यक छ ।

विश्व सम्पदा र पर्यटन

नेपाल सरकारले २४ पुस २०८० मा संरक्षित स्मारक क्षेत्र घोषणा गरेको भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदा महासन्धि, कार्यसञ्चालन निर्देशिकाले तोकेको विश्व सम्पदाका दसवटा आधारमध्ये तेस्रो आधार अशोक स्तम्भमा अंकित अभिलेखले लुम्बिनी भगवान् बुद्धको जन्मस्थान भएको पुष्टि गरिसकेको छ । लुम्बिनीको पावन भूमिलाई विश्वका महानतम् र अति पवित्र स्थलमध्ये एक मानिन्छ । ईसापूर्व तेस्रो शताब्दीदेखि सन् पन्ध्रौं शताब्दीसम्मका बौद्ध विहार तथा स्तूप (स्मारक देवल) हरूका पुरातात्त्विक अवशेषले आदिकालदेखि नै अस्तित्वमा रहेको बौद्ध तीर्थस्थलबारे उपलब्ध महत्त्वपूर्ण प्रमाणहरूका आधारमा लुम्बिनीलाई सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो ।

विश्व सम्पदा महासन्धिको साझेदारका रूपमा नेपाल सरकार आफ्नो विश्व सम्पदा सम्पत्तिको महत्त्वको सुरक्षा दीर्घकालसम्म हुने कुरा सुनिश्चित गर्न जिम्मेवार छ । महासन्धि कार्यान्वयन गर्न प्रतिपादित कार्यसञ्चालन निर्देशिकाको धारा १०८ मा ‘हरेक मनोनीत सम्पदासँगै त्यसका लागि उपर्युक्त व्यवस्थापन योजना वा अन्य अभिलिखित व्यवस्थापन प्रणाली पनि संलग्न हुनुपर्ने प्रावधानअनुरूप सम्पदाको विश्वव्यापी महत्त्वको संरक्षण कसरी गरिने भन्ने विषय किटान गर्नेछ र यसमा विशेषगरी सहभागितामूलक उपायले प्राथमिकता पाउनेछ’ भन्ने व्यवस्था छ ।

सन् १९९६ देखि विश्व सम्पदाको सम्भावित सूचीमा रहेको तिलौराकोट कपिलवस्तु क्षेत्रलाई नेपाल सरकारले ८ वैशाख २०७९ मा संरक्षित स्मारक क्षेत्र घोषणा गर्दै यसको सूचीमा सूचीकृत गर्नका लागि आवश्यक विश्व सम्पदा मनोनयन दस्तावेज लुम्बिनी विकास कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, कपिलवस्तु नगरपालिका र युनेस्को काठमाडौंको समन्वयमा सम्बन्धित विज्ञहरूको सहयोगमा तयार गरी नेपाल सरकारका तर्फबाट युनेस्को विश्व सम्पदा केन्द्रमा औपचारिक रूपमा दर्ता गरिसकेको छ । यसको अन्तिम निर्णय इकोमसको मूल्यांकन प्रतिवेदनपश्चात् सन् २०२५ मा बस्ने विश्व सम्पदा समितिको ४७ औं महासभाले गर्नेछ, जसका लागि राज्यपक्षले प्रतिबद्धता अनुरूपका कार्यहरू यथाशक्य सम्पन्न गर्दै आगामी ४६ औं महासभामा व्यापक प्रचारप्रसार र प्रवर्द्धनात्मक गतिविधिका साथ कूटनीतिक पहलसमेत गर्न आवश्यक छ ।

तिलौराकोट कपिलवस्तु क्षेत्र विश्व सम्पदाका लागि तोकिएको आधारमध्ये चौथो र छैटौं आधार मुख्य छन् । दक्षिण एसियाकै एउटा प्राचीनतम् सहरको विस्तृत सहरी योजना, प्राचीन जीवनसम्बन्धी नयाँ र रोचक जानकारी, ऐतिहासिक कृति अर्थशास्त्रमा उल्लेखित सहरी योजनासँग तिलौराकोट सहरको बनावटलगायत स्थानीय वास्तुकलाका कारण अनुपम विश्वव्यापी महत्त्वको स्थान रहेको वैज्ञानिक तथा बहुविधात्मक पद्धतिको प्रयोगबाट प्राप्त प्रमाणका आधारमा गरिएको छ । सन् १९९६ देखि विश्व सम्पदाको सम्भावित सूचीमा रहेको भगवान् बुद्धको अस्तुधातु रहेको बौद्धमार्गीहरूका लागि अति नै पवित्र स्थल रामग्राम क्षेत्रमा थप वैज्ञानिक अध्ययन अनुसन्धान गर्दै आवश्यक आधार र प्रमाणिकताको पहिचान गरी यथाशक्य काम अगाडि बढाउन आवश्यक छ ।

(राई लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक हुन् ।)

प्रकाशित : चैत्र १८, २०८० ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?